यो हप्ता केटाकेटी अनलाइनलाई तिनवटा कृतिहरु प्राप्त भएको छ

यो हप्ता केटाकेटी अनलाइनलाई तिनवटा कृतिहरु प्राप्त भएको छ । ती कृतिको छोटकरी परिचय यहाँ प्रस्तुत गरिएको छ ।

१. लोकतान्त्रिक आन्दोलनको दैनिकी

यो किताब वरिष्ठ लेखक प्रा. डा. चूडामणि वन्धुले रचना गर्नु भएको हो । यसमा जनआन्दोलका १९ दिनको दैनिकी समावेश गरिएको छ । यसलाई अक्षर सदन काठमाडौँले वि. सं. २०७२ मा प्रकाशन गरेको हो । यस कृतिको उद्देश्य बालबालिकाहरुलाई दैनिकी लेखनको सिप सिकाउनु रहेको देखिन्छ । पुस्तकमा दैनिकीको नमुना सहित दैनिकी लेखनको परिचय, दैनिकी किन लेख्ने ?, दैनिकीमा के लेख्ने ?, दैनिकी लेखन कसरी ? दैनिकी लेखनका फाइदा आदि विषयमा चर्चा गरिएको छ । बिक्री मुल्य समावेश नगरीएको यो कृति अभिभावक र बालबालिका दुवैका लागि उपयोगी देखिन्छ । चित्रकार अपूर्व न्यौपानेको आवरण चित्र आकर्षक रहेको छ ।  

२. चितुवालाई झ्याइँकुटी

यो किताब लेखक शान्ति सापकोटाले रचना गर्नु भएको हो । यसमा ६ वटा बालकथाहरु समावेश गरिएको छ । यसलाई विवेक सिर्जनशील प्रकाशन काठमाडौँले वि. सं. २०७२ मा प्रकाशन गरेको हो । यस कृतिलाई वरिष्ठ बालसाहित्यकार विनय कसजूले सम्पादन गर्नु भएको हो । यस कृतिका सम्वन्धमा प्रकाशकी मन्तव्यमा वरिष्ठ पत्रकार एवं बालसाहित्य अन्वेषक प्रमोद प्रधान भन्छन्, ‘शान्ति सापकोटा लिखित यस सङ्ग्रहका सबै कथाले घटना, चरित्र र संवादका माध्यमबाट बालबालिकालाई सन्देश दिन्छन् । मौलिक यी कथाहरु नेपाली बालसाहित्यमा अत्यधिक कृतिझैँ उपदेशात्मक छैनन् । कथाहरु बालबालिकालाई आकर्षित गर्ने रमाइलो भाषाशैलीमा लेखिएका छन् र तिनले उनीहरुलाई मनोरञ्जन पनि उत्तिकै दिन्छन् । कथाकार शान्ति सापकोटाको यो पहिलो बालकथासङ्ग्रह भए पनि यो कुनै परिपक्व लेखकको उत्कृष्ट कृतिभन्दा कम छैन ।’  

४० पृष्ठको यो कृतिको मुल्य रु ७० रहेको छ । यस कृतिमा कीर्तिकिशोर जोशीका चित्रहरु आकर्षक छन् । 

३. चङ्खे स्याल र लाइफ ज्याकेट

यो किताब लेखक मञ्जु ज्ञवालीले रचना गर्नु भएको हो । यसमा ५ वटा बालकथाहरु समावेश गरिएको छ । यसलाई विवेक सिर्जनशील प्रकाशन काठमाडौँले वि. सं. २०७१ मा प्रकाशन गरेको हो । यस कृतिलाई वरिष्ठ बालसाहित्यकार विनय कसजूले सम्पादन गर्नु भएको हो । यस कृतिका सम्वन्धमा प्रकाशकीय मन्तव्यमा वरिष्ठ पत्रकार एवं बालसाहित्य अन्वेषक प्रमोद प्रधान भन्छन्, ‘विभिन्न पशुपक्षि र बालबालिका पात्रपात्रा भएका यी बालकथाहरु विषयका दृष्टिले विविधतापूर्ण छन् । यी बालकथाहरु पढेर बालबालिकाले मनोरञ्जनका साथै ज्ञान पनि प्राप्त गर्छन् । चरित्र, घटना र संवादका माध्यमबाट कथा भनिएकाले प्रस्तुति पनि औधी रोचक हुन पुगेको छ । लेखकको यो पहिलो बालकथा सङ्ग्रह को । तर पहिलो बालकृति भए पनि उनको कलम परिपक्व भएको सङ्ग्रहका कथाहरुले पुष्टि गर्छन् ।’  

३२ पृष्ठको यो कृतिको मुल्य रु ७५ रहेको छ । यस कृतिमा कीर्तिकिशोर जोशीका चित्रहरु आकर्षक छन् । 

Language: 
Book: