मेरो जीवनकथा

anjana-rajbanshi

          – अञ्जना राजबंशी
मेरो जीवन जहाँ सबै भन्दा पहिले म छु, मेरो परिवार छ, मेरो समाज छ अनि यो सिंगो बिश्व छ । कति धेरै बाँधिएको छ मेरो जीवन । तर पनि म दुखि छुइन कारण मेरो जीवनमा मेरो उद्देश्य छ, ‘खुशी हुने र सबैलाई खुशी दिनेमा’ आफूलाई एकदमै माया गर्छु  र मलाई थाहा छ  मेरो जीवनले पनि माया गर्छ मलाई ।  म र मेरो जीवन बीचको  यो अनन्त प्रेमले मेरो  हरेक पाइलामा मलाई ऊर्जा दिन्छ र अघि बढ्छ । तसर्थ  मेरो जीवन मेरो लागि एउटा शक्ति हो,  प्रेरणा हो । 



बाल्यकाल सम्झन्छु र गर्व गर्छु म मेरो जीवनमा ।. टुकुटुकु हिँडाउने बाबाका औंलाहरु, आमाको त्यो अमृतमय स्तन चुस्दै उहाँको काखमा निदाएका क्षणहरु, धाराको चिसो पानीमा बाटाको बसाइमा आमाले नाङ्गै पारेर नुहाइदिएका ती दिनहरु, आहा ! .. एउटा स्वर्ग बिताएर आएजस्तो लाग्छ ।  अहिले पनि त तेही माहोल मै छु म ।  हो, बाबाका औंलाहरु चाउरिएका छन्, अलिकति । आमाको स्तन रित्तिएको छ, काखमा न अटाउने गरी म ह्वातै बढेकी छु, आजकल नङ्गिन खै लाज लाग्छ, अनि मेरो बाल्यकालको नुहाउने बाटा सानो भएको छ तर स्मृतिपटमा बाँचिरहेको मेरो रङ्गीन अतित  मेरो जीवनको एक अभिन्न हिस्सा भएर बाँचिरहेछ आज मेरो अन्तर मनमा ।

म अब ठूली भई सकें नि, किनकि एउटा नफर्किने खुड्किलो, मेरो जीवनको पार गरिसकें तर अझै लामो बाटो त बाँकी नै छ ।  आज म युवा पुस्ताको एक सदस्य हुँ । तातो रगत नसामा छ, जोश छ आत्मामा । यौवन चरमोत्कर्षमा पुगेको छ, अलिकति उत्ताउलोपन, अलिकति गम्भीरता अनि अलिकति लाज बढेको भान हुन्छ मलाई । मेरो जीवनको यो पनि एउटा पाटो हो । जहाँबाट मलाई मेरो उद्देश्यमा पुग्ने रेखा कोर्नु छ ।  मेरो बाँकी जीवन सुन्दर बनाउने रहस्य खोज्नु छ । यही समयमा, यही उमेरमा । तसर्थ मेरो जीवनरुपी आत्माले बारम्बार झस्काउँछ मलाई– सतर्क हुनु छ भनी । यो संसार जित्नु छ भनी । अनि म सम्हाल्ने कोशिस गर्छु आफैलाई हरेक नकारात्मकताबाट बच्नको लागि । कारण मेरो जीवनमा म सधैँ खुशी रहनु छ र सबैलाई खुशी तुल्याउनु छ ।
कहाँ सकिएको छ र जीवन ? प्रौढ हुन अझै बाँकी नै छ नि ! त्यो समय जब मेरा पाइला सँगसँगै अरु अघि बढ्छौं हामी । एकान्तमा बसी जोसँग रातमा पनि ताराहरु गन्दै हुन्छु म । मेरो काखमा पनि एकदिन कोपिला फक्रदोँ हुन्छ र आफ्नो शरीरसँग टँसाएर आफ्नो भोक मेट्दी हुन्छु म । मलाई थाहा छ त्यतिबेला मेरो बाल्यकाल, मेरो अतीतले मेरा भावनाहरुलाई कुतकुत्याउने छ, फेरि पनि स्मृतिका सहयात्री ती मीठा पलहरुले डेरा जमाउनेछन् मेरो जीवनमा । भविष्यको त्यो रङ्गीन सम्झना भनौँ या कल्पनाले पनि मेरो ओठमा गुलाबी मुस्कान ल्याँउछ र म एकदमै गम्भीर बन्छु जीवन प्रति । कति खुड्किला चढ्नु छ नि अझै ? म त अहिले शुरुवातको क्रममा मात्र रहेछु है !

मेरो जीवनले एकदिन मलाई बुढी बनाउँछ ।  मेरा औंलाहरु पनि चाउरिन थाल्नेछन, मेरा बाबाकाझैँ. आँखाहरुले कम देख्नेछन्  अनि कम सुन्नेछन् मेरा कानहरुले ।  तर मलाई थाहा छ, मेरो जिब्रोले बोल्न छाड्ने छैन । कारण मलाई बोल्न एकदमै मनपर्छ । शरीर जीर्ण भइसक्दा पनि म ठोकुवाका साथ भन्छु मेरो जीवनले मलाइ अन्र्तमनबाट बुढी हुन दिने छैन । म त्यतिबेला  त्यत्ति नै जोशिन्छु, जति अहिले छु ।  त्यसबेला पनि म मेरो उद्देश्यलाई  निरन्तरता दिंदै अघि बढ्नेछु । कारण मेरो जीवन मेरो उर्जा हो, शक्ति हो, प्रेरणा हो  र हामी दुवै एक– अर्कालाई एकदमै माया गर्छौँ ।

यसरी मेरो जीवन आज अघि बढ्दै छ । बढ्ने क्रमममा छ, कसरी टुङ्गिन्छ, थाहा छैन तर मेरो जीवनको हरेक खुड्किलो पार गरेर मात्र मेरो सास रोकियोस्, यो चाहनाले हर क्षण बास गर्छ मनमा । जीवनको हरेक पलको आनन्द लिन चाहन्छु म । कारण, मेरो जीवन नै मेरो अस्तित्व हो । म नै मेरो जीवनको  र मेरो जीवन नै मेरो, हामी दुवै एक अर्काका आधार स्तम्भ  हौं ।
                                         (लेखिका एसएलसी २०६२ मा सर्वोत्कृष्ट हुन सफल छात्रा हुन् ।)

Literature: 
Opinion: 
Language: