बालसाहित्यमा बालअधिकारको चर्चा

balsahitya-lekh

- कार्तिकेय

बालबालिकाहरुलाई ज्ञान र मनोरन्जन प्रदान गर्नका लागि लेखिने बालसाहित्यले नेपाली बालसाहित्यका सन्दर्भमा कुरा गर्दा अध्यात्म, उपदेश र वीरगाथा हुंदै विविध पाटाहरु छिचोल्दै आज बाल अधिकारको बाटोसम्म आइपुगेको छ ।

महाकबि लक्ष्मी प्रसाद देवकोटा, पारसमणि प्रधान, लेखनाथ पौड्याल हुंदै राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्म आइपुग्दा बालसाहित्यले निकै ठूलो छलांग मार्न पुगेको सत्य नकार्न सकिन्न । वास्तबमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले जुन रुपमा महत्वका साथ बालसाहित्यलाई अभिन्न साहित्यका रुपमा प्रस्तुत गरे, त्यसले उनको बालसहित्यिक योगदान सगरमाथाझै चुलिन पुग्यो । उनका बालकाब्यहरुमा पाइने बाल मनोबिज्ञानको यथार्थ संवेग र शब्दको लालित्यपूर्ण चमकका कारण उनको काब्यकारिताले बालसाहित्यलाइ एउटा बेग्लै र गहन साहित्यको दर्जा दिलाउन ठूलो भूमिका खेलेको पाइन्छ ।
यसरी राष्ट्रकवि घिमिरेको काब्यकारितादेखि लिएर हालसम्म आइपुग्दा नेपाली बालसहित्यले ठूलो फड्को मारिसकेको छ । पुस्तक र पत्रिकामा पढ्न सकिने बालसाहित्य आज इन्टरनेटमा बिश्वका पाठकले पढ्न सक्ने भइसकेको छ । जसमा नेपाली तथा विश्वका जुनसुकै मुलुकका बालबालिकाहरुले कम्प्यूटरको स्क्रीनमा इन्टरनेट बालपत्रिका केटाकेटी अनलाइन डटकम पढ्न सक्नेसम्मको छलांग नेपाली बालसाहित्यले मारिसकेको छ । यसरी आज इन्टरनेटमा बालसाहित्य पुग्नुको प्रमुख कडिसंगै बिश्वमै चर्चाको शिखरमा रहेको बालअधिकारको बिषयलाई पनि नेपाली बालसाहित्यले प्रत्यक्ष वा परोक्ष रुपमा पृष्ठपोषण गर्न पुगेको देखिन थालेको  छ ।
मूलत बालसाहित्य बालकल्याण कै निमित्त लेखिने साहित्य भएतापनि बालसाहित्य लेखनका सन्दर्भमा वयस्क पात्रलाइ सधै निर्णायक तहमा राखेर बालपात्रलाई कारिन्दा वा रोवोर्ट पात्रको रुपमा प्रस्तुत गर्ने चलन हाम्रो बालसाहित्यमा अत्याधिक छ । तथापि वर्तमान पुस्तामा आएका बालसाहित्यकारहरुले  बालसाहित्यलाई बालसहभागितामूलक ढंगले परिस्कृत रुपमा प्रस्तुत गर्ने जमर्को गर्दै बालअधिकारको ब्यवहारिक सम्मान गर्न प्रोत्साहित गरिरहेको देखिन्छ । तर पनि यसरी प्रस्तुत गर्ने क्रममा मूलत ः कथा विधाका लेखकहरुले बालपात्रलाई कसरी प्रस्तुत गर्दा बालसहभागिताको पृष्ठपोषण हुन्छ भन्ने कुरामा भन्दा  बढी बालबालिकाका मातापिता, गुरु र अग्रजको इसारामा हिंड्नु पर्छ भन्ने भावनाबाट प्रेरित भई बालसाहित्य सिर्जना गर्ने गरेका पनि छन् । तथापि बालबालिकालाई आज्ञाकारी, गुणकारी र आफुभन्दा ठूलालाई आदर गर्ने सानालाई माया गर्ने सहिष्णु बनाउनु पर्छ भन्ने कुरा गलत नभए पनि बालसाहित्य लेखनका सन्दभर्मा बालअधिकारको अवधारणालाई सम्मानित गरी अघि बढ्दा हाम्रा साहित्यकारहरुले बालबालिकाको अस्तित्वलाई आफ्ना रचनाहरुमा सुरक्षित गर्न भुल्न नहुने देखिन्छ । अतः बालअधिकारलाई ब्यवहारतः पृष्ठपोषण गर्नेक्रममै बालसाहित्यले बालकलाई आफू भित्रको सम्भावना खोज्न प्रोत्साहित गर्ने कि नगर्ने र उनीहरुलाई क्रियाशील हुन अभिपे्ररित गर्ने कि नगर्ने वा बालबालिकालाई आफूप्रति आफै उत्तरदायी हुनु पर्छ भन्ने तर्फ सचेत गराउने कि नगराउने भन्ने प्रश्न अहिले गम्भीर रुपमा उठेको छ ।
वास्तवमा यस सन्दर्भमा वर्तमान पुस्ताले बालसाहित्य लेखनका क्रममा बालअधिकार महासन्धिका चार प्रमुख धारहरुलाई मनन गरी सुन्दर कथानक, सहज परिवेश, यथार्थझै लाग्ने पात्रहरु र सरस शैलीको सिर्जना गरी सामाजिक परिवेशमा बालअधिकार र बालसाहित्यको चेतना प्रदान गर्ने सिर्जनाहरु गर्नु आजको आवश्यकता हो । 
वर्तमान अवस्थामा नेपाली बालसाहित्यमा बालसहभागितालाई प्रोत्साहित गर्ने हेतुले प्रशस्त रचनाहरु फुटकर रुपमा प्रकाशित हुन थालेका छन् । तथापि यस्ता किसिमका रचनाहरुको पुस्तककार संग्रह भने कमै मात्रामा प्रकाशन हुने गरेका छन् । यसै सन्दर्भमा यो पंक्तिकार स्वंयमले लेखेको बालअधिकारमूलक बालकथा संग्रह बालदिवसलाई नेपाली र अग्रेजी दुवै भाषामा नेपाल बाल संगठनले ३६ औं राष्ट्रिय बालदिवस २०५९ भदौमा प्रकाशन गरी उक्त कृतिको लोकार्पण सम्माननिय प्रधानमन्त्रीज्यूबाट भएको प्रंसग कोट्याउनु उचित ठान्दछु । तर पनि यहानिर सचेत पाठकवर्ग एवं बालअधिकारलाई आफ्ना रचनामार्फत समावेश गर्दै आउनुभएका अग्रज एवं समकालिन साहित्यकारहरुलाई मैले यहा के भन्नै पर्ने हुन्छ भने सो कथा संग्रह भित्र मैले बालअधिकारू शब्दलाई समावेश गरी बिचार ब्यक्त गर्नु भन्दा कथाको कथानक, पात्रहरुको भूमिका र तिनीहरुले प्रस्तुत गर्ने कर्मबाटै अप्रत्यक्ष रुपमा बालअधिकार र बालसहभागिताको पृष्ठपोषण गर्ने सन्दर्भमा सानो प्रयास गरेको छु । वास्तवमा लेखकको हिसावले कुरा गर्ने हो भने त्यो कृति प्रकाशनबाट म निकै सन्तुष्ट  छु । यसै गरी मैले आफै सम्पादन गर्ने अवसर पाएको बालसाहित्यकार सौरभकिरण श्रेष्ठको बालकथा संग्रह म पनि भाग लिन्छु बालसाहित्यमा बालअधिकार र बालसहभागिताको सूललित प्रयोगका दृष्टिले राम्रो कृति हो । यस संग्रहका कथाकार श्रेष्ठले यस कृतिमा बालसहभागिताको ब्यवहारिक प्रयोगलाई सुन्दर कथानक, पात्रहरुको चुस्त चयन र परिवेशको सजीवताका साथ प्रस्तुत गर्ने जुन किसिमको जमर्को गरेका छन् । त्यो यस संग्रहको प्रमुख बिशेषता बन्न पुगेको छ ।
अन्तमा यहा के कुरा भन्नै पर्ने हुन्छ भने मूलतः बालसाहित्यमा बालपाठकका लागि बालकथा बिधा अति सम्प्रेषणीय बिधा भएका कारणले यस बिधामा हामीले बाल अधिकारको ब्यवहारिक प्रयोगलाई कुशलताका साथ प्रस्तुत गर्न सक्यौ भने त्यो साहित्यले समाज र राष्ट्रलाई ठूलो देन दिन सक्दछ । जसका लागि हामीले परम्परागत रुपमा बालकथा लेख्दै आएको तरिकाबाट पृथक् रही बालकलाई नै निर्णायक स्थान दिनु एवं बालसहभागितामूलक भावनालाई सम्मान गर्नु आवश्यक छ । यसो गर्दा बिषयबस्तु बालसुलभ होस्, परिवेश र घट्ना बालमनोबिज्ञानपरक होस्, पात्रको मनस्थितिलाई लेखकले सूक्ष्म रुपमा प्रस्तुत गर्ने तर्फ मेहनत गरोस् र मूलतः आफूले कुन वर्गका लागि वा कुन उमेरका लागि बालसाहित्य लेख्दैछु भन्नेतर्फ वा त्यो समूहको रुचि शब्द भण्डार र सामाजिक पृष्ठभूमि जस्ता कुरामा बालअधिकारलाई आधुनिक बालसाहित्यमा समावेश गर्न चाहने लेखक सचेत रहनै पर्छ भन्ने कुरा हामीले यहां बिर्सन सक्दैनांै ।
यी सम्पूर्ण तथ्यहरुलाई हृदयंगम गरी बालसाहित्य लेख्न सकिएका खण्डमा त्यो बालसाहित्य बालसाथीहरुको प्रिय मित्र बन्न सक्दछ । आजको अत्याधुनिक युगमा बालबालिकाको मनोवेग, रुचि एवं तिनको सम्वेगलाई समातेर लेख्न सकिएन भने भबिष्यमा हाम्रा बालसाहित्यिक कृतिहरु गोदामघरका धमिराका लागि खजाना मात्र हुनेछन् । तसर्थ नयाँ युगको समसामायिकता भित्र आफनो अस्तित्व सुरक्षित राख्दै समाज र बालबालिका दुवैको उज्यालो भविष्यका लागि बालसाहित्यमा बालअधिकारको चुस्त प्रयोग आजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।

Opinion: 
Language: