बन्दीपुरमा जलरिका बालसाहित्य गोष्ठी सम्पन्न

jalarika-bandipur-073

काठमाडौं, मंसिर २५ / जलरिका साहित्य सेवाको आयोजनामा बन्दीपुरमा बुद्धि–रेशम बालसाहित्य लेखन पुरस्कार वितरण र जलरिका बालसाहित्य रचना वाचन समारोह÷जलरिका बालसाहित्य गोष्ठी भव्यताका साथ सम्पन्न भयो । वरिष्ठ कथाकार आदरणीय माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जलरिका साहित्य सेवाका संस्थापक संरक्षक एवम् वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा सय बढी बालबालिकाहरु सहभागी भएका थिए । बालबालिका र वरिष्ठ बालसाहित्य लेखकहरुले सँगसँगै एउटै मञ्चमा रचना वाचन गर्दा कार्यक्रम एकदमै रमाइलो भएको थियो ।
समारोहमा वरिष्ठ लेखकहरु जलेश्वरी श्रेष्ठ, माया ठकुरी, प्रभा भट्टराई, गंगा कर्माचार्य पौडेल, सुशीला प्रधानाङ्ग, तुलसीहरि कोइराला, गौरी तिमिल्सिना, कृष्ण शरण उपाध्याय, मणिकुमार श्रेष्ठ र कार्तिकेय घिमिरेले कथा, कविता, गीत र गजल वाचन गर्नुभएको थियो । युवा साहित्यकारहरु अपूर्व न्यौपाने, रश्मी खागी र पत्रकार अनिता श्रेष्ठले आआफ्नो बाल्यकालिन अनुभव सुनाउनुभएको थियो । दृष्टिविहीन संगीतकार रमेश सुवेदीले हारमोनियम बजाएर गीत गाउनुभएको थियो । बन्दीपुर सामाजिक विकास समितिका संस्थापक अध्यक्ष चीजकुमार श्रेष्ठ, भानु उमाविका प्रधानाध्यापक दीप बहादुर खत्रीले शुभकामना र धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नोट्रे डेम स्कुलका प्रिन्सिपल सिस्टर इभान्जेला, शिक्षक सिस्टर मिरियम, बन्दीपुर क्याम्पसका क्याम्पस प्रमुख विक्रम पिया र समाजसेवी ईश्वर गोपाल प्रधानले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
वरिष्ठ कवि द्धारिका श्रेष्ठका पूजनीय मातापिताको स्मृतिमा वि.सं. २०६८ मा स्थापना गरिएको यस पुरस्कार विगत ५ वर्षदेखि बन्दीपुरमै कार्यक्रम गरी वितरण हुँदै आएको छ । हरेक वर्ष यसरी नै बालसाहित्य लेखक पत्रकारको टोली बन्दीपुर भ्रमणमा जाने गरेको छ ।

बन्दीपुर क्षेत्रका बालप्रतिभाहरुको सिर्जनात्मक विकासमा टेवा पुर्याउन यस पुरस्कार स्थापना गरिएको कोषका संरक्षक वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले बताउनुभएको छ ।
यस वर्ष वि.सं. २०७१ र ०७२ मा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बालबालिकाहरुबीच २०७१ सालमा कथा र २०७२ सालमा मनोवाद लेखन प्रतियोगिता आयोजना भएको थियो । दुवै विधामा पुरस्कृत बालबालिकाहरुलाई प्रथम, द्धितीय र तृतीय र सान्त्वनालाई क्रमशः ५, ३, २ र १ हजार नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरिएको थियो । साहित्यकारहरु जलेश्वरी श्रेष्ठ, प्रभा भट्टराई र कार्तिकेय घिमिरे रहनुभएको तीन सदस्यीय निर्णायक समितिले उत्कृष्ट रचनाहरु छनोट गरेको थियो । समारोहमा भानु उच्च मावि, पवित्रा उच्च मावि, नोट्रे डेम स्कुल र पद्म पुस्तकालयलाई पुस्तक उपहार दिइएको थियो । पुस्तकहरु सहयोग प्रकाशन, काठमाडौं र बालसाहित्य प्रतिष्ठान नेपाल काठमाडौंबाट सहयोग प्राप्त भएको थियो ।

पुरस्कृत बालबालिकाहरुको नामावली यस प्रकार रहेको छ,
वि.सं. २०७१ को कथा लेखनमा पुरस्कृत ४ जना बालबालिकाहरु
१. प्रेजिना गुरुङ, कक्षा ९, श्री भानु उच्च मावि, दयालु सन्जोग शीर्षक कथा रचनाका लागि प्रथम पुरस्कारबाट नगद ५ हजारसहित पुरस्कृत ।
२. सन्तोष सुनुवार, कक्षा १०, श्री पवित्रा उच्च मावि, स्यालको जुक्ति शीर्षक कथा रचनाका लागि द्धितीय पुरस्कारबाट नगद ३ हजारसहित पुरस्कृत ।
३. रेश्मा भट्टराई, कक्षा ९, श्री भानु उच्च मावि, गाई र बघिनी शीर्षक कथा रचनाका लागि तृतीय पुरस्कारबाट नगद २ हजारसहित पुरस्कृत ।
४. जैनबुल गजाली, कक्षा १०, श्री पवित्रा उच्च मावि, इच्छाको सपना शीर्षक कथा रचनाका लागि सान्त्वना पुरस्कारबाट नगद १ हजारसहित पुरस्कृत ।

वि.सं. २०७२ को मनोवाद लेखनमा पुरस्कृत ४ जना बालबालिकाहरु
१. सन्तोष सुनुवार, कक्षा १०, श्री पवित्रा उच्च मावि, प्रथम पुरस्कारबाट नगद ५ हजारसहित पुरस्कृत ।
२. अभिषेक पन्त, कक्षा १०, श्री नोट्रे डेम उच्च मावि, द्धितीय पुरस्कारबाट नगद ३ हजारसहित पुरस्कृत ।
३. प्रिया श्रेष्ठ, कक्षा १०, श्री नोट्रे डेम उच्च मावि, तृतीय पुरस्कारबाट नगद २ हजारसहित पुरस्कृत ।
४. मनिष थापा मगर, कक्षा १०, श्री पवित्रा उच्च मावि, सान्त्वना पुरस्कारबाट नगद १ हजारसहित पुरस्कृत ।

Segment: 
Language: