बालसाहित्य लेखकहरु बन्दीपुर यात्रामा

jalarika-program-bandipur-073

काठमाडौं, मंसिर २४/ जलरिका साहित्य सेवाको आयोजनामा बन्दीपुरमा हुने बुद्धि–रेशम बालसाहित्य लेखन पुरस्कार वितरण समारोह– २०७३ कार्यक्रमका लागि बालसाहित्य लेखक तथा पत्रकारहरुको दुई दिने बन्दीपुर यात्रा शुरु भएको छ ।
आदरणीय कवि श्री द्धारिका श्रेष्ठका पूजनीय मातापिताको स्मृतिमा वि.सं. २०६८ मा स्थापना गरिएको यस पुरस्कार विगत ५ वर्षदेखि बन्दीपुरमै कार्यक्रम गरी वितरण हुँदै आएको छ । हरेक वर्ष यसरी नै लेखक पत्रकारको टोली बन्दीपुर भ्रमणमा जाने गरेको छ ।
बन्दीपुर क्षेत्रका कलिला बालबालिकाहरुको सिर्जनात्मक विकासमा टेवा पुर्याउनु यस पुरस्कार स्थापना गरिएको कोषका संरक्षक वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठको भनाइ छ । यस वर्ष वि.सं. २०७१ र ०७२ मा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । बालबालिकाहरुबीच कथा र मनोवाद लेखन प्रतियोगिता आयोजना हुँदैछ । कार्यक्रम २५ गते शनिवार आयोजना हुनेछ ।
वरिष्ठ लेखकहरु जलेश्वरी श्रेष्ठ, माया ठकुरी, प्रभा भट्टराई, गंगा कर्माचार्य पौडेल, सुशीला प्रधानाङ्ग, तुलसीहरि कोइराला, अपूर्व न्यौपाने, रमेश सुवेदी, अनिता श्रेष्ठ, रश्मी खागी, गौरी तिमिल्सिना, कार्तिकेय घिमिरे र रोज गार्डेन प्रधान यस यात्रामा सहभागी हुनुहुन्छ । कार्यक्रममा लेखकहरुले बालसाहित्य रचना वाचन र छलफल पनि गर्ने छन् । कार्यक्रममा श्री चीजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष, बन्दीपुर सामाजिक विकास समिति, श्री दिल बहादुर खत्री, प्रधानाध्यापक, श्री भानु उच्च मावि लगायत विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष/प्रधानाध्यापकज्यू र सय बढी विद्यार्थीहरु पनि सहभागी हुने भएका छन् ।

Segment: 
Language: