हजुरबा हजुरआमालाई ट्रयाकसुट बितरण र कथावाचन

भक्तपुर, असार ९ गते ।
    बालसाहित्य प्रतिष्ठान नेपालको संयोजनमा प्रयास नेपाल र वागसिंह प्रतिष्ठानको सहयोगहमा भक्तपुर जिल्लाको चित्तपोल र नँखेल गाविसमा बसोवास गर्ने २ सय चालिस जना हजुरबाहजुरआमाहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । उक्त अवसरमा बालसाहित्य लेखक एवं बालसाहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कार्तिकेयले कथावाचन गर्नुभएको थियो भने सहभागी हजुरबाहजुरआमाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।

  भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रम वागसिंह प्रतिष्ठानका जेष्ठ सदस्य प्रेमबहादुर खत्रीको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रममा प्रयास नेपालका महासचिव रत्न कार्कीले समाजका हरेक नागरिकले अग्रज पुस्तालाई सम्मान गर्नु पर्छ भन्नु भयो । त्यस्तै बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले हरेक समाजका हजुरबा हजुरआमासँग रहेको अनुभव र ज्ञानलाई नयाँ पुस्ताले संरक्षण गर्नुपर्छ भन्ने अभियानसहित प्रतिष्ठानले अग्रज पुस्तासँगको भेटघाट र छलफललाई महत्व दिंदै कथा खोज्ने अभियान सुरु गरेको छ भन्नु भयो ।
    उक्त अवसरमा बोल्दै वागसिंह प्रतिष्ठानका सचिव रामकृष्ण खत्रीले प्रतिष्ठानले भक्तपुर जिल्लाकै स्तरीय बालपुस्तकालय निर्माण गर्ने लक्ष्यसाथ काम गरिरहेको जानकारी गराउनु भएको थियो । सो समारोहमा पुस्तक पढ्ने र पढाउने अभियानमा साथ दिंदै वागसिंह पठन संस्कृति प्रवर्धन अभियानमा सहमत हुँदै विभिन्न ११ जना समाजसेवीहरुले अक्षयकोश निर्माणका लागि बढीमा नगद रु १ लाख ५१ हजार देखि घटीमा ११ हजार १ सय गरी जम्मा ५ लाख बराबर रकम दान सहयोग प्रदान गर्नु भएको थियो । जसमा सबैभन्दा बढी रकम नारायणहरि खत्रीले १ लाख ५१ हजार प्रदान गर्नु भएको थियो ।

Segment: 
Language: