रङ्गमञ्चमा महेश पौड्याल र आमा नहुँदा एक साँझ

पछिल्लो समयमा नेपाली बालसाहित्य लेखन मौलाएको अवश्य छ, तर विधागत रुपले हेर्दा बाल–एकाङ्की र बाल–नाटक सङ्ख्यात्मक रुपमा पछि परिरहेको छ । यदाकदा फाट्टफुट्ट निस्कने बाहेक बालबालिकाहरूका लागि नाटकको क्षेत्र त्यति मौलाएको देखिँदैन ।

तर प्रभावकारिताका हिसाबले हेर्ने हो भने सोझै मञ्चनमा जान सहज हुने हुनाले सबै विधाहरूभन्दा प्रभावकारी विधा नाटक नै हो भन्ने कुरामा कुनै विवाद छैन । यस्तो अवस्थामा बाल–एकाङ्की लेखन र प्रकाशन आफैंमा एक अत्यावश्यक र स्वागतयोग्य कार्य हो भन्ने मलाई लाग्दछ । महेश पौड्यालको एकाङ्की सङ्ग्रह “आमा नहुँदा एक साँझ” प्रकाशित हुनु नेपाली बालएकाङ्कीको क्षेत्रका लागि एक सुखद सन्दर्भ हो भन्ने मैले ठानेको छु ।
महेश पौड्याल नेपाली बालसाहित्य क्षेत्रमा नयाँ नाम होइन । मौलिक कथाकार, कुशल अनुवादक, सशक्त कथावाचक र खरो समालोचकका रुपमा परिचित पौड्याल बालमनोविज्ञान र बालसुलभ मानसिकताका राम्रा जानकार हुन् । लामो समय विद्यालयमा शिक्षक भई बिताएका पौड्यालले बालबालिकासँगको  सामिप्यताले आफूलाई बालसाहित्य लेखनतिर तानेको कुरा भन्दै र लेख्दै आएका छन् ।
नाटक लेखन क्षेत्रमा यसै कृतिमार्फत् पौड्याल पहिलोपल्ट नाट्यकृति लेखकका रुपमा प्रकाशित भएका हुन् । तर उनमा नाट्यसाधना भने लामो समयदेखि रहेको देखिन्छ । सानै उमेरदेखि नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने उनको स्वभाव रही आएको छ । भारतमा स्कुल र कलेजको अध्ययन गरिरहँदा पनि उनले दाजुको कर्तव्य, देशको माटो, दाइजो  र कमल आदि नाटक लेखन र निर्देशन गरेका थिए । साथै यी नाटकमा स्वयंले अभिनय पनि गरेका थिए ।
नेपालमा पौड्यालले पहिलोपल्ट २०६० सालमा प्लेटोको “द एलेगोरी अफ द केभ” को नाट्य रुपान्तरण गरी स्वयंले निर्देशन गरेर भक्तपुरको एक स्कुलमा मञ्चन गरेका थिए । ठूलो रङ्गमञ्मा भने उनी २०६७ मा देखा परे । त्यतिबेला उनको लेखन र निर्देशनमा, बालमनोविज्ञानमा आधारित नाटक “चङ्गा” को प्रदर्शन शैली थिएटरले आयोजना गरेको प्रथम बालनाटक महोत्सवमा भयो । धेरै प्रसंशा पाएको उक्त नाटकको सफलतापछि उनको “बिगौती त खाने खाने” शीर्षकको नाटक मानसराजको निर्देशनमा मञ्चित भयो । जसमा हुरेसु नेपाल बालग्रहमा आश्रित बालबालिकाहरूसँगै उनी स्वयंले पनि अभिनय गरेका थिए । रसियाली नाटककार निकोलाइ गोगोलको नाटक “सरकारी निरीक्षक” मा नगराध्यक्षको चुनौतीपूर्ण भूमिकामा दर्जनौं पल्ट उत्रिएर उनले आफूलाई एक प्रतिभावान् नाट्य कलाकारको रुपमा  पनि परिचत गराइसकेका छन् । पछिल्लो समयमा प्रसिद्ध रसियाली कथाकार आन्तोन चेखोभको बालकथा “वाङ्का” को उनले नेपालीमा नाट्य रुपान्तरण गरेका छन्, जसलाई तेस्रो बालनाटक महोत्सवमा शैली थिएटरले मञ्चन गरिरहेको छ ।
बालएकाङ्की प्रकाशनको प्रसङ्गमा उनको पहिलो बालएकाङ्की “आकाश” लोकप्रीय राष्ट्रिय दैनिक राजधानीमा २०६६ मा प्रकाशित भएको हो । त्यसपछि “विजय” शीर्षकको एकाङ्की भ्वाइस अफ चिल्ड्रेन पत्रिकाले २०६७ मा प्रकाशित ग¥यो । उक्त एकाङ्की युनाइटेड पब्लिकेसनले प्रकाशन गरेको “मेरो नेपाली माला” पाठ्यपुस्तक श्रृङ्खलाको कक्षा पाँचको पाठ्यपुस्तकमा पनि पर्न सफल भएको छ ।
अङ्ग्रेजी साहित्यको विद्यार्थी र शिक्षक भएका नाताले पश्चिमी साहित्यको पनि गहन अध्ययन गरेका पौड्याल नेपाली बालसाहित्यका क्षेत्रमा फरक धारको वकालत गर्दै आएका साधक हुन् । उनी परम्परित उपदेशमूलक साहित्य र पूर्ण स्वेरकल्पनावादबाट नेपाली बालसाहित्य मुक्त हुनुपर्ने कुराका पक्षपाती हुन् । आफ्नो साहित्यमा उनले उनको यही विश्वासलाई लिपिबद्ध गरिरहेका छन् । उनका कथाजस्तै उनका एकाङ्की पनि मनोविज्ञानको जगमा उभिएका, गहिरा अभिव्यक्ति हुन् । यथार्थताको अत्यन्त निकट रहेर लेखिएका उनका एकाङ्कीहरूमा वयस्कहरूको गलत बुझाइ र आकलनकै कारण अन्यायमा परेका बालबालिकाको मनोदशा दर्शाइएको हुन्छ । यस सङ्ग्रहमा परेका सबै एकाङ्की यही प्रकृतिका छन् । बालबालिकाका बारेमा लेखिएका भएता पनि प्रौढहरूका लागि धेरै सोचनीय विषयवस्तुहरुको उठान गर्दै बहस सिर्जना गर्ने काम यी एकाङ्कीहरूले गरेका छन् ।

Opinion: 
Language: