प्रेरणादायी कथाहरु

alina-subedi-times-school

एलिना सुवेदी, कक्षा ९, टाइम्स स्कुल, कुलेश्वर, काठमाडौँ ।

आत्मालाई मनोरन्जन दिँदै मनमा जिज्ञासा भरिदिँदै अकल्पनीय रुपमा कसैलाई वास्तविकता र सच्चाइमा डुब्न प्रेरित गर्नु कथामा हुनुपर्ने आवश्यक गुण हो । यस्तै गुण बोकेको कथाहरुको सङ्ग्रह हो ‘कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु’ नामक कथा सङ्ग्रह ।

बालबालिकाहरुको आवश्यकता भनेको शिक्षा र प्रेरणा हो र उनीहरुको चाहना भनेको मनोरन्जन हो । यही कुरालाई मध्यनजर गर्दै यो पुस्तकको रचना गरिएको छ । हरेक कथा सङ्ग्रहमा नवीन शैली र फरकपन खोज्ने बालबालिकाहरुको प्राकृतिक स्वभावलाई बुझी यो पुस्तक तयार पारिएको छ । यस पुस्तकद्वारा समाजमा बालजीवनमा घटिरहेका वास्तविक घटनाहरुको वारेमा सबै बालबालिकाहरुलाई जानकारी गराउन खोजिएको छ । यसका साथसाथै उनीहरुलाई बालजीवनमा आइपर्ने समस्याहरुको बारेमा सचेत गराई तिनको हल भनेको उनीहरुको जागरुकता हो भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ । संख्याको हिसावले द्वन्द सम्बन्धित कथालाई बढी बोकेको यस कृतिले द्वन्द र बालजीवनको सम्बन्ध खोतली सबै सामु प्रस्तुत गर्दै द्वन्दको अन्त्य गर्न सबैलाई अभिप्रेरित गर्न खोजेको छ । 

यस किताबका कथाहरु सरल तर उत्कृष्ट छन् । ‘तिम्रो चौकी भत्काइदिन्छु’, ‘किन रोई जानकी’, ‘ऊ कहाँ गयो होला ?’, ‘पिरिरीको दसैं’ नामक कथाहरु द्वन्दमा आधारित छन् । पिरिरीको दसैँ नामक कथामा सबैले समान रुपमा चाडपर्व मनाउनुपर्ने कुरालाई पनि समेट्न खोजिएको छ ।  ‘पिरिरीको भाइटीका’ नामक कथामा भने चाडपर्वको समयमा आफ्ना सबै साथीभाइ रमाइरहेका तर आफू भने द्वन्दमा गुमाउनु परेका परिवारजनको सम्झनामा दुःखी हुनु बाहेक अरु केही विकल्प नभेटेको एक बालकको भाव र दुःखलाई प्रस्तुत गरिएको छ । केही वर्ष अगाडि मधेश आन्दोलनको समयमा पहाडियाहरुलाई तराईबाट खेदिएको कुरालाई भने  ‘किन रोई जानकी ?’ कथामा समावेश गरी त्यसले मधेशी र पहाडी बालबालिकामा प्रभाव पर्न गयो भन्ने मार्मिक चित्रण गरिएको छ । सबै द्वन्द कथामा बालमनोविज्ञानलाई बुझ्ने प्रयास गरिएको देखिन्छ । 

द्वन्द बाहेकका विषयका कथाहरुमध्ये उत्कष्ट कथा चाहिँ  ‘डस्टर उड्यो’ भन्ने कथा  हो । यो कथामा कक्षाकोठामा बस्दा र शिक्षकले ध्यानमा राख्नुपर्ने अनुशासन र कर्तव्यको बारेमा रोमान्चक अनि हास्य शैलीमा कथावस्तु बुनिएको छ ।  ‘वाह दुनोट पसलेकी छोरी’ कथामा भने खाने मुखलाई जुँगाले छेक्दैन, मिहिनेतीलाई कसैले रोक्न सक्दैन भन्ने कुरा प्रमाणित भएको छ । गरिवी र घृणाको मात्र अनुभवमा हुर्केकी भए पनि एक बालिकासँग भएको अतुलनीय क्षमता र साहसलाई यस कथामा उल्लेख गर्न खोजिएको छ । प्राय बालबालिकामा पाइने स्वभाव भनेको साथीभाइबीच झगडा गर्ने हो र यही कुराको चित्रण ‘राम र श्याम बेस्सरी रोए’ कथामा गरिएको छ । आमाबुबाको माया र ममता नपाएको बालकलाई साथी कत्तिको महत्वपूर्ण हुन्छ र प्यारो हुन्छ भन्ने कुरा पनि यस कथामा प्रस्तुत गरिएको छ । 

‘ड्राइभर अङ्कल किन रोए ?’ र ‘पिरिरीको देश’ भन्ने कथामा भने बालबालिकाहरुको महानता, उनीहरुबाट हुन सक्ने चमत्कार र प्रशंसनीय कामहरुलाई मुख्य विषय बनाई उनीहरुलाई भविष्यका मात्र कर्णधार भन्न नमिल्ने कुरा प्रस्तुत गरिएको छ । ‘केबुलकारको कथा’ मा चाहिँ निर्जिव वस्तुसँगको भावनात्मक सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यसैगरी बालबालिकाहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुमा पाउन सकिने जोस र जिज्ञासालाई ‘धरहरा चढ्दाको मज्जा’ कथामा चित्रण गरिएको छ । बालबालिकाहरुले विभिन्न अवस्थामा सहिरहेका दुव्र्यवहारको विषयलाई भने ‘यस्तो सधैँ किन हुन्छ’ कथामा समावेश गएिको छ । यसै गरी प्रकृतिको महत्त्वलाई भने ‘हनुमानले सूर्य निले’ कथामा दर्साइएको छ । 

समग्रमा बालबालिकाहरुकै प्रसङ्गमा उनीहरुकै तहको भाषामा र उनीहरुकै लागि नयाँ स्वादमा तयार पारिएको यो कथाको किताब सबैले एक पटक पढ्नैपर्छ । यस कथासङ्ग्रहमा कथा र घटनाहरु पढ्दा आफ्नो जीवनमा आइपर्ने ससाना समस्याहरुमा उनीहरुलाई  सान्त्वना मिल्छ र त्यस समस्यासँग जसरी पनि आफैंले लड्नु पर्ने प्रेरणा पनि मिल्छ । फुर्सदको समयमा किताब पढ्नुको आनन्द रमाइलो प्राप्त गर्न र ज्ञानगुन कुरा थाहा पाउनका लागि यस किताबलाई साथी बनाए समयको सदुपयोग पनि हुन्छ । अनि जीवनका लागि अमूल्य सन्देश पनि मिल्न सक्छ । महेश पौड्यालको सम्पादनमा प्रकाशित यो किताब केटाकेटी मिडियाले छापेको हो ।       (साभार : नागरिक दैनिक, जुनकिरी, असार ५, २०७२)     

Language: 
Book: