आज एग्लान्टाइन जेबको कुरा गरौं

भाइबहिनीहरु,

आज एग्लान्टाइन जेबको कुरा गरौं । किनकि उनी नै बालअधिकार वारे कुरा गर्ने पहिलो मानिस हुन् । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले चिन्छन् । उनले सन् १९२३ मा बालअधिकार अभियान सुरु गरेकी थिइन् । यसै अभियानकै क्रममा त्यही वर्ष उनले पाँचबुँदे बालअधिकार घोषणापत्र पनि तयार पारेकी थिइन् । त्यो घोषणापत्र जेनेभा घोषणापत्रका रुपमा परिचित छ । उनले सुरु गरेकै बालअधिकार अभियान बढ्दै गएर सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि पारित भएको अवस्थासम्म पुगेको हो । त्यसैले उनलाई बालअधिकार अवरधारणाको प्रणेत्री भनेर सबैले भनेका हुन् ।


एग्लान्टाइन जेबको जन्म सन् १८७६ मा बेलायतको स्रोपसर एलेस्मेर भन्ने ठाउँमा भएको थियो । उनी आफ्नो गाउँको सम्पन्न परिवारमा जन्मिएकी थिइन् । उनको पिताको नाम आर्थर जेब र माताको नाम श्रीमती एग्लान्टाइन हो ।


एग्लान्टाइनले आफ्नो बाल्यकाल दाजुभाइसँग रमाइलो ठट्टा र झगडा गर्दै बिताइन् । बच्चामा उनी साहसिक खेल खेलेर पनि रमाउँने गर्थिन् । रमाइलो कुरा त केहो भने उनी आफ्ना भाइबहिनीहरूलाई साहसले भरिएका रमाइला र डरलाग्दा कथाहरू सुनाउँने गज्जबको कथावाचक पनि थिइन् ।
सादा जीवन र उच्च विचार राखेर जीवनमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राख्ने जेब एकान्तमा बसेर सोच्न मनपराउँथिन् । उनको रुचि गाउँघरमा डुल्ने र गाउँलेहरूका सुखदुःख बुझ्नमा पनि थियो । उनी मान्छेले गर्ने कामको आधारमा मान्छे ठूलो सानो हुँदैन भन्ने ठान्थिन् । मान्छे अर्थात् मानवको वर्ग मानवता हो भन्ने उनको ठम्याइ थियो ।


जेब सरल स्वभावकी थिइन् । विलासी जीवन उनलाई मनपर्दैनथ्यो । भाइबहिनीहरू माझमा जेब ख्याल ठट्टा गर्न मनपराउँथिन् । उनी आफूले सुनाएका साहसिक कथाको नक्कल गरी बालबालिकालाई ठट्टा गर्दै खेल्न उक्साउँथिन् । उनी विभिन्न कुरा सोच्ने र कल्पना गर्ने स्वभावको थिइन् । त्यही भएर बालबालिकामाझमा नयाँ–नयाँ कुरा भन्न र नयाँ खेल खेलाउँन उनी खप्पिस थिइन् । यही भएर उनी बालबालिकाको प्यारो साथी पनि थिइन् ।
बुवाको पुस्तकालयमा धेरैबेर किताब पढेर समय बिताउँने जेबको लेखनमा पनि रुचि थियो । उनी साहित्य लेख्ने गर्थिन् । उनले लेखेका कविताहरू प्रकाशित पनि भएका छन् ।


पौडी खेल्दा, डुङ्गा खियाउँदा र केटाहरूसँग प्रतिस्पर्धा गर्दै घोडा दौडाउँदा जेब निक्कै खुसी हुने गर्थिन् ।
जेबका बुवा वकिल हुनुहुन्थ्यो । उहाँ प्रजातन्त्रमा विश्वास गर्नुहुन्थ्यो । उनको आमा उद्योगमा रुचि राख्नुहुन्थ्यो । उहाँले हस्तकलाका माध्यमले सर्वसाधारणको आम्दानी बढाउँने कार्यमा ठूलो योगदान दिनुभएको छ । उहाँले हस्तकलालाई सम्मानको पेशा बनाएर लण्डनमा हस्तकला र शिल्पकलाको ठूलो प्रदर्शनी पनि गर्नुभएको थियो । त्यो प्रदर्शनीमा त्यतिबेला राजपरिवारका सदस्य, कलाकारहरूलगायत थुप्रै ठूलो प्रतिष्ठा कमाएका व्यक्तिहरूसमेत आएका थिए ।


यति क्रियाशील पिता र माताकी छोरी जेबले सन् १८९५ मा लेडी मार्गरेट हल, अक्सफोर्ड विश्वविद्यालयमा इतिहास विषय पढेकी थिइन् । त्यहाँ उनी मज्जाले तर्क गर्न सक्ने प्रतिभाशाली विद्यार्थीका रुपमा चिनिएकी थिइन् । त्यो पढाइ पछि उनी शिक्षक प्रशिक्षण तालिम लिएर प्राथमिक तहको शिक्षक बन्न पुगिन् । उनी बालबालिकालाई किताबी कीरा नबनी अवलोकन र अनुभवबाट सिक्न हौसला दिन्थिन् ।


वास्तवमा जेब बालबालिकाको कुरा सबैले सुन्नुपर्छ, उनीहरूलाई संरक्षण दिनुपर्छ र उनीहरूलाई बुझ्नुपर्छ भन्ने अभियान सुरु गर्ने पहिलो मानिस हुन् । उनी भन्थिन्– हामी निर्दोष बालबालिकालाई नैतिक वा शारीरिक रुपले बर्बाद हुनेगरी जताततै छाडिदिन सक्दैनौं । बालबालिका बिना कुनै सहयोग रोऊन्, भोकभोकै बसून्, निरास होऊन् र मरुन् भन्ने जोखिम पनि हामी लिन सक्दैनौं । हामीले विश्वमा चाँडोभन्दा चाँडो शान्ति ल्याउनु अनिवार्य छ । बालबालिकालाई जोगाउँन हामीले एक शक्तिशाली अन्तर्राष्ट्रिय संगठनको विकास गर्नुपर्छ । जसले आफ्ना क्रियाकलाप विश्वको कुनाकाप्चासम्म पु¥याउँने छ ।’


वास्तवमा त्यतिबेला युद्घले दुखेको बेलायतको अवस्थाबाट बालबालिकालाई माथि उठाउँन जेबले यो धारणा अघि सारेकी थिइन् ।
युद्घका कारण बाबुआमा तथा दाजुभाइ गुमाएको परिवारलेसमेत चन्दा दिएर अभियानमा साथ दिएको देखी जेब र उनका साथीहरू उत्साहित भए । यसरी सेभ द चिल्ड्रेन सुरु हुन पुग्यो । सेभ द चिल्ड्रेन बालबालिकाको हितमा काम गर्ने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।
जेबले निकै ठूलो संघर्षले आफ्नो देशमा युद्घले पीडित बालबालिकालाई बचाऔं भन्ने नारा ‘सेभ द चिल्ड्रेन’ अघि सारेर चन्दा संकलन गर्दै यो संस्थालाई जीवन दिएकी हुन् । उनी सेभ द चिल्ड्रेनलाई जन्म दिने आमा हुन् । त्यो संस्थाले अहिले हज्जारौं बालबालिकाहरूलाई सहयोग गरिरहेको छ । यस्ती ममतामयी आमा समाजसेवी जेबप्रति बालदिवसको यस अवसरमा हामी हार्दिक श्रद्घा प्रकट गर्दछौं ।

By Kartikeya

Opinion: 
Segment: 
Language: