साना विद्यार्थी माथिको हिंसा कम गरौं

साना कक्षामा पढाउने शिक्षक–शिक्षिकाहरूले नै किन बढी बालबालिकामाथि हिंसा गरिरहेका छन् ?
यो विषयमा केटाकेटी मिडियाको कार्यालय सेतो ढोका जमल, काठमाडौंमा दशवटा विद्यालयका शिक्षिकाहरूसँग छलफल गरिएको थियो । उक्त अवसरमा यस विषयमा चासो राख्ने अभिभावक र केही विद्यार्थीहरूले पनि विचार व्यक्त गरेका थिए ।
छलफलमा त्यस तहमा पढाउने शिक्षिकाहरूमा पर्याप्त तालिमको अभाव रहेको कुरालाई शिक्षिकाहरू स्वयंले स्वीकार गरेका थिए । उनीहरूको प्रश्न थियो– हामी निजी विद्यालयमा पढाउनेलाई तालिमको व्यवस्था कसले गरिदिने ? निजी स्तरमा खुलेका ठाउँमा तालिम दिन त हाम्रो महिना दिनको तलबले पनि पुग्दैन । त्यति थोरै तलबमा पढाइरहेका छौं हामी ।
त्यस्तै उक्त अवसरमा कक्षा कोठामा चाहिने जति शिक्षण सामग्री नहुने कारणले गर्दा पनि कक्षामा फरक–फरक क्रियाकलाप गर्न नपाउँदा कक्षामा हल्ला बढी हुन गई रिस र टेन्सनमा साना विद्यार्थीलाई ठूलो क्षती पुग्ने खालका सजाय हुन गई यस्ता दुर्घटना घट्ने गरेको एक सहभागी शिक्षिकाले बताएकी थिइन् । उनको प्रश्न थियो– निजी विद्यालय संचालकले कक्षा कोठामा किन पर्याप्त शैक्षिक सामग्री राख्दैनन् ?
वास्तवमा शिक्षण सामग्रीको हकमा कुरा गर्दा साना भर्खरै विद्यालयमा प्रवेश गरेका नानीहरूका लागि वाचन गरेर हाउभाउसहित सुनाउने चित्रपुस्तकहरूको महत्व धेरै छ । त्यस्तै उनीहरूलाई सामुहिक खेल र विविध क्रियाकलापमा सहभागी गराउन विविधखालका खेलौना सामग्रीहरूको आवश्यकता पनि पर्दछ । अहिले काठमाडौंमा संचालनमा रहेका अधिकांश निजी विद्यालयमा त यस्ता शैक्षिक सामग्रीको अभाव देखिन्छ भने उपत्यका भित्र रहेका सरकारी विद्यालय र बाहिर रहेका निजी विद्यालय र त्यसमा पनि सरकारी विद्यालयको अवस्था त झन् दुःखलाग्दो नै रहेको देखिन्छ । त्यसैले सबभन्दा पहिले विद्यालयले महंगा सामान जोड्न नसके पनि हरेक साना कक्षाका शिक्षिकाहरूलाई कक्षाकोठामा प्रभावकारी शिक्षणका लागि उपयोगी कथावाचन तालिम लिने अवसर प्रदान गर्नु जरुरी देखिन्छ । त्यस्तै साना नानीहरूका लागि उपयोगी चित्रपुस्तकहरूको पुस्तकालयमा पर्याप्त व्यवस्था गरी अघि बढ्न सकेमा पनि यस पक्षमा केही सकारात्मक परिणाम ल्याउन सकिने अवस्था देखिन्छ । यस्तै आफ्ना वरिपरि उपलब्ध साधन स्रोतबाट नै शैक्षिक सामग्री बनाउन सकिन्छ । यस तर्फ पनि विद्यालयले शिक्षकहरूलाई प्रशिक्षण दिनु आवश्यक छ ।
यस छलफल सहभागी एक विद्यार्थीले प्रभावकारी शिक्षणका लागि अडियो भिडियो कक्षाको पनि व्यवस्था हुनुपर्ने बताएका थिए । तर उसै त एकातिर घरमै बढी टिभि हेरेर तिलगंगा आँखा अस्पतालमा लगेर आँखा जचाउँदा हैरान भएकी आमाले जुरुक्क उठेर भनिन्– आँखाका बच्चा रोगीको लाइन बढिरहेको अहिलेको समयमा स्कुलमा पनि कक्षाकै रुपमा टिभि नै देखाउनु पर्छ भन्ने कुरा ठीक होइन । बरु अडियोबाट सुनाएर पढाउनु राम्रो हो । हुन पनि हो साना कक्षाका विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउनका लागि सकेसम्म बढीभन्दा बढी सहभागितामूलक क्रियाकलाप अर्थात् खेलका माध्यमले शिक्षण गर्न सकियो भने, तल्लो तहको शिक्षणमा शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर बन्ने र हिंसा कम हुने देखिन्छ । यस तर्फ सबै सचेत र जागरुक हुनु जरुरी छ ।

Opinion: