प्राध्यापक डाक्टर चूडामणि बन्धुसँग तिन प्रश्न

chura-mani-bandhu-ketaketionline

 प्राध्यापक डाक्टर चूडामणि बन्धु वि. सं. २०४४ सालमा नेपाल बालसाहित्य समाजको स्थापना गरी नेपालमा बालसाहित्यको विकासका लागि संस्थागत प्रयास शुरु गर्ने अगुवा व्यक्तित्व हुनुहुन्छ । नेपाली भाषाका विद्वान् अग्रज बन्धुले थुप्रै गहकिला कृतिहरु रचना गर्नु भएको छ । उहाँ नेपालको प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सफल लेखक,  समालोचक र भाषा विशेषज्ञ हुनुहुन्छ । उहाँसँग केटाकेटी अनलाइनको तिन प्रश्नका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

१. तपाईं अहिले के गर्दै हुनुहुन्छ ?

अहिले म चारवटा काममा व्यस्त छु । 

पहिलो काम, नेपाली लोकसंस्कृतिको विषयमा अङ्ग्रेजी भाषामा तयार गरिएको किताब ‘एस्पेक्ट्स अफ नेपलिज फक्लोर’ नामक किताब प्रकाशनको तयारी अवस्थामा पुग्न लागेको छ ।

दोस्रो काम, म विभिन्न ठाउँमा अनुसन्धानको लागि गएको थिएँ । ती अनुसन्धानका अप्रकाशित रिपोर्टहरु प्रकाशनको तयारी गर्दै छु । उदाहरणको लागि म जुम्ला गएँ, चेपाङको जातिको अध्ययन गरेँ, थारु जातिको अध्ययन गरेँ आदि । यी सबैको रिपोर्टमा अनुभव र अनुभूतिलाई समेट्दै लेख्दै छु । 

तेस्रो काम, आदिकवि भानुभक्तको जीवनी तयार गर्दै छु । मैले महाकवि देवकोटाको जीवनी पनि लेखेँ । अब अरु धेरै व्यक्तित्वहरुको जीवनी पनि तयार गर्दै छु । 

चौथो काम, नेपाली भाषाको हिज्जेको वारेमा अहिले धेरै कुराहरु आइरहेका छन् । त्यसको वारेमा वास्तविक कुरा केहो भन्ने त भन्ने विषयमा बहस गर्ने गरी नेपाली हिज्जेको समस्या र समाधान भन्ने मेरो नयाँ कृति पनि चाँडै प्रकाशनको लागि तयार हुँदै छ ।

२. तपाईंले अहिले बालबालिकालाई दैनिकी लेख्न प्रेरित गर्दै विद्यालहरुमा गएर तालिम दिइरहनु भएको छ । ‘लोकतान्त्रिक आन्दोलनका डायरी’ नामको कृति पनि भरखरै प्रकाशित गर्नु भयो । दैनिक लेखनलाई यति धेरै किन प्राथमिकता दिनु भएको हो ? 

दैनिकी लेखनबाट बालबालिकालाई धेरै फाइदा हुन्छ । भाषा शैली राम्रो बन्छ । आफ्नो कुरा व्यक्त गर्ने, चिन्तन गर्ने र सिलसिला मिलाएर आफ्नो कुरा भन्ने बानीको विकास हुन्छ । यसले अनुशासनमा बस्न र योजना बनाउन पनि सहयोग पुग्छ । आफ्नो मनमा रहेको दुःख र खुसीलाई व्यक्त गरेर आफ्नो दुःखलाई कम गर्न र खुसीलाई बाँड्न पनि सिकाउँछ । 

३. बालसाहित्यको विकासमा लामो समयदेखि काम गर्दै आउनु भएको छ । बालसाहित्यलाई सबै बालबालिकासम्म पुर्याउन, के कस्तो प्रयास हुनुपर्छ जस्तो लाग्छ ? 

विगत केही वर्ष यता नेपालमा बालसाहित्यको राम्रो विकास भएको छ । तर अझसम्म पनि बालबालिका र अभिभावकसम्म बालसाहित्यका किताब पुर्याउन नसकिएको अवस्था छ । किताबहरु पुस्तकालय मार्फत् फैलिएको देखिन्छ । जसमा गैरसरकारी संस्थाहरुले किताबलाई फैलाएको देखिन्छ । तर अझै पनि अभिभावक माझमा बालसाहित्य चेतना पुग्न सकेको देखिदैन । अभिभावक टिभि खोलिदिन्छन् ढुक्क हुन्छन् । तर नानीहरुले हिन्दी भाषा अगाडि सिकिरहेका छन् । हाम्रो भाषा सिकाउने उद्देश्य पूरा भइरहेको छैन । 

त्यसैले पुस्तकालयको प्रयोग पनि व्यवस्थित गर्नु पर्ने देखिन्छ । साथै पुस्तकालय बनाइ दियो र अरु कामको लागि छाडिदिने तथा बालबालिकाको पढ्ने कक्षमा एक पटक किताब राखिदिएर त्यसपछि  बालोपयोगी किताबहरु नै नथप्ने दुःखद अवस्था पनि विद्यमान छ ।

यसमा सम्वन्धित संस्थाको केन्द्रीय कार्यालयले ध्यान दिनु जरुरी छ । 

अहिले केटाकेटीले ठूलाहरुका लागि लेखिएका किताब पढेँ भन्छन् तर बालसाहित्यका किताब नै पढेँ भन्ने चर्चा हुन सकेको देखिंदैन । साथै किशोरहरुका लागि पनि किशोर साहित्यको बारेमा अझ बढी मिहिनेत गरी लेख्नु आवश्यक देखिन्छ ।    

Opinion: 
Language: