आज आदरणीय लेखक डायमन शमशेरको वारेमा कुरा गरौं

वरिष्ठ ऐतिहासिक उपन्यासकार आख्यान साहित्यका धरोहर डायमन शमशेर राणाको केही समयअघि ९४ वर्षको उमेरमा निधन भयो ।
डायमन शमशेर राणा चर्चित लेखक हुन् । उनी लोकतन्त्र प्रति प्रतिबद्घ लेखक पनि हुन् । उनको मूल आशय नै जनता सबै शिक्षित हुनुपर्छ र हरेकले मग्न भएर साहित्य पढ्ने माहोल बनाउँनुपर्छ । अनि मात्र देशले प्रगति गर्छ भन्ने रहेको थियो । उनीसँग मैले सात वर्ष संगत गर्ने मौका पाएँ । म डायमन शमशेर राणा साहित्य प्रतिष्ठानको संस्थापक अध्यक्ष भएकोले उनको संगत गर्न पाएको हुँ ।
 मैले के पाएको छु भने आफूले राणा शाहीको सबै सुख र सुविधा त्यागेर विद्रोह गरी प्रजातन्त्रका लागि लडेका डायमनको घरमा देशमा प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलगायत वरिष्ठ नेताहरु लौ तपाईं मन्त्री बन्नु प¥यो भन्ने प्रस्ताव लिएर उनकोमा आएका थिए । तर त्यति बेला उनले म साहित्यिक मान्छे हुँ । मैले साहित्यकार बन्नकै लागि सबै कुरा त्यागेको हुँ । अब देशमा प्रजातन्त्र आयो । तपाईं राजनीति गर्नुस् म साहित्य लेख्छु भनेर फर्काएका थिए । ती दुवै नेता उनका असल मित्र थिए । डायमन यी दुई नेतालाई असल मित्र ठान्दथे । उनको यो आस्था अन्तिम समयसम्म रहेको थियो ।
डायमन हक्की स्वभावका थिए । उनी भन्ने गर्थे मैले बहुदल आएर कमाउँन पाइएला, मान पाइएला भनेर सात वर्ष जेल जीवन कठघरामा बिताएको होइन । मैले जनतालाई सुख हुनेछ, जनताले खान, लाउन र पढ्न पूरै राज्यको सहयोग पाउनेछन् भनेर प्रजातन्त्रका लागि लडेको हुँ । उनी आफ्नो सय बिघा जग्गा किसानहरुलाई बाँडेर लेखक बन्न होमिएका थिए । राणा शाहीको सबै सुख, सुविधा र रवाफ अनि विलासिता त्यागेर प्रजातन्त्र ल्याउँन उनी अघि सरेका थिए ।
तर दुःखसाथ भन्नुपर्छ नेपालको विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम बनाउँनेहरुले डायमनलाई पाठ्यपुस्तकमा दिनुपर्ने जति महत्व दिएका छैनन् । भाइबहिनीहरुले डायमनवारे पढ्न पाउनु भएको छैन ।
आज भारतमासमेत कुनै विद्यार्थीले ऐच्छिकमा लिएर पढ्न चाहयो भने सेतो बाघका लेखक डायमनलाई छानेर पढ्नसक्ने व्यवस्था गरिएको छ । तर उनको आफ्नै देशको विश्वविद्यालयको पाठ्यक्रममा भने कन्जुस्याई गरेर अटाइका छन् उनी । यो डायमनमाथि गरिएको अन्याय हो । ९४ वर्षको अशक्त अवस्थामा पनि बित्नु अघिसम्म पनि यो विषय उठाउँदा डायमनको आँखा रसाउँथ्यो ।
आज देशभरिका मिडियाले डायमन आख्यान साहित्यका धरोहर हुन्, हीरा हुन् भनिरहेको छ । उनको दशौं भाषामा प्रकाशित सेतो बाघको चर्चा गरिरहेको छ । तर त्यही धरोहरलाई नवयुवा पुस्ताले पाठ्यपुस्तकमा पढ्न पाइरहेका छैनन् । किन ? यो प्रश्न हामी सबैले सोध्नुपर्ने भएको छ ।
एउटा लेखकका हिसावले के कुरामा डायमन कम थिए ? एउटै कृतिबाट ४० लाखसम्म रोएल्टी नेपालका कुन लेखकको कृतिले अहिलेसम्म पाउँन सकेको छ ?
लेखक भएर डायमनले जुन ख्याति पाए त्यो लोभलाग्दो छ । उनी सुनाउँने गर्थे, वेलायतको भ्रमणताका उनलाई राजालाई भन्दा बढी सम्मान गरिएको थियो । यसरी देशविदेशमासमेत चर्चित डायमन शमशेरलाई अब विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा खुला ह्रदयले राखिनुपर्छ ।
डायमन एकदमै स्पष्ट विचारका मानिस थिए । देश उन्नतितर्फ लम्कन वाक स्वतन्त्रता चाहिन्छ, हरेक व्यक्तिले काम गर्न पाउँनुपर्छ र साहित्यको उन्नतिबिना देशको उन्नति सम्भव छैन भन्ने कुरामा उनी दृढ थिए ।
म सम्झन्छु उनको जन्मदिवसको एक अवसरमा गिरिजाबाबुसँगको भेटमा माओवादीको प्रसंगमा गफ हुँदा ती पनि हिजोका हामी विद्रोही कांग्रेस जस्तै हुन् नि ! हिजो हामीले पनि त लडेका थियौं । तिनलाई पनि हजूरले मूलधारमा ल्याउँन सक्नुहुन्छ भनेका थिए । त्यतिबेला कोइरालाले मेरो मिसन नै त्यही हो भनेर डायमनलाई अँगालो मारेका थिए ।
वास्तवमा हरेक प्रतिकुल अवस्थामा पनि विरोधीको आवाजलाई निषेध गरिनुहुन्न । उनीहरुको आवाज सुनिनुपर्छ अनि मात्र देश माथि जान सक्छ । अन्यथा फेरि देशमा पटक पटक संघर्ष हुन्छ भन्ने विचारमा दृढ थिए डायमन । उनको यही विचारबाट नै हामी गर्वसाथ भन्न सक्छौं उनी व्यवहारमै लोकतान्त्रिक संस्कार बोकेका लेखक थिए ।

Opinion: 
Language: