‘भक्तपुर घुम्दाको मज्जा’ रमाइलो किताब By प्रा. डा. अच्युतमणि आचार्य

bhaktapur-ghumda-book-cover

‘भक्तपुर घुम्दाको मज्जा’ एउटा सृजनशील बालकको नौलो र रमाइलो किताब हो । यो किताबले बालकको भाव र शैलीमा भक्तपुरलाई चिनाउँने काम गरेको छ । लेखकले खोजी गरी लेखेका भक्तपुरका विभिन्न ठाउँ वारेको जानकारीले किताबलाई उपयोगी पनि बनाएको छ । २०६८ मा नई प्रकाशनबाट उत्कृष्ट बालप्रतिभाका रुपमा पुरस्कृत लेखक सुशान्तमान सिंह मास्केको यो दोस्रो कृति हो । यस अघि उनको ‘अँध्यारोमा जूनकिरी’ नामक कविता सङ्ग्रह प्रकाशित भएको थियो । पछि गएर ठूलो कवि हुने लेखक भनी उनको त्यो किताबमा डा. जयराज आचार्यले आफ्नो मन्तव्यमा लेखेको कुरा म यहाँनिर सम्झन चाहन्छु । यिनी सिर्जनशील प्रतिभा हुन् भन्ने कुरा यिनको यो कृतिले पनि संकेत गरेको छ । यस पुस्तकमा रहेका धेरै फोटोहरू पनि आफैले खिची आफ्नो देशका रमाइला ठाउँवारे सबैलाई जानकारी गराउँन चाहने लेखकको इच्छा तारिफयोग्य रहेको छ । यही नयाँ नौलो कामको सुरुवातका लागि उनलाई बधाई छ । देश चिनाउँने यो अभियानमा उनलाई सबैको साथ मिलोस् । मेरो साथ त उनलाई सँधै रहने नै छ ।
वास्तवमा केटाकेटी मिडिया बालबालिकालाई छ्या ! नेपाल होइन वाहा ! नेपाल भन्न प्रेरित गर्ने कोसिसमा विगत एक दशकभन्दा लामो समयदेखि सक्रिय रहेको छ । हाम्रो यो प्रकाशनले एउटै ठाउँमै मात्र भए पनि तपाईंलाई नेपाल घुम्न र हेर्न रुचि जगायो भने हामीलाई असाध्यै खुसी लाग्ने छ ।
अन्त्यमा एउटा रमाइलो किताब प्रकाशन लेख्ने लेखक सुशान्त, प्रकाशक केटाकेटी मिडिया र उनका बुवा सुरेशमान र आमा जयन्ती प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

Opinion: 
Language: