म ११ वर्षको उमेरमा गाउँले दाइको पछि लागेर बनारस पढ्न गएँ

dr. c. m. bandhu, neschil, nepal

प्रा.डा.चूडामणि बन्धु वरिष्ठ साहित्यकार र समालोचक हुन् । उनी नेपाली भाषा–साहित्यका आदरणीय व्यक्तित्व हुन् । उनी नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष हुन् । यस अंकमा हामीले उनको बाल्यकालको सम्झना प्रस्तुत गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकाल ः 


पाल्पा जिल्लाको चिर्तुङ गाउँमा मेरो जन्म भएको हो । वास्तवमा एउटा रमाइलो पहाडी गाउँ चिर्तुङमा मेरो बाल्यकाल बित्यो । गाउँ वरिपरि बाहुनका घरहरु थिए । अलि पर–पर धेरै जसो मगरहरु थिए । त्यो मगरातको क्षेत्र हो । चाडपर्वको अवसरमा मगर र बाहुनहरु सबै एकै ठाउँमा रमाइलो गर्थे । दशैं तिहारमा निकै रमाइलो हुन्थ्यो । त्यही प्यारो गाउँमा मेरो बाल्यकाल बितेको हो ।


मेरो बाल्यकालमा खासगरी मैले मेरी हजुरआमासँग धेरै समय बिताएँ । मेरो बुवा बाहिर जानुभएको थियो । पहिला पढ्न भनेर बुवा बाहिर जानुभयो । त्यसपछि उहाँ फेरि कामको लागि बाहिर जानुभयो । यही कारणले गर्दा मेरो पढाइ धेरै पछि शुरु भयो । त्यो बेला म लुटुपुटु गर्दै हजुरआमासँगै रमाउँथें ।
पाल्पाको तराइमा सबी भन्ने गाउँ छ । त्यही ठाउँमा हाम्रो खेतिपातीको जमिन थियो । त्यो गाउँ अहिले नवलपरासी जिल्लामा पर्छ । त्यो ठाउँमा खेतिपाती हेर्न मेरो माइलो बुवा बारम्बार जानुहुन्थ्यो । त्यतिबेला तराइमा औलो रोग लाग्थ्यो । गर्मीको बेलामा त्यहाँ कोही पनि बस्न सक्दैनथे । जाडोको समयमा तीन चार महिना हामी तराइ जान्थ्यौं । हिउँदको दिन हामी त्यही बिताउँथ्यौं । हिउँदमा पहाडमा निकै जाडो हुन्थ्यो । यसरी पहाड र तराइमा घुमघाम गर्दै मेरो जीवन बितिरहेको थियो । यसै बीचमा मेरो ब्रतबन्ध भयो । त्यसपछि अलिअलि पढ्न थालें । मैले पढ्न शुरु गरेको केही समयपछि बुवा बिदेशबाट फर्कनुभयो । बुवाले गाउँका केटाकेटीलाई जम्मा पारेर पढाउन थाल्नुभयो । त्यो बेला गाउँमा कुनै विद्यालय थिएन । गाउँको छेउछाउमा पनि कही कतै एउटै विद्यालय थिएन ।
मलाई सम्झना छ त्यो बेला म एक्लो हुन्थें । हजुरआमासँगै  धुमधुमती बसिरहन्थें । मलाई खेल्न मेरो उमेरका साथीहरु कोही थिएनन् । यसरी बच्चामा घुलमिल भएर मज्जाले खेल्न नपाएकोले म कम बोल्ने मनमनै कुरा खेलाउने  र सोचेर बस्ने स्वभावको भएँ । यसरी बढी साथीसँग खेल्न र अन्तरक्रिया गर्ने अवसर नपाएर म अन्र्तमूखी भएँ ।


त्यो बेला हामी एक अर्कालाई कथा सुनाउने र सुन्ने पनि गथ्र्यौं । त्यतिबेलाको कथा सुनाउँदा र सुन्दाको मज्जा सम्झँदा मलाई अहिले पनि आनन्द लाग्छ ।
वास्तवमा मेरो बुवाले समूह बनाएर गाउँका केटाकेटी पढाउन थालेदेखि मेरो पढाइ शुरु भएको हो । त्यो बेला मैले संस्कृतको अमरकोष पढें ।
यसरी पढ्दै जाँदा एकदिन बाहिर पढेर आउनुभएका  गाउँले दाइ गाउँमा आउँनु भयो । उहाँले अरुसँग गफ गरेको सुनेर म उहाँदेखि निकै प्रभावित भएँ । त्यसपछि मैले पढ्न बाहिरै जानुपर्दोरहेछ भन्ने सोचें । त्यसपछि त्यो दाइ फर्कने बेलामा बुवाले मलाई तँ पनि उहाँसँगै जान्छस् भनेर सोध्नुभयो । मलाई त ढुंगा खोज्दा देउता मिले झैं भयो । मैले हुन्छ म पनि जान्छु भनें । यसरी म ११ वर्षको उमेरमा ती गाउँले दाइको पछि लागेर बनारस गएँ ।
बनारस पुगेर ऋषिकुल ब्रम्हचर्य आश्रममा मैले संस्कृत पढ्न शुरु गरें । त्यहाँ मैले तीन वर्ष पढें । संस्कृतको प्रारम्भिक ज्ञान मैले त्यही आश्रमबाट लिएँ । त्यसपछि म संस्कृतलाई छोडेर आधुनिक शिक्षातिर लागें । यसरी घरमै मिहिनेतसाथ पढेर मैले प्रविणता प्रमाणपत्र र स्नातक तह पनि उत्तीर्ण गरें । स्नातकसम्म बनारसमा पढिसकेपछि म काठमाडौं आएँ ।


काठमाडौंमा आएर मैले धेरै दुःख गरी पढेर स्नाकोत्तर एम.ए. पनि पास गरें । त्यसपछि झनै दुःख गरी पढेर विद्यावारिधी डाक्टर हुने पढाइ पनि मैले पास गरें । यसरी मिहिनेत गरी धेरै पढेकोले आज मेरो जीवन सुखी भएको छ ।

Photo/Writing by Kartikeya

Literature: 
Language: