प्राज्ञ प्रा. डा. हेमाङ्ग राज अधिकारीको बाल्यकाल

dr.hemang-adhikari

भोजपुर दिङ्गलामा जन्मनुभएका प्राज्ञ प्रा. डा. हेमाङ्ग राज अधिकारी वरिष्ठ भाषाविद् हुनुहुन्छ । नेपाली भाषाको उत्थान र समसामयिक प्रगति र विकासका लागि सक्रिय उहाँले प्रायोगिक नेपाली बृहत् शब्दकोशको पनि सम्पादन गर्नु भएको छ । साथै उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म विविध तहका लागि थुप्रै पाठ्यपुस्तकहरु पनि लेख्नु भएको    छ । यिनै वरिष्ठ व्यक्तित्व अधिकारीको बाल्यकालको रमाइलो संस्मरण यहाँ प्रस्तुत छ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नु हुन्छ

म बालब्रम्हाचारी षडानन्द अधिकारीको वंशज हुँ । षडानन्दले वि.सं.१९३२ मा पाठशाला स्थापना गर्नु भएको    थियो । त्यो बेला जनस्तरमा पाठशाला थिएन । दरबार हाईस्कुल १९१० मा स्थापना भएको त थियो तर त्यो दरवारभित्रै सीमित थियो । १९४० मा मात्र यो स्कुल बाहिर आएको हो ।
मेरो हजुरबुवा र बुवाले पनि त्यही गाउँमै खुलेको पाठशालामा पढाउँनु भएको हो । पहिला बुवाले काठमाडौंको तीनधारा संस्कृत पाठशालामा पढेर पछि दार्जिलिङमा पढाउँनु भएछ । त्यसपछि भने हजुरबुवासँगै बुवाले पनि त्यही पढाउँनु भएछ ।
मेरो बुवाआमा दुवै जना २००६ सालमा बित्नु भयो । त्यो बेला म भर्खर तीन वर्षको थिएँ । हामी दुई भाइ र एउटी दिदी थियौं । म परिवारमा माइलो छोरा हुँ । दाइ पनि हुनुहुन्थ्यो रे तर उहाँ पनि रोगले बित्नु भएछ । जन्मेका चारमा एक भाइ बितेपछि हामी तीनमात्र बाँकी रहेका थियौं । हामी तीनै जनालाई हजुरआमाले हुर्काउँनु भएको हो । हजुरबुवा पनि बितिसक्नु भएको थियो । मेरो पहिलो विद्यालय त्यही षडानन्द संस्कृत पाठशाला हो । त्यो अहिले षडानन्द उच्च मावि भएको छ । प्रारम्भिक शिक्षा त्यही पाठशालामा लिँदा म धूले पाटी र चकटी घरैबाट बोकेर जान्थेँ । अक्षरारम्भ घरमै भएको हो । प्राथमिक शिक्षा घरबाट नजिकै रहेको दश मिनेटमा पुगिने विद्यालयमा पढें । त्यसपछिको पढाइ षडानन्द पाठशालामा पढें । पछि सरकारले त्यसलाई मान्यता दिएपछि त्यो विद्यालय नै भयो । त्यसपछि मैले ढुक्कसँग त्यही पढें । त्यतिबेला त्यो छात्रावाससहितको विद्यालय थियो । म त्यही बसेर पढ्थें । त्यहाँ मैले एघार कक्षासम्म पढेर काठमाडौं आएँ ।
त्यो बेला दिङ्गलाबाट रानी पोखरीको तीनधारा पाठशालामा म पूर्वमा सबैभन्दा बढी नम्बर ल्याएको विद्यार्थीको रुपमा छानिएर म आएको थिएँ । पुतलीसडकस्थित राजकीय संस्कृत महाविद्यालय, हाल शंकरदेव क्याम्पस रहेको छेउमा, अहिले नागरिक लगानी कोष भएको ठाउँमा त्यो विद्यालय थियो । पछि त्यही विद्यालय बाल्मिकी क्याम्पसमा परिवर्तन भयो । यसरी काठमाडौंमा आएर मैले त्यही संसकृत महाविद्यालयमा पढेँ । मैले नेपाली विषयमा एम.ए. गरी नेपाली भाषा विज्ञान विषयमा नेपाली कारक व्याकरण भन्ने शीर्षकमा पिएचडी विद्यावारिधी गरेँ । कारक नेपाली व्याकरणको गाह्रो पक्ष मानिन्छ । त्यो आधुनिक भाषाविज्ञानको अर्थ विज्ञानसँग पनि सम्बन्धित छ ।
अब सानोको कुरा गर्दा घरमा सबै छोरा मान्छे मूली बितेको घरको छोरो थिएा म । बाख्रा हेर्न जाने, गाईबस्तु चराउँने, आली लगाउँने र गरा सम्याउँने सबै काम म गर्दथें । लेक बेसी हिउँद लागेपछि गोठमा जाने र पढ्ने काम गर्दथें । त्यतिबेला म आठ कक्षामा पढ्थें । हिन्दीको किताब पढ्नु पर्दथ्यो । त्यो किताब मैले मेरो ठूलो बुवालाई ल्याइदिनु भनेर भनेँ । उहाँले ल्याइदिनु भएको रहेछ । मलाई त्यो नयाँ किताब कहिले पढूँ, कहिले पढूँ भएको थियो । साँझको बेलामा विशेष लालटिनको व्यवस्था गरेर पढ्ने विचार गरेको थिएँ । धाइआमा गोठमा गाई रुँग्न जाने कुरा थियो । तर त्यो दिन गोठ जाने पालो मेरो परेछ । ला बित्यास प¥यो, लालटिन त घरमै रहने भयो । त्यसपछि मैले त्यो किताब देखिन्जेल जूनको उज्यालोमा पढें र देखिन छाडेपछि पातपतिङ्गर बटुलेर आगो बालें र त्यही उज्यालोमा किताब पढ्न थालें । म किताब पढ्न यति मग्न भएछु कि कति बेला हो अलिअलि हावा लागेर गोठको सेउलामा आगो सल्किएछ । त्यसपछि अरुले हल्लाखल्ला गरेपछि मैले किताब र लुगा त्यही फालेर हतार हतार गाई बाच्छाको दाम्लो फुकाइदिएको थिएँ । पछिसम्म पनि मेरो हातमा गोठ जल्दा पोलेको दाग थियो । यसरी सानैदेखि म पढ्दाखेरी एकदमै ध्यानकेन्द्रित गरेर पढ्ने मान्छे हुँ । हजुरआमाले राम्रोसँग पढ्ने वातावरण बनाइदिनु भएको थियो ।
मेरो भाइ परिवारको उदासीको कारणले गर्दा चौध वर्षको उमेरमा बित्यो । दिदीको १९ वर्षको उमेरमा बिहे भएको थियो । उहाँ पनि बाइस वर्षको उमेरमा बित्नु भयो । साउनको बेला आमा कामको धोपडीले गर्दा बित्नु भयो र त्यसको तीन दिनपछि बुवा पनि आमाको शोकले बित्नु भयो । मेरा आफन्तहरु काकाहरुमात्र बाँकी थिए । तर राजनीतिमा संलग्न भएर होला काकासँग पनि मेरो भेट हुँदैनथ्यो ।
गाउँकै विद्यालयमा आधुनिक विषयहरु प्नि आएपछि मलाई विद्यालय शिक्षा पूरा गर्न सजिलो भएको थियो । म वि.सं २०२३ देखि २०२६ सम्म संस्कृत छात्रावासमा बसें । त्यसपछि बाहिरै बसेर पढेँ ।
मैले वि.सं. २०३० सालदेखि क्याम्पसमा पढाउँन थालेको हुँ । मैले सबैभन्दा पहिला नेपालगन्ज क्याम्पसको शिक्षा शास्त्रमा पढाएँ । त्यसपछि सरुवा भएर कीर्तिपुर क्याम्पसमा आएँ । मेरा तीनवटी छोरीहरु छन् । श्रीमती उषा घिमिरे अधिकारी हुन् । मेरो बिहे भएको ३५ वर्ष भयो । मेरी हजुरआमाको नाम क्षत्र कुमारी अधिकारी हो ।
मैले जीवनमा पहिलो पल्ट परदेश हिडेको प्रवेशिकाको जाँच दिन धरान गएको बेला हो । त्यो बेलाको पनि रोचक प्रसंग छ । त्यति बेला बाटाबाटामा बास बस्दै जानु पर्दथ्यो । त्यतिबेलासम्म मैले कहिले भाडा माझ्ने र पकाउँने काम गरेको थिइन । साथीहरुले खाना बनाए, खाइयो । भाडा माझ्ने पालो मेरो थियो । अँध्यारोमा भाडा माझेँ । भाडा माझ्दा लुगाभरि दाग नै दाग भएछ । साथीहरुको माझमा हाँसोको विषय बन्यो यो कुरा । त्यस्तै जाँच पूरै समूह आएको त्यो बेला सबैले पालैपालो भात पकाउँने शर्त थियो । भात पकाउँने पालो मेरो आयो । सबै सामान साथीहरुले ठीक गरिदिए । भात बसाउँन भाडा हालें । बेला बेलामा आगो झोस्नु पर्ने थियो । आगो झोस्दा र दाउरा धकेल्दा धकेल्दै भा नै पोखियो । ल तिमीले पर्दैन भनेर त्यसपछि साथीले भात पकाउँन दिएनन् ।
त्यही बेलाको कुरा हो, जाँच दिएर फर्कदा बस्नेत थरका साथी भेटाएँ । उनी नून, तेल लिएर भरियासहित हिडे । म पनि ऊ सँगै साँघुरीको उकालो हिडें । तल धारापानी हुँदै तल धनकुटाको हिलेसम्म पुगेर घर पुग्न तीनचार दिन लाग्दथ्यो । बेलुका भएपछि भात पकाउँने कुरा चल्यो । पण्डितको छोरासँगै छ । मैले पकाएको उसले खाँदैन भन्ने ती बस्नेतले सोचेछन् । बाख्रे खोलामा बास बसेर भात पकाउँने सुरसार गर्न थाले । दुईतिरको खोचमा यस्तो हावाहुरी आएको थियो । मैले आगो बाल्न खोजें ज्यान गए बलेन । अनि उनैले ल तिमीले सकनौं भनेर आफै खाना पकाएर खुवाए ।
त्यस्तै अर्को घटना दिदी लिन जाँदाको पनि छ । त्यो दिन फुपूको छोरा र म दिदीलाई लिन भनेर गएका थियौं । गएको दिन फुपूकोमा बसियो र त्यहाँबाट बिहानै हिडियो । दश बजेतिर भोक लाग्यो एउटा घरमा गएर भन्यौं । उनीहरुले कहाँबाट आएका, को हौं भनेर सोध्न थाले । त्यहाँ मैले फुपूको छोरालाई तँ बाहुन हुँ भन म क्षेत्री हुँ भन्छु भनेर सिकाएँ । बल्ल त्यही अनुसार भनेपछि हामीले त्यो दिन भोकै  बस्नु परेन । नत्र त बाहुन भन्दा पाप लाग्छ भनेर अरु जातकाले खानै दिदैनथे ।
मेरो मावली घर भोजपुर हो । मेरो ठूलो बुवाकामा जाँदा त धोती नलगिकन गयो भने भात खान नै पाइदैन थियो । ठूली आमाले लुकाएर दिनु हुन्थ्यो । गाउँमा चिया खाँदा पनि एकदमै जातपात बार्ने चलन थियो । तर मानिसहरु बिस्तारै परदेश बसेर फर्कन थालेपछि खुलापन बढ्दै गयो ।
काठमाडौं आएपछि पनि म भट्टराई साथीसँग बसें । उनको काम भात पकाउँने र मेरो काम तरकारी केलाइदिने हुन्थ्यो । फुर्सद भयो कि किताब समाएर बसिहाल्ने बानी थियो मेरो ।
पढाइमा म त्यति अब्बल थिइन । पाँच कक्षामा गणितमा फेल भएको थिएँ । मैले चार कक्षादेखि डेस्कबेन्चमा बसेर पढ्न पाएको हुँ । त्यो भन्दा अघि फलैचामाथि पलेटी कसेर बसी पढेको हुँ । पाँच कक्षामा फेल भएपछि कक्षा चढ्न पाइन । साथीहरु सबै छुटे । पछि फेरि अर्को जाँच लिएर मलाई पढाइयो । त्यसपछि मैले एकदमै ईख लिएर पढ्न थालें । सात आठ कक्षामा पुग्दा त म प्रथम हुन थालें । पछि नौ दश र प्रवेशिकामा पनि विद्यालय टप भएको थिएँ । त्यही भएर मलाई तीनधारा पाठशाला काठमाडौंमा पढ्ने मौका मिलेको थियो । त्यही मौकाले नै मेरो जीवन बदलिपदयो । त्यसैले हरेक बालबालिकाले सानै छँदैदेखि राम्रोसँग पढ्नु पर्ने रहेछ भन्ने शिक्षा मैले मेरो जीवनबाट सिकेको छु ।
मेरा त्यतिबेलाका मिल्नेसाथीहरु पोषरमण चापागाईं, चेतोनाथ गौतम हुन् । काठमाडौं आएपछिका सहपाठीहरुमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति विदुर पौडेल, नायव बडा गुरुज्यू डा. माधव भट्टराई, सचिव राधेश्याम भट्टराई र अर्का सचिव तुलसी भट्टराई आदि हुन् ।
                                                                                                          प्रस्तुति : कार्तिकेय

Literature: 
Language: