थरीथरीका मिठाइ खान मलाई खूब मज्जा लाग्छ

dr. kedar-karmacharya

डा. केदार कर्माचार्य वरिष्ठ चिकित्सक हुन् । उनी विगत ६० वर्षदखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका छन् । पत्रपत्रिकाहरुमा स्वास्थ्यसम्वन्धी लेखहरु लेखेर जनतामाझमा स्वास्थ्य चेतना फैलाउन समर्पित ८५ वर्षीय डाक्टर कर्माचार्यसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी आफ्नो बाल्यकालको सम्झना यसरी सुनाउँछन्

   मेरो जन्म सर्लाही जिल्लाको सदरमुकाम मंलगवा बजारमा वि.स. १९८७ साल फागुन १० गते भएको हो । त्यतिबेला मेरो गाउँमा विद्यालय थिएन । भारतको दरभंगाका एक जना मास्टरले आएर पढाउँथे । हामी दशजना केटाकेटी जम्मा भएर पढ्थ्यौ । यसरी केही समय पढेपछि म भारतको सीतामढीमा रहेको लक्ष्मी स्कुलमा ६ कक्षामा भर्ना भएँ । मैले त्यहाँ चार वर्षसम्म पढें । त्यसपछि पटना विश्वविद्यालयबाट म्याट्रिक पास गरें । मैले दरभंगाको सिएम कलेजबाट आइ.एस्सी. गरी नेपाल सरकारको छात्रवृत्ति पाएर साढे चार वर्ष मेडिसिन र सर्जरी विषय पढें । यसरी दुःखसाथ पढेको पढाइले गर्दा मलाई विरामी जाँच्न सक्ने डाक्टर बनायो । अनि म आफ्नै गाउँ–ठाउँका विरामी जनताको स्वास्थ्य सेवामा योगदान दिन नेपाल फर्किाएँ । मैले केही समय सर्लाहीमा र त्यसपछि विराटनगर र धरानमा बसी बिरामीहरुको सेवा गरें ।
    वास्तवमा मलाई एकदमै रमाइलो ठाउँ लागेर मैले धरानमा आफ्नो जीवनको धेरै समय बिताएँ । मलाई सानो छँदा बयल गाडामा चढेर १२ घन्टा लगाएर सीतामढी गएको सम्झंदा रमाइलो    लाग्छ । हामी गोरुले तान्ने त्यो गाडामा बेलुका ६ बजे चढेर हिड्थ्यौ र भोलिपल्ट बिहान ६ बजे पुग्ने गथ्र्यौ । कहिलेकाँही  त गाडा बाटोको हिलोमा पांग्रा फसेर रोकिन्थ्यो । खुब दुःख पनि पाइन्थ्यो ।       तर पनि मेरो मनमा जसरी भए पनि पढ्नुपर्छ भन्ने धारणा बलियो थियो । त्यही कारणले गर्दा मैले हार मानिन ।
      मेरो बुवा तबला बजाउन निकै सौखिन हुनुहुन्थ्यो । उहाँले भारतबाट आएका उस्तादलाई तलब दिएर घरमा राख्नुभएको थियो । त्यही बेला मैले पनि संगीतको विभिन्न राग सिकें । म सीतामढीमा पढ्दा साथीहरुलाई त्यो संगीतको राग गाएर सुनाउँथें । उनीहरु खुसी हुन्थे । विद्यालयको सरस्वती पूजामा हारमोनियम बजाएर राग गाउँदा मलाई सबैले निकै हौसला दिन्थे । मेरो साथी तुलसीले तबला बजाउँथ्यो र म हारमोनियम बजाई गाउँथें  ।
वास्तवमा भन्ने हो भने म मिठाइको एकदमै सौखीन मान्छे हुँ । लालमोहन, रसबरी जस्ता थरीथरीका मिठाइ खान मलाई खूब मज्जा लाग्छ । कोही पाहुना आउँदा पनि तिनले मिठाइ लिएर आइदिए हुन्थ्यो जस्तो लाग्छ ।
      अहिले म पूरै समाजसेवा मै  सक्रिय छु । मेरो एउटा छोरा र तीनवटी छोरीहरु छन् । मैले जीवनमा अल्छी नगरीकन खटेर लागेर डाक्टरी काम गरें । बिरामीहरुको सेवा गरें । मलाई लाग्छ आफ्नो काममा इमान्दार भएर मिहिनेत गर्नुपर्छ ।
अरुको प्रतिभाको कदर गरी प्रतिभाशाली मान्छेलाई सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यही कुरालाई व्यवहारमा पनि उतारौ भन्ने आव्हान् सहित मैलै जनआन्दोलनका घाइतेलाई उपचार गर्ने अमेरिकी डाक्टर ब्रान, एसएलसी २०६२ को छात्रातर्फ उत्कृष्ट विद्यार्थी अन्जना राजबंशी, इन्डियन आइडल प्रशान्त तामाङ लगायतलाई आफूले सकेको अभिनन्दन गरें ।
मलाई लाग्छ मानिसले पूजाआजामा अक्षता छर्किएर घन्टौं बिताएर धर्म  हुँदैन । जसले गरिब दुःखी र असहाय मानिसहरुलाई आफूले सकेको सेवा गर्छ त्यही नै धर्म हो । त्यसैले मैले जानेको स्वास्थ्य सेवाका माध्यमले यही धर्ममा जोड दिएको छु । यसरी मानिस भएर मानिसको सेवा गर्न पाउँदा म एकदमै खुसी छु । मलाई जीवनको मज्जा नै यसैमा छ भन्ने लागेको छ ।

Literature: 
Language: