जनकवि दुर्गालाल राष्ट्रिय बालसाहित्य पुरस्कार कल्पना र कवितारामलाई प्रदान गरियो

clfn-program-2017

काठमाडौं, फागुन १४ गते

फूलको आँखामा फुलै संसार ... चर्चित गीतका सर्जक एवम् नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको सम्मानमा बालसाहित्य प्रतिष्ठान नेपालद्धारा स्थापित जनकवि दुर्गालाल श्रेष्ठ राष्ट्रिय बालसाहित्य पुरस्कार वरिष्ठ बालसाहित्य लेखकहरु कल्पना प्रधान र कविताराम श्रेष्ठलाई प्रदान गरिएको छ । 

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहबीच नेपाल भाषा एकेडेमीका कुलपनि चित्तरञ्जन नेपालीले वर्ष ०७२ का लागि कल्पना प्रधानलाई र ०७३ का लागि कवितारामलाई उक्त पुरस्कार नगद रु दश हजार पाँच र ताम्रपत्रसहित प्रदान गर्नुभयो । बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकवि दुर्गालालका विषयमा मल्ल के सुन्दर र पुरस्कृत व्यक्तित्वबारे सुरेश किरणले बोल्नुभएको थियो । समारोहमा डा. कवितारामले संकलन गर्नुभएका १२७ नेपाली लेखकको आफ्नै हस्ताक्षरमा तयार भएको पुस्तक १२७ हस्ताक्षरको पनि विमोचन गरिएको थियो । उक्त कृतिका विषयमा समीक्षक महेश क्षितिजले समीक्षा गर्नु भएको थियो । कार्यक्रममा कृतिका संकलक कवितारामलाई रु दश हजार संकलनको पारिश्रमिक पनि प्रदान गरिएको थियो । साथै उक्त अवसरमा कवितारामले यस अघि नै प्राप्त गर्नुभएको देवकुमारी थापा वनिता बालसाहित्य पुरस्कार पनि हस्तान्तरण गरिएको थियो । कवितारामले उक्त सम्पूर्ण रकम गरी तीस हजार रकम कविताराम पुरस्कार कोषका सचिव श्रीकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । 

जनकवि दुर्गालाल श्रेष्ठ लिखित, आनी छोइङ डोल्माले गाउनुभएको र न्हयु बज्राचार्यले संगीत गर्नुभएको गीत फूलको आँखाका फुलै संसारको भाकामा सुमधुर बाँसुरी बादन, बाँसुरीको मीठो धून क्रान्ति ढकालले सुनाउनु भएर उद्घाटन गरिएको समारोहमा लेबोरेटरी उच्च मावि, कीर्तिपुरमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरु र क्यामेलिया स्कुल, कालिमाटी, काठमाडौंमा अध्ययनरत बालबालिकाहरुले गायनकला प्रस्तुत गरेका थिए भने ब्राइट फ्युचर हाईस्कुल, नैकाप, काठमाडौंमा अध्ययनरत बालबालिकाहरुले सयथरी बाजा एउटै ताल बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

बालसाहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ लेखकहरु परशु प्रधान, माया ठकुरी, लक्ष्मी उप्रेती, वरिष्ठ संगीतकार न्हयु बज्राचार्य र रमेश सुवेदीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका प्रकाशन विभाग संयोजक रश्मी खागीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको यस समारोह सफल बनाउन बुकआर्ट नेपाल प्रकाशन, ब्राइट फ्युचर हाईस्कुल, क्यामेलिया उच्च मावि, जलरिका साहित्य सेवा, केटाकेटी मिडिया र  केटाकेटी अनलाइन डिजिटल पत्रिकाले सघाएका थिए । 

Segment: 
Language: