नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाली बालसाहित्य बारे छलफल र भविष्यको बाटो

 गत असार १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान (नेप्रप्र) मा बालसाहित्य बारे छलफल भयो ।  ‘बालसाहित्य सृजन र पठन संस्कृतिको विकास विषयक’ विचार गोष्ठी साहित्य (लोकवार्ता र बालसाहित्य विभाग), नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको थियो । कार्यक्रममा ‘बालबालिकामा पठन संस्कृतिको विकास’ विषयमा डा. रमेश प्रसाद भट्टराई र ‘बालकविता ः सृजन, सम्पादन र प्रकाशन’ विषयमा डा. महादेव अवस्थीले गोष्ठी पत्र प्रस्तुत गरेका थिए । गोष्ठी पत्रमाथि क्रमशः साहित्यकार रञ्जुश्री पराजुली र प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । वरिष्ठ विद्वान एवं नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुको सभापतित्वमा सम्पन्न कार्यक्रम बालसाहित्यका वरिष्ठ अगुवा शान्तदास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेप्रप्रका कुलपति गङ्गा प्रसाद उप्रेती, उपकुलपति डा. विष्णु विभु घिमिरे, सदस्य सचिव डा. जीवेन्द्र देव गिरी, पूर्व कुलपति वैरागी काइँला विशेष अतिथिका रुपमा रहेका थिए । साथै कार्यक्रममा प्राज्ञ प्रा. डा. हेमाङ्ग राज अधिकारी, प्राज्ञ श्रवण मुकारुङ, नेपाल बालसाहित्य समाजका अध्यक्ष भिक्टर प्रधान,  बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष विनय कसजू, बालसाहित्य लेखकहरु लक्ष्मी उप्रेती, विजयराज आचार्य, गङ्गा कसजू, महेश पौड्याल, गङ्गा पौडेल, शान्ति सापकोटा, वैरागी जेठा, शशी चालिसे, मञ्जु ज्ञवाली लगायत बालसाहित्यमा कलम चलाइरहेका प्रतिनिधि लेखकहरुको उपस्थिति रहेको थियो ।

वास्तवमा यो भेला नेपाली बालसाहित्यको गुणस्तरमाथि चिन्ता व्यक्त गर्दै भएको एउटा राम्रो कार्यक्रम बन्न पुग्यो । गोष्ठी पत्र प्रस्तोता द्वय भट्टराई र अवस्थीले  प्रस्तुत गरेका पत्रहरु आफ्नो विषयगत मुद्दा उठान गर्न सफल रहे । ती पत्रहरुमै टेकेर उक्त कार्यक्रममा बालसाहित्यको स्तर विकासका लागि अग्रजहरुबाट चिन्ता व्यक्त गरिनु सुखद सुरुवात हो । यस गोष्ठीलाई बालसाहित्यको गुणस्तर विकासका लागि प्रज्ञा प्रतिष्ठानको राम्रो पहलका रुपमा हेरिनु राम्रो हुने छ । जसका लागि नेप्रप्रमा बालसाहित्य विभाग प्रमुख प्राज्ञ नर्मदेश्वरी सत्याल र उक्त विभागसँग सम्बन्धित टिमलाई धन्यवाद   छ । साथै विगत तिन चार दशक यतादेखि लेखिएका बालसाहित्यको अध्ययन, अनुसन्धान र विश्लेषण सही ढङ्गले हुन नसकिरहेको सन्दर्भलाई आत्मसात् गरेर विद्वान प्रमोद प्रधानको टिप्पणीले यस क्षेत्रमा गर्नु पर्ने काम धेरै बाँकी रहेको तर्फ संकेत गरेको छ । वास्तवमा वर्तमान बालसाहित्य लेखनलाई सतही रुपमा हेरेर यसका विषयमा टिप्पणी गर्न नहुने आशयको प्रधानको तर्क र सगरमाथा हिमाल चढेकाले मात्र हिमाल चढ्न सिकाउन अग्रसर हुनु पर्छ नचढेकाले सुझावमात्र दिनु पर्छ भन्ने वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको अभिव्यक्तिले यस क्षेत्रमै समर्पित भई कलम चलाएर मात्र यस क्षेत्रको विधागत लेखन प्रति केही लेखौं र बोलौं भन्ने आशयको भनाइ पनि सारगर्भित रहेको थियो । साथै शान्तदासज्यूको विचार बालसाहित्य लेखकले कुन उमेर समूहका लागि लेख्दै छु भन्ने कुरामा ख्याल राख्नु पर्ने तर्फ संकेत गर्दै लेखकले कसका लागि लुगा सिलाउँदै छु त्यो विचार गर्नु पर्ने विचार व्यक्त भएको थियो । साथै उहाँले बालबालिकाको रुचि र विचार बुझिनु पर्ने तर्फ संकेत गर्दै घरमा आज के खाने कुरा पकाऊँ भनेर बालबालिकाको राय नलिइने गरेको प्रसङ्गको उठान गरेको थियो ।

हो, यही कुराको सन्दर्भमा रहेर नेपाल बालसाहित्य समाजका अध्यक्ष भिक्टर प्रधानको बेस्ट बुक अफ दि इयर छान्ने परम्पराको अब शुरुवात गर्नु पर्छ भन्ने विचारसँग सहमत हुँदै यहाँनिर केही कुराहरु राख्नु मैले सान्दर्भिक हुने ठानेको छु, 

वास्तवमा लेखिएका कृतिको गुणस्तरको कुरा जब हामी गर्र्छौ तब नेपाली साहित्यमा पनि चर्चा भन्दा बाहिर रहेर पनि पाठकको प्रिय बनेका थुप्रै कृतिहरु हामी देख्छौं । ती कृतिले पाठकको अभिमतमा त राम्रो प्रतिक्रिया पाएका छन् तर चल्तिका पुरस्कारको दौडमा नपरेर ती कृति भीडमा हराए र थोरै पाठकसम्म मात्र पुग्न सफल भए । विचार, गुट र पुरस्कारले लेखकलाई माथि उठाउने नेपाली साहित्यको चलन पुरानो होइन । तर केही नकारात्मक कुराहरु हुँदा हुँदै पनि नेपाली साहित्य लेखनका हिसावले अहिले उर्बर कालखण्डमा रहेको छ । जसलाई हामीले प्रसंशा गर्नु पर्छ । हो, त्यस्तै अवस्था बालसाहित्यका क्षेत्रमा ल्याउन हामीले यस क्षेत्रमा समर्पित लेखकहरु तयार गर्न सक्नु पर्छ । ती लेखकलाई सिक्ने मौका दिन विचार, गुट र व्यक्तिगत सम्पर्क जस्ता झिना मसिना बाधाहरुका माझमा पनि हामी चुक्नु हुँदैन ।

गोष्ठीमा विद्वान प्रमोद प्रधानले भने जस्तै ‘केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले किनिदिएर प्रशस्त लेखिएको, छापिएको र धेरै बिकेको देखिएको’ नेपाली बालसाहित्य, वास्तवमा सही पाठकको परीक्षणमा त पुग्न सकेकै छैन । 

नेपाली बालबालिकाको जनजीवनको जीवन्त चित्रण उतार्न सफल नेपाली बालसाहित्यका कृतिहरु अहिले सम्म एकदमै कम प्रकाशित छन् । मलाई लाग्छ जबसम्म हामीले बढी भन्दा बढी नेपाली बालबालिकाहरुको जीवन्त कथामा आधारित, कल्पनामा उडाउने कथाका, विज्ञान, मिथ, इतिहास, भूगोल भित्र लुकेका रहस्यमयी कथाहरुलाई आख्यान साहित्यको दरो पुस्तकका रुपमा बालबालिका माझमा पस्कन सक्दैनौँ, तबसम्म बालसाहित्यले नेपाली पाठक माझमा धक्का दिएर चर्चा आर्जन गर्न सक्दैन । किनकि आज बजारको बिडम्वना त डा. चूडामणि बन्धुले भन्नु भए झैं तितो छ, आज बालबालिकाहरु बयस्कका लागि लेखिएका कृतिहरु पढिरहेका छन् । ती कृतिले उनीहरुको स्वस्थ विकासमा पक्कै बाधा पुर्याउने नै छ । यस तर्फ सबै सचेत हुनु जरुरी छ । त्यसैले बालसाहित्यको गुणस्तरको चर्चा उठिरहेको यस सन्दर्भ नेपाल प्रज्ञा प्रतिष्ठानले यी काम गर्न सक्यो भने सुनमा सुगन्ध हुने छ,

१. बालआख्यान लेखनका लागि हरेक वर्ष पाँच जना लेखकलाई मात्र भए नि विद्धतवृत्ति दिएर यस क्षेत्रमा काम शुरु गरि हाल्ने ।

२. पुस्तक पठन संस्कृतिलाई प्रोत्साहित गर्न अन्य संघसंस्थासँग सहकार्य गरी धेरै किताब पढ्ने बालबालिकालाई अभिभावकसहित विभिन्न टुर प्याकेज दिने कार्यक्रम ल्याउने । यस कार्यका लागि अमेरिकी सरकारले सरकारी स्तरबाट आयोजना गर्ने ‘बेटल अफ बुक्स’ को अवधारणालाई आत्मसात गरी हाललाई एउटा क्षेत्रबाट शुरुवात गर्न सकिन्छ । जसका लागि प्रतिष्ठानले थोरै बजेट छुट्याएर हरेक प्राज्ञले महिनाको पाँच दिनको तलब दिने गरी शुरु गरेर विभिन्न साहित्यकार, समाजसेवी, उद्धोगी, विदेशमा बस्ने नेपाली आदिबाट प्रशस्त रकम र कार्यक्रमसँग मिल्दो अन्य सहयोग जुटाएर यो कायक्रमलाई भब्य रुपमा गर्न प्रतिष्ठान अग्रसर हुनु पर्ने देखिन्छ । जसका लागि नेपाल बालसाहित्य समाज, बाल वाङ्गमय तथा अनुसन्धान केन्द्र, बालसाहित्य प्रतिष्ठान नेपाल आदि यस क्षेत्रमा लागेका संस्थाहरुले प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न तयार नै हुने छन् भन्ने आशा गर्न सकिन्छ । 

३. प्रज्ञा प्रतिष्ठानको बालसाहित्य विभागले बालसाहित्य डेस्कको स्थापना गर्ने । जहाँ बालसाहित्यका देशभरिबाट प्रकाशित हरेक कृति बुझाउन आब्हान गर्ने र ती जम्मा भएका कृतिको सूची तयार गरी पुस्तकको पाठकको तह अनुसारको वर्गिकरण गरिदिने । जस्तै, प्राथमिक तहका लागि, निमावि तहका लाग र मावि तहका लागि वा उमेर अनुसार पनि भन्न सकिने भयो । यसरी एक दुई वर्ष काम शुरु गरे पछि वर्षका उत्कृष्ट कृतहरुको सूची निकाल्ने तर्फ अगाडि बढ्ने । अहिले बालबालिकाको अधिकारका लागि धेरै कुरा उठिरहेको सन्दर्भमा एउटा बच्चा मष्तिष्कबाट निर्देशित हुने भएकाले उसले उमेर अनुसारको असल साहित्य पढेर हुर्कन पाउनु उसको नैसर्गिक अधिकार हो र उसले अभिभावकले पनि कुन किताब उपयोगी छ भनेर जानकारी प्राप्त गर्न पाउनु पनि उनीहरुको अधिकार हो । तसर्थ यसका बालअधिकारको क्षेत्रमा काम गरिरहेका संस्थाहरुको पनि लागि पनि यो महत्वपूर्ण मुद्दा हो । अतः यसका लागि प्रतिष्ठानमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुसँग पनि सहकार्य गरी अघि बढ्न सक्ने बालसाहित्य विभागको टिम हुनु जरुरी छ ।

अन्त्यमा, बालसाहित्य यस्तो उस्तो भनेर त भन्न सहज छ । तर जबसम्म हामीले हाम्रा बालबालिकालाई नै पाठकको रुपमा तयार गर्न सक्दैनौँ तबसम्म पुस्तक लेखेर नै जीविकोपार्जन गर्न सक्ने लेखकको अवस्था रहँदैन । जसले लेखकको यस क्षेत्र प्रतिको समर्पण र व्यवसायिकतामा ह्रास ल्याउँदछ । तसर्थ पुस्तक पठन संस्कृतिको विकासका लागि संयुक्त रुपमा व्यापक प्रयास हुनु नै आजको अनिवार्य आवश्यकता हो, यस तर्फ सबैको ध्यान जाओस् ।

Segment: 
Language: