जोखिममा रहेका सबै बालबालिकाहरुलाई परिवारको माया दिन चाहन्छु

freema-davis-director-global-family-village

फिमा डेविज नेपालमा अनाथ बालबालिका र गरीब दु्ःखी महिलाहरुका निम्ति काम गर्ने उद्देश्यका साथ स्थापित गैरसरकारी संस्था ग्लोबल फेम्ली भिलेजकी निर्देशक हुन् । यस संस्थाको मुख्य कार्यालय अमेरिकामा रहेको छ । उनले अन्य विभिन्न संस्थामा रहेर विगत १६ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेकी छिन् । नेपाली बालबालिकाहरुलाई एकदमै माया गर्ने समाजसेवी दिदी डेविजसँग यस अंकमा हामीले उनको बाल्यकाल र उनको संस्थाको लक्ष्य र उद्देश्यवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछिन् आफ्नो अनुभवः



म अहिले ६८ वर्षकी भएँ । मेरो जन्म क्यानडामा भएको हो । मैले निकै खुसीसाथ बाल्यकाल बिताएकी हुँ । मलाई आफ्नो बाल्यकाल सम्झँदा निकै मज्जा लाग्छ । मेरो बुवा उद्योगपति हुनुहुन्थ्यो । आमा घरको काममै रमाउँनुहुन्थ्यो । मेरो भाइ र म निकै मिल्ने साथी थियौं । ऊ मेरो विद्यालय जिवनको असल साथी हो ।
    मैले शिक्षक बन्ने लक्ष्यसाथ मोनोट्रल कलेजबाट स्नातक गरेकी हुँ । मलाई चित्रकलामा गहिरो रुचि छ । यही रुचिले गर्दा जव म क्यालिफोर्निया गएँ । त्यहाँ मैले आर्ट विषय मै स्नातकोत्तर गरें ।


  वास्तवमा म एउटी शिक्षिका हुँ । मलाई केटाकेटीलाई पढाउँन खूब मज्जा लाग्छ ।


  शुरुमा पहिलो पल्ट म मेरी छोरीसँग नेपाल आएकी थिएँ । त्यतिबेला हामी हिमाल चढ्न नेपाल आएका थियौं । त्यो बेला मलाई नेपालको सुन्दरता र नेपालीहरुको मायालु व्यवहारले आकर्षित ग¥यो । म यति प्रभावित भएँ कि मैले धेरै सफलता प्राप्त गर्दा पनि पाउन नसकेको शान्ति र खुसी नेपालमा पाएँ । हो, त्यही प्रभावले गर्दा त्यही समय देखि नै म नेपाल मै बस्दै आइरहेकी छु ।


   मैले यहाँ जेलमा आश्रित बालबालिका, अनाथ बालबालिका, सडक बालबालिका र दुःख पाएका महिलाहरुको उन्नतिका लागि काम गर्ने मौका पाएँ । म आफूले सके जति गरिरहेकी छु । मलाई लाग्छ हरेक बालबालिकाहरुले परिवार मै हुर्कन पाउँनुपर्छ । उनीहरुलाई हामीले यो मौका दिन सक्नुपर्छ । यो वातावरण मिलाउँने काम हामीहरुको हो । वास्तवमा ग्लोवल फेम्ली भिलेजको मुख्य लक्ष्य नै यही हो । हामी अनाथ बालबालिकाहरुलाई समाजसँग घुलमिल हुन मौका दिने अभियानमा लागेका छौं । साथै हाम्रो कार्यक्रमले गरिबीले र अवहेलित भई त्यागिएका आमाहरुलाई पनि परिवारमा समेट्नेछ । उहाँहरुलाई ममता बाँड्ने अवसर आश्रयको छत दुबै हाम्रो कार्यक्रमले प्रदान गर्नेछ । यसले एकातिर अनाथ बालबालिकाहरुको मातापिताको ममता प्राप्त गर्छन् र अर्कोतिर आमाहरुले छोराछोरीको तृष्णा मेट्नेछन् भन्ने मलाई लागेको छ ।


  स्पष्ट रुपमा भन्नु पर्दा म अनाथ बालबलिकाहरुलाई खुसी र स्वस्थ बालापन दिन चाहन्छु । त्यो पनि एउटा घर र परिवार सँगसँगै । यही नै हाम्रो लक्ष्य हो । हरेक परिवारको ग्लोवल फेम्ली भिलेजको धारणा हो । जस अनुसार एउटा परिवारको गाउँमा चालीस जना बालबालिकाहरु, चार जना आया दिदीहरु र चारजना हजूरआमाहरु रहन्छन् । स्याहार गर्ने दिदीहरुको साथमा परिवारबाट अवहेलित भई आश्रयको खोजीमा रहेका बूढाबूढीहरुले पनि यस गाउँमा आई हजुरबुवा र आमा भई बस्न पाउँनेछन् । 


   हामीले साना नानीहरुलाई खेलाएर रमाउँदै पढ्न सिकाउँने हो । यही कुरा १६ वर्ष अघि बालसंसार प्राविबाट मैले शुरु गरेकी थिएँ । त्यस्तै आज हामीले बिर्सन नहुने कुरा केहो भने अहिले धेरै बालबालिका जोखिममा छन् । त्यसैले हामीले तिनलाई घर फर्काएर वा परिवारको वातावरण दिने बालगृहमा राखेर तिनको बालअधिकारको संरक्षण गर्नुपर्छ । म ती बालबालिकाहरुलाई सहयोग गर्न चाहन्छु । हरेक बालबालिकाले परिवारमा हुर्कन पाउँनु उनीहरुको सबैभन्दा ठूलो बालअधिकार हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन भन्ने मलाई लाग्दछ ।

                                                                                                           By Santoshi Gautam

Literature: 
Opinion: 
Language: