अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्री भन्नु हुन्छ ...

geeta-khatri-usa
अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री, अमेरिकामै बसोबास गरीरहनु भएकी उहाँ गीत लेखन र नेपाली साहित्यको विकासका लागि समर्पित हुनुहुन्छ । उहाँले कथा, कविता र निवन्ध विधामा पनि रचनाहरु सिर्जना गर्नुभएको छ ।

उहाँको गीतमा मूलतः नेपाली चाँडपर्व र संस्कृतिको मनोरम पक्षलाई रोचक ढंगले प्रस्तुत गरिएको हुन्छ । उहाँको ३ वटा पुस्तककार कृति र एउटा गीति एल्बम प्रकाशित भएको छ ।
– म सानोमा पनि लिडर थिएँ । साथीहरुको समूह बनाएर भैलो खेली बटुलेको पैसाले पिकनिक आयोजना गरी गाउँभरिका बुवाआमा र हजुरबा हजुरआमाहरुलाई बोलाएर खिर खुवाउने गर्दथें ।
– मानिसले विवादमा अल्झिएर समय त्यसै खेर फाल्नुको साटो त्यस समय र उर्जालाई सिर्जनशील र सकारात्मक कामका लागि प्रयोग गर्नुपर्छ भन्ने मेरो जीवनको दर्शन हो ।
– मैले विद्यालय जीवन निकै दुःखसाथ बिताएँ । कक्षा ४ मा पुगेपछि मेरो पढाइ ४ वर्ष रोकियो । त्यसपछि मैले घरमै मिहिनेत गरी पढेर लक्ष्मी माली मिसले लिनुभएको इन्र्टान्स परीक्षा पास गरी एकैपल्ट कक्षा ८ मा भर्ना हुन पाएँ । त्यसपछि स्नातकसम्म मेरो पढाइ निरन्तर अघि बढ्यो ।
– म सानैदेखि कविता लेख्थें । कविता लेखेर मोटो कभर भएको कुट कपि पुरस्कार पाउँदा म दंग पर्थें । म्याथ र इंगलिसमा म राम्रो विद्यार्थी थिएँ तर नेपाली विषय कमजोर थियो । एकदिन एउटा साथीले तलाईं नेपाली आउदैन भनेर होच्यायो, त्यसपछि त मैले एकदमै मिहिनेत गरी पढें अनि मेरो नेपाली विषयको पढाइ पनि राम्रो भयो । पछि त म त्यो साथीभन्दा जान्ने भएँ ।
– बालबालिकाको गहना अनुशासन हो । कतिपय अवस्थामा अमेरिकामा बालबालिकाले बढी स्वतन्त्रता पाउँदा बिग्रने पीडा पनि अहिले बढ्दै गएको देखिन्छ । साथै शिक्षकले र आमाबुवालेसमेत दबाब दिएर पढाउन नसक्ने परिस्थिति रहँदा हाइस्कुल पास गरी उच्च शिक्षा अर्थात् कलेज पढ्न नसक्ने बालबालिकाको संख्या पनि बढ्दै गएको होकि भन्ने मैले महसुस गरेको छु । त्यसैले मलाई के लाग्छ भने बालबालिकालाई जतिसक्यो थोरै पाठ्यपुस्तकको भारी बोकाएर, माया दिदै दबाब पनि दिँदै यो दुबैबीच सन्तुलन गरी शिक्षा दिन सके उनीहरुको पढाइ राम्रो हुनसक्छ भन्ने मलाई लाग्दछ ।
– अहिले मेरो जीवनको एक मात्र लक्ष्य साहित्यको सेवा गर्नु हो र नेपाली साहित्यको विकास गर्नु र यसलाई विश्वभरि फैलाउन अनेसासका ७५ वटै शाख अहिले विश्वभरि सक्रिय रहेका छन् । त्यसका लागि नेतृत्व गर्ने जिम्बेवारी यो पटक मैले पाएको छु । यस जिम्बेवारीलाई म कुशलतापूर्वक निभाउँछु भन्ने कुरामा म विश्वस्त रहेको छु ।

Literature: 
Language: