असमकी वरिष्ठ लेखिका गीता उपाध्याय

gita-upadhya-asam-india

सुश्री गीता उपाध्याय नेपाली र आसामी भाषामा साहित्य रचना गर्ने भारतीय बालसाहित्य लेखिका हुनुहुन्छ । उहाँको जन्म १४ फरबरी सन् १९३९ मा असम राज्यको शोणितपुर जिल्लामा भएको हो । उहाँ पिता टंकनाथ उपाध्याय र माता भागिरथी उपाध्यायकी सुपुत्री हुनुहुन्छ । असमको शिव सागर कलेजमा अध्यापन गर्नु हुने लेखिका उपाध्याय सन् १९६६ मा त्यस कलेजको विभाग प्रमुखसमेत रही उहाँ सन् १९९९ मा सेवामुक्त हुनु भयो । उहाँ असममा नै स्नातक उतीर्ण गर्ने नेपाली मूलकी पहिलो महिला हुनुहुन्छ । उहाँले गुवाहाटी विश्व विद्यालयबाट सन् १९६४ मा राजनीति शास्त्रमा स्नात्तकोत्तर गर्नु भएको हो ।

एन फ्रान्कको डायरी नामक विश्वप्रसिद्ध पुस्तक अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी कुशल अनुवादककोसमेत परिचय बनाउनु भएकी वरिष्ठ लेखिका उपाध्यायको उक्त कृतिको काठमाडौँ संस्करण बुकआर्ट नेपाल प्रकाशन, कुलेश्वर, काठमाडौँबाट प्रकाशित हुने भएको छ । उहाँ अहिले नेपाली बालकथाहरुको असमी भाषा संस्करण प्रकाशन गर्न त्यसको अनुवाद कार्यमा सक्रिय हुनुहुन्छ । 

वरिष्ठ लेखिका उपाध्यायको नेपाली र असमी भाषामा गरी सातवटा विभिन्न विधाका मौलिक कृतिहरु र पाँचवटा अनुदित कृतिहरु प्रकाशित भएका छन् । उहाँको सम्पादनमा आधा दर्जन कृति प्रकाशित छन् । उहाँले रामायण, मुनामदन जस्ता कृतिहरुलाई असमी भाषामा अनुवाद गर्नु भएको छ । 

साहित्य लेखन र नेपाली साहित्यको विकासका लागि सक्रिय लेखिका उपाध्याय नेपाली साहित्य परिषद, असम लेखिका संघ, भारतीय गोरखा परि संघ, असम शाखा, असम साहित्य सभा आदि संघसंस्थामा संलग्न हुनुहुन्छ । उहाँले नेपाल, वेलायत, जर्मनी, स्कटलैन्ड, अमेरिका, अस्ट्रेलिया, हलैन्ड आदि देशहरुको भ्रमण गर्नु भएको छ । भाषा साहित्यको उत्कृष्ट सेवा गरे वापत लेखिका उपाध्यायले पद्म प्रसाद ढुंगाना पुरस्कार, असम सरकारको साहित्यिक पेन्सन, डा. नीलिमा दत्त अनुवाद पुरस्कार, पारिजात मितेरी नेपाल साहित्य सम्मान आदि जस्ता प्रतिष्ठित पुरस्कार र सम्मानहरु प्राप्त गर्नु भएको छ । प्रस्तुति : कार्तिकेय  

Directory: 
Language: