जीवनी लेखनमै जिन्दगी बिताउने छु : गोपाल पराजुली

gopal-parajuli-ketaketionline

भमरकोट, काभ्रेमा वि. सं. २००२ साल ज्येष्ठ ९ गते जन्मनुभएका वरिष्ठ बाल साहित्यकार गोपाल पराजुली बालजीवनी लेखक हुनुहुन्छ । उहाँले हालसम्म ५ सय जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जीवनी लेखिसक्नु भएको छ । ती मध्ये २ सय जनाको जीवनी विभिन्न कृतिमा प्रकाशित भइसकेका छन् । उहाँका प्रकाशित कृतिहरु केही राष्ट्रिय विभूतिहरु भाग १, २ र ३, पाँच प्रसिध्द वैज्ञानिकहरुको जीवनी, हाम्रा प्रसिध्द साहित्यकार भाग १, २, ३, ४, ५ र ६, नानीको बानी (बालनिबन्ध), रुपको साहस (बालकथा), एकदिनको यात्रा (बालउपन्यास), समयका डोबहरु (कविता), नेसनल हिरोज अफ नेपाल, पच्चिस प्रतिभा भाग १, २, ३, ४, ५, ६ र ७ र लिटरेर आइक्यान अफ नेपाल भाग १ र २ रहेका   छन् । 

लेखक पराजुली बालसाहित्य प्रतिष्ठान नेपालबाट अभिनन्दित लेखक हुनुहुन्छ । उहाँले राष्ट्रिय बाल पुरस्कार, २०४३ र २०४८, अन्तर्राष्ट्रिय बालवर्ष बालकथा पुरस्कार, सन् १९९०, बालहितकारी पुरस्कार २०५७, बालसाहित्य पुरस्कार, शिशु सेवा सदन, २०५९, रत्न बालकोष सम्मान २०५८, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट उत्कृष्ट बालसाहित्य पुरस्कार २०७०, किशोर साहित्य विशिष्ट सम्मान, २०७० (गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषका निमित्त केटाकेटी मिडियाबाट) लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गर्नु भएको छ ।

वरिष्ठ लेखक पराजुलीसँग केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. अहिले के गर्दै हुनुहुन्छ ?

म अहिले २५ प्रतिभा जीवनी सङ्ग्रह भाग ८ को तयारी गर्दै छु । धेरै काम सकिसकेको छ । यो किताब चाँडै बजारमा आउँदै छ । यो किताबमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गरेका २५ जना प्रतिभाहरुको जीवनी रहने छ ।

भर्खरै मेरो लिटरेरी आइक्यान अफ नेपाल, भाग १ कृति प्रकाशित भएको छ । यसमा ५० जना साहित्यकारको जीवनी अङ्ग्रेजी भाषामा रहेको छ । थप ५० जना साहित्यकारहरुको जीवनी रहेको लिचरेरी आइक्यान अफ नेपाल भाग २ पनि छिट्टै प्रकाशित हुँदै छ । यो दुवै कृति रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो । चन्द्र गुरुङको अनुवाद र महेश पौड्यालको सम्पादनमा दुवै कृति तयार भएको   हो ।

२. जीवनी मात्र लेख्नु हुन्छ, यसको खास केही कारण छ कि ?

म वि. सं. २०१८ सालमा महात्मा गान्धीको जीवनीको किताब पढेर ज्यादै प्रभावित भएको थिएँ । हाम्रा असल मान्छेलाई पनि बालबालिकामाझमा यसरी नै चिनाउनु पर्छ भनेर म त्यतिबेला नै प्रभावित भएको थिएँ । यही प्रेरणाबाट अलिअलि जीवनी लेख्दै गएको थिएँ । यसैक्रममा वि. सं. २०६० सालमा एउटा विद्यालयमा प्रमुख अतिथि भएर जाने मौका मिल्यो । त्यहाँ बालबालिकासँग अन्तरक्रिया गरेँ । बालबालिकाहरु धेरैले कस्तो बन्ने भन्दा ठुलो मान्छे बन्ने भने । को जस्तो बन्ने भन्दा चलचित्रका कलाकारको मात्र नाम लिए । धेरैले साहित्यकारलाई चिनेकै रहेनछन् । यो कुरा प्रिन्सिपललाई पनि सुनाएँ । उनले पनि नेपाली व्यक्तित्वको जीवनीको किताबको कमी रहेको गुनासो गरे । त्यसपछि म पुरै यही क्षेत्रमा खटेर लागेँ । यो कामले मलाई हौसला पनि दिएको छ । राम्रो काम गरेर मरेर गएकाहरुलाई समाजमा चिनाउन पाएको छु । समाजले पनि मलाई माया र पुरस्कार पनि दिइरहेको छ । भविष्यमा पनि मैले आफ्नो सम्पूर्ण शक्ति यही काममै लगाउने छु । जीवनी लेखनमै जिन्दगी बिताउने छु ।

३. तपाईंले लेख्नु भएको जीवनीको किताब बालबालिकाले किन पढ्नु पर्छ ? 

एउटा  बच्चाले जीवनमा भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा र  बालकृष्ण सम जस्तो बन्छु भनेर कल्पना गर्यो भने उसले सपना देख्न थाल्छ र उसलाई यसबाट प्रेरणा मिल्छ । भानुभक्तलाई पनि घाँसीले प्रेरणा दिएको थियो । त्यसैले जीवनमा अघि बढ्न हौसला र प्रेरणा गर्न बालबालिकाहरुले बढी भन्दा बढी जीवनीहरु पढ्नु पर्छ भन्ने मलाई लाग्दछ ।

                                     लेखक सम्पर्क 

                                   गोपाल पराजुली

                              मिलनचोक, बानेश्वर, काठमाडौँ । 

                          इमेल : parajuligopal3@gmail.com

                        घरको नं. ९७७ ०१ ४४९४४१२

Opinion: 
Language: