गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार ‘छाउघर’ लाई प्रदान गरिने

chau-ghar-raj-sargam-book-073

काठमाडौं, कार्तिक २९ । आदरणीय लेखक गोविन्द बहादुर मल्ल ‘गोठाले’ को स्मृतिमा वरिष्ठ साहित्यकार एवम् समाजसेवी जलेश्वरी श्रेष्ठज्यूले दुई लाखको अक्षयकोश स्थापनामा सहयोग गर्नुभई वि.सं. २०६९ बाट हरेक वर्ष वितरण हुँदै आएको ‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार’ २०७३ सालका लागि प्रतिभाशाली लेखक राज सरगम लिखित ‘छाउघर’ उपन्यासलाई प्रदान गरिने भएको छ ।
किशोरकिशोरीहरुको संवेगलाई सशक्त रुपमा प्रस्तुत गरी सामाजिक कुप्रथाको चिरफार गर्दै उज्यालो गोरेटोतर्फ हिँड्न अभिप्रेरित गर्ने यो कृतिको पाण्डुलिपिलाई उत्कृष्ट ठहर गरी यस वर्ष पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार कोशका संस्थापक श्रीमती जलेश्वरी श्रेष्ठको संयोजकत्वमा आज बसेको प्रतिष्ठानका अध्यक्ष कार्तिकेय सहितको ३ सदस्यीय निर्णायक समितिको बैठकले यो निर्णय गरेको बालसाहित्य प्रतिष्ठान नेपालले जनाएको छ ।
पुरस्कृत पाण्डुलिपिका सर्जकलाई नगद रु. ११ हजार १ सय ११ र ताम्रपत्रसहित निकट भविष्यमै आयोजना हुने एक समारोहबीच पुरस्कृत गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
वि.सं. २०६९ बाट प्रदान गर्न शुरु गरिएको यस पुरस्कारबाट यसअघि लक्ष्मी उप्रेती, अन्जना राजवंशी, महेश पौड्याल र गंगा पौडेल पुरस्कृत भइसकेका छन् ।

Segment: 
Language: