आदरणीय लेखक हिरण्य भोजपुरेसँगको कुराकानी

hiranya-bhojpure-jpg

आदरणीय वरिष्ठ लेखक, गायक एवं संगीतकार हिरण्य भोजपुरेसँग यो हप्ता हामीले उहाँको भर्खरै बजारमा आएको बालपउपन्यास ‘मेरी आमै’ को विषयमा कुराकानी गरेका छौं ।

१. ‘मेरी आमै’ कस्तो बालउपन्यास हो ?
      यो नेपालको गाउँले जनजीवनको कथामा लेखिएको उपन्यास हो । यसमा एउटी गाउँले बालिकाको साहसको कथा रहेको छ ।
२. यो उपन्यास बालबालिकाले किन पढ्नुपर्छ जस्तो लाग्छ ?
      पहिलो कुरा त यो रमाइलो साहित्य हो, पढेर आनन्द लिन पनि पढ्नु पर्छ । त्यस बाहेक नेपालको गाउँका बालबालिकाको अवस्था र उनीहरुको जीवन बुझ्न पनि यो किताब पढ्नु पर्छ जस्तो मलाई लाग्छ । साथै बाल्यकालमा गाउँघरको रमाइलोको आनन्द लिन पनि यो पढ्नुपर्छ कि जस्तो लाग्छ ।
३. तपाईंको भाषा राम्रो छ भनेर सबैले प्रशंसा गरे, के छ त्यस्तो यो किताबमा ?
      यो किताबमा सरल भाषाको प्रयोग गरिएको छ । ठेट नेपाली भाषाको प्रयोग छ । जसले गर्दा पढ्न रमाइलो लागेको हो कि भन्ने लाग्छ ।
४. उपन्यासको मुख्य चरित्र बालिकाको भूमिकामा बालिका अपेक्षा सिंहबाट मोडलिङ अभिनय गरेर तिनै फोटोहरु सहित यो किताब किन प्रकाशन गर्नुभएको हो ?
     यो पाठकलाई नयाँपन दिन पनि गरिएको हो । वास्तवमा यो कार्यका लागि कलाकार शिखा प्रधान, मोडल अपेक्षा सिंह र डिजाइनर कौशल खाकीले असाध्यै धेरै मिहिनेत गरेका छन् । फरक फरक लोकेसनमा गई फोटो खिच्ने काम कौशलले नै गरेका हुन् । यो किताब तयार हुन एउटा भिडियो फिल्म बनाउँन जत्तिकै मिहिनेत परेको छ ।
५. यो पुस्तक लेख्न शुरु गर्ने तरङ्ग तामाङ हुन् भन्नु हुन्छ, यो लेख्न शुरु गर्दाको कुरा भनिदिनुस् न !
    यो चौध वर्ष अघिको कुरा हो । तरङ्ग हामीसँगै बस्थ्यो । ऊ मेरो घरमा सहयोगीका रुपमा बस्ने रामबहादुर र सुधाको छोरो हो । ऊ ८ वर्षको हुँदा एक साँझ मसँगै कौसीमा यताउति हिंड्दै थियो । उसलाई देखी मेरो मन कताकता कुदिरहेको थियो । फुच्चे बेलाको याद आइरहेथ्यो मलाई । त्यसपछि मैले कराउँदै ऐ फुच्चे ! दौडी दौडी । एउटा कागज र कलम तुरुन्त लिएर आ त ! भनेर उसलाई  पठाएँ । उसले कापि कलम लिएर आएपछि म बोलेको थिएँ र उसले लेखेको थियो । केही समयपछि अँध्यारो भयो । ६ पानामा पुगेर त्यो रोकिएको थियो त्यतिबेला । पछि पुतलीसडक घरबाट सुनाकोठी सरेपछि त्यो कापि भेटियो र भेटिएकै दिनबाट मैले यो किताब थप लेख्न थालें । यसरी यो उपन्यास लेखिन पुगेको हो

Opinion: 
Language: