दुई रुपियाँ लिएर विद्यालयमा भर्ना हुन गएँ ...

jaleshwori-shrestha-kathmandu-nepal-big-size

जलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
५० वर्षको उमेर पूरा भएपछि साहित्य लेख्न शुरु गर्नु भएर पनि आफ्नो लेखनमा नयाँ जोश र जागर भर्न सफल लेखिका श्रेष्ठसँग यस पटकको ३ प्रश्नमा केटाकेटी अनलाइनका प्रधान सम्पादक कार्तिकेयले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न १. तपाईंले साहित्य लेख्न किन ढिलो शुरु गर्नु भयो ?

मैले आफू ५० वर्षको उमेर पुगेपछि साहित्य लेख्न शुरु गरे पनि मसँग साहित्यिक मन र विद्रोही भावना सानै देखि थियो । म सम्झन्छु बच्चामा म भाइलाई धेरै मलाई किन थोरै भनेर आमासँग झगडा गर्थें । आमाको पिटाइ र हप्काइ बढी खाने छोरी थिएँ म । त्यतिबेला मेरा दिदीबहिनीहरु चित्त बुझाएरै बसेका हुन्थे तर म समान हुनुपर्छ भन्ने कुरामा दृढ थिएँ । यसरी एकातिर समाजको छोराछोरीप्रतिको विभेदको चलनले गर्दा म असन्तुष्ट थिएँ भने अर्कोतिर जब मेरो श्रीमान् बाहिर जानुभएको समयमा मेरो नागरिकताले छोरीहरुसँग सम्बन्धित सरकारी काम भएन त्यसपछि मलाई यो विभेदको संस्कारले झन् बढी पीडा दियो । जसले यो आक्रोश पोखिन मात्र बाँकी थियो । जुन २०५३ सालतिर चितवन जंगल लजमा मैले आफ्नै संयोजनमा सम्पन्न गरेको साहित्यिक बनभोजमा पोख्ने मौका पाएँ । त्यतिबेला मनमा दबिएका भावना पोख्दै गर्दा मेरा आँखा रसाएका थिए । हो, वास्तवमा त्यही गोष्ठी मेरो लेखनका लागि उर्जा बन्न पुग्यो । मैले त लेखकहरुका लागि यी विषय पनि हुन सक्छन् भनेर अनुभव साटेकी थिएँ । तर सहभागी सबैले तपाईं नि लेख्न सक्नुहुन्छ लेख्नुस् भनेर हौसला दिनुभयो । यसरी त्यो कार्यक्रबाट फर्केर आएको चार महिनामा मैले चारवटा कथा लेख्न पुगें । यसरी मेरो साहित्य लेखनको यात्रा शुरु हुन पुग्यो ।
अर्को कुरा ममा सानैदेखि साहित्य र साहित्यकारप्रतिको लगाव धेरै थियो । म सम्झन्छु, किशोरावस्थामा म साथीहरुलाई म त साहित्यकारसँग विवाह गर्ने हो भन्दा मेरा सहपाठीहरु साहित्यकार त झोले हुन्छन्, तिमीलाई दुई छाक खान नि दिन नसक्लान् नि भन्थें । तर, किन किन मेरो मनमा साहित्यकारसँग विवाह गर्ने ठूलो इच्छा थियो । साहित्यकारप्रति ठूलो श्रद्धा थियो । जुन इच्छा वरिष्ठ कवि द्धारिका श्रेष्ठसँग विवाह भएर पूरा पनि भयो । विवाहको समयमा केटी हेर्न आउँदा केटा कवि साहित्यकार पनि हो भन्ने कुराकाट म धेरै प्रभावित भएको थिएँ ।
जहाँसम्म साहित्य लेख्न ढिलो शुरु गर्नुको कारण छ, विद्यालय पढ्दा अलिअलि लेख्ने गर्थें तर घर व्यवहारको जिम्मेवारीले थिचेर त्यो निरन्तर रुपमा आउन सकिरहेको थिएन । छोरीहरु हुर्किएपछि मैले आफूलाई स्वतन्त्र महसुस गरें अनि साहित्य लेखनमा रमाउन थालें । साहित्य लेखनमा रमाउन परिवारको सहयोग, साहित्यकारको संगत, चराजस्तै स्वतन्त्र उड्ने मन र सबैप्रति सहिष्णु मन पनि चाहिने रहेछ भन्ने मलाई लाग्न थालेको छ । त्यसैले साहित्य लेख्न चराजस्तै उड्ने मन चाहिन्छ ।

प्रश्न २. तपाईं केटाकेटी छँदाको अनुभव बताइदिनुस् न ।

म केटाकेटी छँदा दुःखी थिएँ । बुबाले कान्छी आमा ल्याएर अलग्गै बस्नुभएको थियो । बुबाको माया नपाउँदा आमाको स्वभाव चिढचिढे थियो । हामीसँग रिसाइ रहनु हुन्थ्यो । वास्तवमा आमा र बुबा दुवैको माया मैले चाहे जति पाउन सकिनँ । दाजुभाइलाई मात्र स्कुल पढ्न पठाउने चलन थियो । एकदिन आमासँग दुई रुपियाँ पैसा मागें र आफैं गएर विद्यालयमा भर्ना भएँ । त्यसरी मैले पढ्न शुरु गरेपछि मेरा बहिनीहरु र मेरो टोलका छोरीहरु सबै स्कुल भर्ना हुन गए । यसरी विस्तारै छोरीलाई नि पढाउनु पर्छ भन्ने सोचाइ त शुरु भयो । तर, म सम्झन्छु त्यतिबेला म जिद्दी भएर हो कि वा सही कुरामा पछि नहट्ने भएर पनि होला आमा र हजुरबुबाको बढी पिटाइ मैले नै खाने गर्थें । तर पनि मैले हिम्मत हारिनँ, पढ्दै गएँ पढ्दै गएँ र आज साहित्यकार भएरै छाडें । आज सानो ठूलो जे होस् साहित्यकारको रुपमा परिचय बनाएकी छु । यसका लागि मलाई मेरो श्रीमान्ज्यूको पनि ठूलो सहयोग रहेको छ । उहाँले राम्ररी साहित्यको महत्त्व बुझ्नुहुने भएर नै कहिले पनि मलाई लेखनमा बाधा गर्नु भएन ।

प्रश्न ३. अहिले के लेख्दै हुनुहुन्छ ?

म कथा, बालकथाहरु लेख्दैछु । एउटा कथा संग्रह र नेपाल भाषाका रमाइला लोककथाहरुलाई पुनर्कथन गरी एउटा चित्रकथाको गरी दुईवटा किताब निकाल्ने तयारी गर्दैछु । साथै बालकथा संग्रह पनि निकाल्ने योजना छ । वास्तवमा मलाई कुनै पनि विषयले असाध्यै धेरै प्रभावित गरेपछि त्यो विषयमा लेख्न मन लाग्छ । त्यो विषयमा नलेखुन्जेलसम्म मनमा छटपटी भइरहन्छ । लेखिसकेपछि आनन्द लाग्छ । मेरा लागि साहित्य लेखन एउटा नशा जस्तै बनेको छ । साहित्य लेख्नु, साहित्यकार मित्रहरुसँग रमाउनु, विभिन्न साहित्यकारहरुको स्मृतिमा पुरस्कारहरु स्थापना गरी साहित्यकारहरुलाई सम्मान गर्न पाउनु यी सबै कुरा मेरा लागि प्रिय छन् । त्यही भएर अहिले म यही क्षेत्रमा नै रमाइरहेकी छु । हरेक दिन भेट्न आउनुहुने कोही न कोही साहित्यकारज्यहरुसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा जाँदाको भेटघाट र छलफल नै मेरो लेखनका उर्जा हुन् ।

Opinion: 
Language: