बालसंवेदनशीलतालाई ध्यान दिएर लेखिएको नेपाली भाषाको पहिलो किताब- कर्म

karma at pokhara

पोखरा— कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘कर्म: सिकाइमा गहिरिएको खाडल’ का विषयमा पोखरामा परिचर्चा गरियो । चेतनामूलक समाज निर्माणका लागि पठन संस्कृति विकास गरौं भन्ने नाराका साथ क्रियाशील महिलाहरुको संस्था स्टडी सर्कल सोसाइटीले गरेको परिचर्चा कार्यक्रमका सहभागीहरुले पुस्तक पढेपछि आफ्नो सोचाइमा परिवर्तन आएको प्रतिक्रिया दिए । पुस्तकमा भएका अनेक कर्मशील पात्रले गरेका काम प्रेरणादायी रहेको बताए ।
स्थानीयवासी महेन्द्रमान व्यथितले किताब पढेर धेरै कुरा सिकेको प्रतिक्रिया दिए । ‘शब्दको डंगुर लगाउदैमा पुस्तक हुँदैन । पुस्तक हुन त्यसले केही सिकाउनै पर्छ । केही महसुस गराउनै पर्छ । मान्छेलाई परिवर्तन गर्नुपर्छ । दिमागलाई खुराक दिनुपर्छ,’ उनले भने, ‘मोटिभेसन गर्न चाहिने सबै खुराक यो पुस्तकले दिएको छ । त्यही भएर यो पुस्तक कालजायी छ ।’ किताबका पात्रहरुबाट आपूm प्रभावित भएको बताउँदै उनले पुस्तककी एकजना पात्र सीता दाहाललाई आफ्नो एकदिनको कमाइ पनि परिचर्चा कार्यक्रममा लेखक न्यौपानेलाई हस्तान्तरण गरे । पुस्तककी पात्र सिता अटिजम भएकी किशोरी हुन् । । उनी विशेष स्कुल तथा अपांग पुनस्थापन केन्द्रमा आउनुअघि टोलमा सबैलाई टोक्ने बालिका भनेर चिनिएकी थिइन् । केन्द्रमा आएपछि उनमा कसरी परिवर्तन आयो र अहिले कसरी आयमूलक काममा लागिन् भनेर उनको कथा पनि यो पुस्तकमा समेटिएको छ ।
‘गर्ने चाहना राखे असंभव केही रहेनछ भन्ने शिक्षा पुस्तकका पात्रले दिन्छन्, सहारा आधारभूत स्कुलकी प्रधानाध्यापक लोचना अधिकारीले भनिन्, ‘मेरो स्कुलमा अधिकांश श्रमिक बालबालिका छन्, उनले भनिन्, ‘तीन दिन पढ्न आउने, तीन दिन श्रम गर्ने विद्यार्थी छन् । यस्तो अवस्थाका बालबालिका पढ्ने मेरो स्कुलका विद्यार्थीले विज्ञान सामग्री प्रयोग गर्न सकेका छैनन् । स्कुल मागेरै चलेको हो, अब विज्ञान लगायतका समाग्रीको पनि मागेरै भए पनि व्यवस्था गर्ने प्रकृया शुरु गरेको छु ।’ यो किताबले वरिपरि भएका स्रोत परिचालन गरेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको उनले बताइन् ।
परिचर्चामा सहभागी शर्मिला न्यौपाने दाहालले महिला र बालबालिकाकोे क्षेत्रमा काम गर्नेको लागि यो पुस्तकले प्रेरणा दिने बताइन् । ‘पुस्तकमा पीडाको सिरानी छ, उनले भनिन्, ‘स्कुल नभए एउटै बालिका तीन पटक सम्म एउटै कक्षामा पढ्नु पर्ने कस्तो बाध्यता ? यसले हाम्रो शिक्षा नीतीमै गम्भीर प्रश्न उठाइदिएको छ ।’
बालबालिकाको क्षेत्रमा क्रियाशील अधिकारकर्मीले बालबालिबकाको क्षेत्रमा गहन अध्ययन गरेर लेखिएको पहिलो नेपाली किताबको संज्ञा दिए । ‘बालसंवेदनशीलतालाई ध्यान दिएर लेखिएको यो नेपाली भाषाको पहिलो किताब हो,’ केन्द्रीय बालकल्याण समितीका बालअधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले भने, ‘अपांगता भएका बालबालबालिकको कसैले पनि अध्ययन गरेर लेखेका छैनन । अबसर पाए अपांगता पनि परिवर्तन हुन सक्छन्, अटिजम पनि परिवर्तन हुन सक्छन् भन्ने यो पुस्तकले देखाएको छ । सरकारमा देखिएका कतिपय नीतिलाई यो खोजपूर्ण पुस्तकले भंग गरिदिएको छ । अपांगता भएका व्यक्तिको परिवारलाई पनि यसले पाठ सिकाइदिएको छ । यो लेखकको सफलता हो ।’
आदर्श समाज दैनिककी व्यवस्थापक दुर्र्गा देवी वास्तोलाले पुस्तकले मागेर खानेलाई पनि केही गर्न पर्ने रहेछ र केही गर्न सकिन्छ भनेर आशा जगाइदिएको प्रतिक्रिया दिइन् । पुस्तकमा समेटिएको अटिजम विषयले आफ्नो आँखा खोलिदिएको प्रतिक्रिया दिंदै उनले भनिन्, ‘अटिजम भएका त हामी रहेछौं । बच्चा जन्माउन चाहने बहिनीहरुले जस्तो बच्चा जन्मिए पनि त्यसलाई राम्रो गरी हुर्काउन यो पुस्तकले प्रेरणा दिन्छ । अभ्यास गरायो भने अटिजम भएको बालबालिकाले पनि सिक्दोरहेछ भनेर प्रशस्त उदाहरण यो पुस्तकले दिएको छ ।’
सोइटीकी अध्यक्ष सावित्री शर्माले यस्ता कार्यक्रमले महिलाको चेतना स्तर बढाउँदै लगेको बताइन् । ‘महिलाहरु पुस्तक पढेर विश्लेषण गर्ने समेत भइसकेका छन्, उनले भनिन्, ‘चेतनामूलक समाज निर्माण गर्न पठन संस्कृति बढाउनुपर्छ । गौरी तमुले अवधारणा पत्र प्रस्तुत गर्दै बजारमा आएका पुस्तकहरुको भीडमा ‘कर्म’ नयाँ स्वाद बोकेर आएको बताइन् । ‘यसमा भावना र कल्पनाका चिल्ला कुरा छैनन्, उनले भनिन्, ‘समाजमा छ त्यही देखाइएको छ । पुस्तक पढ्दै जादा आफू पनि त्यही पुगेको अनुभूति हुन्छ । आफ्नै गाउ, समाज अनि देशको समस्या र विशेष गरी बालबालिका र महिलाका समस्या नजिकबाट नियाल्ने अवसर पाइन्छ । ‘यो किताब पाठकलाई रुवाउँछु वा हसाउँछु भनेर कल्पना गरेर लेखिएको होइन,’ तमुले भनिन्, ‘जे छ त्यही लेखिएको हो । जे देखियो त्यही लेखिएको हो । यस्ता पुस्तकले समाज परिवर्तन गर्न ठूलो मद्धत गर्छ ।’
विद्या रेग्मीले पुस्तक पढिरह“दा आफ्नै समस्या पढिरहेजस्तो अनुभूति भएको सुनाइन् । ‘भुइचालो जादा म पनि सुत्केरी थिए“, उनले भनिन्, ‘अप्रेशन गरिएको थियो । भुइचालोले गएको बेला भागदौड गर्दा टाका खुस्कियो । कसैलाई भन्न पनि अप्ठेरो भयो । सुत्केरीलाई कस्तो समस्या हुन्छ भनेर धेरैले महसुस गर्दैनन् । यो पुस्तकमा सुत्केरी र नवजात शिशुका समस्या समेत जोडिएकाले यो पुस्तकको पात्र मैं हु जस्तो अनुभूति भएको छ । यो पुस्तक मेरै हो भन्ने अनुभूति भएको छ ।’ शान्तापुरीले जताबाट पढे पनि पुस्तक तृप्त हुने खालको रहेको प्रतिक्रिया दिइन् । ‘यो पुस्तकको कुनै पाठले कसैलाई छुन्छ, कुनै पाठले कसैलाई छुन्छ,’ त्यही भएर यो सबैको पुस्तक हो,’ उनले भनिन् ।
सरला कुमारी पाण्डे, सावित्री गौतम, सरिता तिमिल्सिना पगेनी, रमा शर्मा ढकाल, हसिना बस्नेत, गीता तिवारी गौतम लगायतले अपांगता हुनेले पनि केही गर्न सकेका छन् भन्ने उदाहरण पुस्तकमा दिएर सकारात्मक समाज निर्माणको लागि बल दिएको भनाइ राखे ।
लेखक न्यौपानेले बालबालिकालाई केन्द्रमा राखेर पुस्तक लेखिएको बताए । ‘बालबालिका केन्द्रित भएपनि बालबालिकासँग परिवार जोडिन्छ, परिवारसँग समाज जोडिन्छ, समाजसँग देश जोडिन्छ, न्यौपानेले भने, ‘यी सबै पक्ष पुस्तकमा समेटिएको छ । त्यही भएर यो सबै वर्गलाई काम लाग्ने पुस्तक हो । देश संवृद्ध बनाउन चेतनशील र स्मार्ट जनशक्ति चाहिन्छ । स्मार्ट जनशक्ति निर्माण गर्न बालबालिकामा नै लगानी गुर्नपर्छ ।’ लेखक न्यौपानेको दोस्रो कृति कर्म एक महिना पहिला बजारमा आएको हो । उनको पहिलो कृति एम्बुसमा ६ वर्ष पनि चर्चित छ ।

Segment: 
Language: