दसैँ - Children's Story by Kartikeya

kartikeya-kartikeya-073

“हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?”
आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा अब चाँडै आउनुहुन्छ । तिमी पिर नगर है !”
दाजुको मीठो आश्वासन पाएर बहिनी टाउको हल्लाउँदै खेल्न दौडन्छिन् ।
“अँ साँच्चै हाम्रो बाबा पनि कहाँ जानुभएको होला ! कहिल्यै फर्कनुहुन्न बा । यो सानी बहिनीलाई बाबाको कति याद आउँछ ?”
मनेश यिनै कुरा सोच्दै दोबाटोमा हेरिरहन्छ ऊ त्यो बाटो भएर जाने प्रत्येक बटुवाको अनुहारमा आफ्नो बाबालाई खोज्ने गर्छ । अहँ उसको बुबा हुनुहुन्न । ऊ एक मनले सोच्छ –“आाहा ! मेरो बाबा अहिले आइदिए त म दौडदै गएर उहाँको अङ्गालोमा बाधिँन्थेँ र रोइरोइकन किन ढिलो आउनुभएको भनेर गुनासो गर्थें ।” तर उसको त्यो सोचाइ एकै छिनमा भङ्ग हुन्छ । ऊ फेरि सोच्छ —“ला बाबा त आउनुभएकै छैन कति वर्षदेखि । होइन मेरी आमाले मलाई किन भन्नुहुन्न मेरो बाबा कहाँ जानुभएको छ भनेर । आज त आमालाई नभनी छाड्दैछाड्दिन् । मनेश यही विचार गरी दौडिएर आमा भएको कोडाअगाडि पुग्छ र कोठामा छिर्न खोज्छ । तर त्यहाँ आमाको अवस्था देखेर ऊ ढोकाबाहिरै उभिएर हेर्न थाल्छ— कोठाभित्र आमा बाबाको तस्वीरलाई दुई हात जोडेर केही भनिरहनुभएको थियो । मनेश अझ नजिक गई कान ठाडो पारेर सुन्ने कोसिस गर्छ ।
“तपाईले यो के गर्नुभएको मनेशको बुबा ? यी कलिला छोराछोरीलाई एक्लै छाडेर तपाईचाहिँ अर्की स्वास्नी ल्याएर बस्ने । अब म यी अबोध बालकहरुलाई के जवाफ दिऊँ ? बाबु खोइभन्दा के उत्तर दिऊँ ?”
आमाका हृदयविदारक कुराहरु सुनेपछि मनेशको मन छियाछिया हुन्छ । उसका आँखाबाट आँसु बग्न थाल्छन । उसलाई आफ्नो बादेखि असाध्यै घृणा लाग्छ । उसलाई के गरौँ ,के गरौँ हुन्छ र दौडँदै गएर आमालाई अङ्गालो मार्दै भन्छ — “आमा ! नरुनुस् न आमा ! तपाईलाई म ठूलो भएपछि धेरै सुख दिन्छु । बिन्ती नरुनुस् है आमा !”
अकस्मात् छोराको यस्तो व्यवहार देखी आमाको आँखाबाट पनि आँसु बग्न थाल्छ— मेरो छोरा, मेरो प्यारो छोरा भन्दै गम्लङ्ग अङ्गालो मार्छिन् ।
मनेश सँुक्कसुँक्क गर्दै आमाको काखमा रोइरहेको हुन्छ । आमाले उसको कपाल मुसार्दै भन्नुहुन्छ— “छोरा मनेश मलाई माफ गर है ! यसपालि दसैँमा तिमीहरुलाई नयाँ लुगा हाल्न नसक्ने भएँ ।”
आमाको आँसु मिसिएको स्वर सुनेपछि ऊ आमाको काखबाट जुरुक्क उठ्छ र भन्छ— “आमा हामीलाई राम्रो नाना चाहिन्न आमा । हामीलाई माया गरेर टीका लगाइदिनुस् । आशीर्वाद दिनुस्, त्यही नै ठूलो छ आमा । आमा थाहा छ नि, हाम्रो मिसले भन्नुभएको, दसैँ भनेको त ठूलाको हातबाट सानाले टीका थापी आशीर्वाद प्राप्त गर्ने चाड हो रे !”
आफ्नो मायालु छोराको यति राम्रो कुरा सुनेर आमाको मन हर्षले गद्गद् हुन्छ । उनी एकछिन त आफ्नो छोराको मुखमा ट्वाल्ल हेरिरहन्छिन् । त्यसपछि उसको गालामा चप्प म्वाइँ खाइदिएर आफ्नो न्यानो अङ्गालोमा गम्लङ्ग बाँध्छिन् ।
मनेशलाई आफ्नी आमाको मायाको अङ्गालोमा मनाउन पाएको दसैँ असाध्यै रमाइलो लाग्छ ।
(Source : JAMARKO Hawai Bal Patrika, 2057 BS)

Literature: 
Language: