बालसाहित्यका लागि मेरा केही अभिमतहरू

                                 – कार्तिकेय घिमिरे
बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि गरिएको छ ।
एउटा बालक जो ६ वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिई–लिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार, भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९ वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ । साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् । तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न ।
 यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि ४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि ६ वर्षका नानीको हकमा छोटा, रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५ वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखनको सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ । 

Opinion: