चौध वटा बालसाहित्यका किताब बजारमा

kartikeya-nepali-author-writing-for-children

बालसाहित्य लेखनमा विगत दुई दशकदेखि संलग्न लेखक कार्तिकेयका विभिन्न प्रकाशनबाट चौध वटा बालसाहित्यका कृतिहरु प्रकाशित भएका छन् । जसमध्ये बुकआर्ट नेपालबाट पानी जोगाऊ नानी, जाँचको बेला र आगोको कथा गरी तिनवटा कृतिहरु प्रकाशित भएका छन् । पानीको महत्ववारे पानी जोगाऊ नानी, जाँचमा कसरी राम्ररी पढ्ने भन्ने विषयमा जाँचको बेला र आगोको विषयमा ज्ञान दिनु आगोको कथा कृतिको उद्देश्य रहेको देखिन्छ । यी तिनवटै कृतिहरु रङ्गीन साज सज्जाका साथ प्रकाशित भएका छन् । तिनवटै किताबमा काया इन्टरनेसनलको चित्राङ्कन् आकर्षक रहेको छ । 

त्यस्तै केटाकेटी मिडियाबाट घिमिरेका चारवटा बालचित्रकथा सङ्ग्रह र एउटा कथा सङ्ग्रह गरी पाँचवटा कृतिहरु प्रकाशित भएका छन् । जसमा रमाइला चित्रकथाहरु भाग १, २, ३ र ४ एवं ‘कार्तिकेय घिमिरेका उत्कृष्ट बालकथाहरु’ रहेका छन् । यी पाँचवटै किताबमा आवरण पृष्ठहरु रङ्गीन र भित्री पृष्ठहरु एकरङ्गी रहेका छन् । पाँचवटै किताबमा चित्रकार रश्मी अमात्य शशीका चित्रहरु रहेका छन् । यी किताबमा बालअधिकार र बालसहभागिताको विषयलाई महत्वकासाथ उठाइएको छ । 

यसैगरी विद्यार्थी प्रकाशनबाट पनि घिमिरेका पाँचवटा चित्रकथा कृतिहरु प्रकाशित भएका   छन् । जसमा डस्टर उड्यो, पिरिरीको देश, केबुलकारको कथा, राम र श्याम बेस्सरी रोए र हनुमानले सूर्य निले रहेका छन् । यी पाँचवटै किताबको मराठी भाषाको संस्करण पनि प्रकाशित भएको छ । यी किताबमा लेखकले रमाइलो कथाका माध्यमले बालबालिकालाई सत्य, अहिंसा, मित्रता र कर्तव्यको बाटोमा हिँड्न प्रेरित गरेका छन् । त्यस्तै बुक प्यालेसबाट हात्त्ती हरायो बालचित्रकथा प्रकाशित भएको छ । जसमा ट्राफिक नियम सम्बन्धी जानकारीलाई हात्त्ती पात्रका माध्यमले प्रस्तुत गरिएको छ । केटाकेटी र विद्यार्थी प्रकाशनबाट प्रकाशित घिमिरेका सातवटा कृतिहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा  प्रकाशित भएका छन् । यी कृतिलाई अङ्ग्रेजीमा महेश पौड्याल र मराठीमा मदन हजेरीले अनुवाद गरेका छन् । 

Segment: 
Language: