पनौतीका ११ वर्षीय बालक अभिषेक खुलाललाई कार्तिकेय बालप्रतिभा पुरस्कार २०७१ प्रदान गरिने

abhisekh-khulal

– वर्ष २०७० मा सबै भन्दा बढी साहित्यका किताब पढ्ने १३ वर्षकी बालिका ज्वाला ढकाल पनि पुरस्कृत–
काठमाडौं/बालसाहित्यका परिचित लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट विगत १२ वर्षदेखि प्रदान गरिंदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार यस वर्ष २०७१ का लागि काभ्रे जिल्लाको पनौतीमा रहेको सामुदायिक मा. वि. मा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय बालप्रतिभा अभिषेक खुलाललाई प्रदान गरिने भएको कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले जनाएको छ ।
पुरस्कृत प्रतिभा अभिषेकमा सानै उमेरमा चित्रकलाको क्षेत्रमा देखिएको विलक्षण क्षमताको कदर गर्दै यस वर्ष उनलाई पुरस्कृत गरिने भएको कोषद्घारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
पुरस्कृत प्रतिभा अभिषेक राम्रा चित्रकार हुन् । उनले विभिन्न चित्रकला प्रतियोगितामा भाग लिई प्रथम पुरस्कार प्राप्त गरिसकेका छन् ।
पुरस्कृत प्रतिभा अभिषेकलाई नगद रु ५ हजार ५ रुपियाँ र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिने भएको छ ।
यसै गरी कोषले वर्ष २०७० मा सबैभन्दा बढी साहित्यका पुस्तक पढ्ने (स्थायी घर झापामा भई हाल कक्षा ७, सेन्टमेरिज स्कुल, जावलाखेल, ललितपुरमा अध्ययनरत) १३ वर्षकी बालिका ज्वाला ढकाललार्ई पनि नगद रु १० हजार ५ रुपियाँ र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गर्ने भएको छ । बालप्रतिभा ढकाल पुस्तक पढ्न रुचि राख्ने प्रतिभा हुन् । उनले वर्षभरि ३ सय भन्दा बढी पुस्तकहरु पढेकी छिन् । उनी साहित्यका किताब बढी भन्दा बढी पढेर पनि कक्षामा सँधै प्रथम हुने बालिका हुन् । उनको यो क्षमताले साहित्यका किताब पढे बालबालिकाको विद्यालयको पढाइ बिग्रन्छ भन्ने विचार राख्ने अभिभावक र समाजलाई पनि सोच्न बाध्य बनाएको धारणा कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका संस्थापक कार्तिकेय घिमिरेको रहेको छ । बालप्रतिभा ढकालको दुईवटा कृति पनि प्रकाशित छ ।
कोषले यी बालबालिकालाई हौसला प्रदान गर्दै यी बालबालिकालाई थप सहयोग गर्न समाजका सबैको ध्यान अकर्षण गर्ने लक्ष्यसाथ यी बालबालिकालाई पुरस्कृत गर्ने निर्णय गरेको कोषका अध्यक्ष मोहन कार्कीले बताउनु भयो । कोषले सहयोग गरेपछि यी पुरस्कृत बालबालिका र समाजका यस्तै अन्य बालबालिकालाई पनि प्रोत्साहित गरी समाजमा बालप्रतिभाको क्षमताको कदर गर्ने संस्कृतिलाई बढावा दिन र साहित्यका किताब पढ्ने बालबालिकाले अभिभावक, समाज र विद्यालयबाट अझ बढी प्रोत्साहन र हौसला प्राप्त गर्नेछन् भन्ने विश्वास कोषको लिएको कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको विज्ञप्तीमा भनिएको छ ।
रिड नेपालको परियोजना हजुरबाहजुरआमाको कथा मेरो चित्र आयोजनाकाक्रममा बालप्रतिभाको छनौट गरिएको हो । यो परियोजनाको संयोजक नेपाल बालसाहित्य समाज हो ।

Segment: 
Language: