बालबालिकालाई सहभागी हुन दिनुहोस्

child-participation-jpg-ketaketionline

यो प्रसङ्ग एक दिन अघि भाटभटेनी सुपर मार्केट, भाटभाटभटेनी काठमाडौँको हो । एउटी आमा आफ्नो बालकलाई गुनासो गर्दै भन्दै थिइन्, यसलाई कतै घुमाउन लैजान मन लाग्दैन जहाँ गए पनि सुख दिँदैन । 

त्यो ६ वर्षे बालकको चन्चलतालाई मैले केही समय नियालि रहेँ । उसको चकचक बकबकमा रिसाउनु पर्ने मैले खासै केही कुरा देखिन तर धेरै आमाहरु यस्तै होलान्, जो आफ्ना यो उमेरका छोराछोरीलाई घुमाउन लैजान तयार हुँदैनन् र भई हाले पनि रमाइलो मेलामै सीमित गर्न चाहन्छन् ।

वास्तवमा विगत दुई दशकदेखि बालबालिकाको लागि लेखिरहेको लेखकका रुपमा मैले त्यो बालकको समस्यालाई नियालेर ती आमाहरुसँग आज केही कुरा भन्न गइरहेको छु । यसमा आफ्नो अनुभव पनि मिासाएर विचार गरिदिनु होला ।

वास्तवमा भाटभटेनीमा रिसले रातो भएकी आमाले वा जुनसुकै आमाले बालबालिकालाई नयाँ ठाउँ घुमाउनु राम्रो कुरा हो । उनीहरुको सुरक्षाका हिसावले संवेदनशील मानिएका बाहेक हरेक ठाउँको भ्रमण गराउनु सिकाइ प्रक्रियाको राम्रो पक्ष हो । तर भ्रमण र सिकाइ प्रक्रियालाई सहज र रमाइलो बनाउने बलियो हतियार बालसहभागिता नै हो भन्ने कुरा आमाहरुले बिर्सनु हुँदैन । 

जस्तै, भाटभटेनीमा भेटिएको त्यो बालकलाई आमाले मूल पसलभित्र छिर्नासाथ बाबु आऊ मिलेर यो सामान राख्ने भाडो ट्रली गुडाऔँ, मलाई सहयोग गर भनेर सुरु गर्दै उसले नाम जानेका र थाहा पाएका केही सामान किन्दै उसले चाहेका एक दुईवटा सामान पनि उसलाई नै उठाएर त्यो भाडामा हाल्न लगाएर पुरै सामान किन्ने समयभरि बच्चलाई साथै लिएर घुम्न पाएको भए, त्यो बच्चाको आजको दिन सिकाइको दृष्टिकोणले कति उपलब्धिपूर्ण बन्थ्यो होला ? म त सम्झँदै दङ्ग पर्छु । 

अन्त्यमा मलाई विश्वास छ, बालसहभागिताको यो हतियारलाई हाम्रा मातापिताले हरेक ठाउँमा प्रयोग गरेर बालबालिकालाई सही अर्थमा बाल मैत्री वातावरणमा हुर्कने अवसर प्रदान गर्ने कर्तव्य निर्वाह गर्नु हुने छ ।

Segment: 
Language: