‘भालेको देश भ्रमण’ पढेपछि By ललिता ‘दोषी’

vale-book-cover

 बहुमुखी प्रतिभा लेखक अच्युत घिमिरेको बालकथा–सङ्ग्रह ‘भालेको देश भ्रमण’ पढ्ने मौका मलाई पनि मिल्यो । पढिसकेपछि केही लेखौँ–लेखौँ लाग्यो । बालसाहित्यको विषयमा कुरा गर्दा बालसाहित्य भनेको त्यस्तो होस्, जसले कौतूहल जगाओस्, मनोरञ्जन देओस्, शिक्षाप्रद होस् । पढिसकेपछि अरूलाई भन्न सकिओस् । ‘भालेको देश भ्रमण’ बालकथासङ्ग्रह यी सबै गुणले भरिपूर्ण छ । बालमनोविज्ञानलाई बुझी रचिएको हुनाले बालबालिकाहरूको लागि अति प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।

उहाँले यो बालकथा–सङ्ग्रह आफ्नो छोरा अर्सु आठ वर्ष लाग्दा उपहारस्वरूप प्रकाशित गर्नु भएको पुस्तक हो । प्रकाशक सुरभि साहित्य प्रतिष्ठान हो । यस बालकथा–सङ्ग्रहमा सोह्रवटा रमाइला बालकथाहरू छन् । ‘अर्सुको बिरालो’ शीर्षकको कथाबाट कथाक्रम शुरु हुन्छ ।
    ‘अर्सुको बिरालो’ कथाको सार यस प्रकारको छ– जब सानो अर्सुले मामाघरमा बिरालो देख्छन्, त्यसपछि आफ्नी मामूलाई त्यस्तै बिरालो ल्याइदिन आग्रह गर्छन् । उनको जिद्दीको अगाडि केही नचलेपछि मामूले बिरालो ल्याइदिनु हुन्छ । उनी बिरालोलाई साह्रै माया गर्छन् । मीठो–मीठो खान दिन्छन् । सबैले माया गरेपछि बिरालो अल्छी हुन्छ । अल्छी बिरालोलाई अर्सुले घरबाट निकाल्छन् । त्यसपछि फेरि बिरालो ल्याइदिन आग्रह गर्छन् ।

    ‘साधु बाघ’ कथा पनि त्यस्तै रोचक छ । साधुजस्तै बनेर बाघले लुकी–लुकी जनावरहरू खान्छ । त्यो कुरा स्यालले थाहा पाउछ । त्यसपछि सबै जनावरहरू मिलेर दुष्ट बाघलाई जङ्गलबाट निकाल्छन् । भाइबहिनीहरू, मैले कथाको थोरै अंश मात्र भनिदिएको छुँ है, बीचमा साह्रै रोचक प्रसङ्गहरू छन् । त्यो के होला भनेर बुझ्नका लागि त कथाको किताब नै पढ्नु पर्छ नि है !

    ‘बाल पुस्तकालय जाऊँ है’ भन्ने कथामा मनुले पुस्तकालयमा के पढे भन्ने देखाइएको छ । ‘ठूलो बाबाले साँच्चिकै गाडी किनीदिनु हुन्छ’ शीर्षकको कथा साह्रै मनछुने कथा छ । ‘मुसी र खरायो’ कथामा मुसी र खरायोको मित्रता देखाइएको छ । आइजाइ ग¥यो भने मायामोह बढ्छ भन्नेजस्ता शब्दहरू प्रयोग भएका छन् । कथा पनि उस्तै रोचक छ । ‘म त वैज्ञानिक हुन्छु’ भन्ने कथामा बालबालिकाहरू सानैदेखि पछि के हुने हो लक्षण देखाउछन् भन्ने कुरा देखाइएको छ ।

    ‘असल बन’ भन्ने कथामा वीरेन राजवंशीको योगदानको चर्चा गरिएको छ । यो यथार्थपरक कथा हो भन्ने मलाई लाग्छ । यो कथा बालबालिकाहरूलाई चरित्रवान् हुन उत्साहित गर्ने खालको सुन्दर कथा छ ।

    ‘मित्रता’ कथामा समिरले परेवालाई माया गरेर गुँड बनाउन लगाएको कुरा छ । रमेशलाई ‘विद्यालय पठाउनु न आमा’ कथामा कथाको मूल पात्र सुविज्ञाले आफ्नो घरमा काम गर्ने केटा रमेशलाई विद्यालय पठाउनु पर्ने कुरा गरेकी मात्र छैनन्, विद्यालय पठाउन बाध्य गरेकी छिन् । ‘चिडियाखानामा बाँदर’ कथामा बच्चाहरूको बालहठलाई देखाइएको छ । ‘भालेको देश भ्रमण’ कथा मनोरञ्जन साथै जानकारीमूलक कथा हो । कति भाइबहिनीहरूलाई थाहा नहुन सक्छ । कुखुराले कति दिनमा बच्चा कोरल्छ । यो कथा पढेपछि थाहा पाउन सकिन्छ । भाइबहिनीहरूलाई खुल्दुली लाग्यो होला कुखुराले कति दिनमा बच्चा कोरल्ला भनेर, कुखुराले बाइस दिनमा बच्चा कोरल्ने कुरा यस कथामा छ । भालेले कसरी देश भ्रमण ग¥यो ? भाले कस्तो थियो र कस्तो भयो ? थाहा पाउन त पूरा कथा नै पढ्नुपर्छ ।
    ‘चुलबुले खरायो’ कथामा आमाले भनेको नमान्दा के हुन्छ भन्ने कुरा देखाइएको छ । ‘राँकेभूत’ कथा पनि यथार्थपरक कथाझैँ लाग्छ, कथा रोचक छ । ‘रेश्माको जन्मदिन’ कथामा जन्मदिन कसरी मनाउनुपर्छ भन्ने कुरा देखाइएको छ । यो कथा शिक्षाप्रद छ । ‘कति राम्रो पुतली’ कथा अन्तिम कथा हो । यो कथा पढेपछि बनभोज भनेको के हो बुझ्न सकिन्छ । लक्ष्मीप्रसाद देवकोटाको ‘नटिप्नु हेर कोपिला  नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ’ भन्ने सुन्दर कविता पनि पढ्न पाइन्छ ।
                                              अन्त्यमा, अच्युतजीको ‘भालेको देश भ्रमण’ बालकथा–सङ्ग्रह रोचक, ज्ञानबद्र्धक र पठनीय रहेको छ । उहाँबाट यस्तै सुन्दर रचनाहरू आइरहने छन् भन्ने आशा गर्दछु ।                                                                

Opinion: 
Language: