‘रमाको नमूना गाउँ’ माथि छलफल सम्पन्न

clfn-discussion-club-first-month-017

काठमाडौं, पौष २६ गते/ आज नेपाल साहित्यिक पत्रकार संघको सभाकक्षमा साहित्यकार लक्ष्मी उप्रेती लिखित ‘रमाको नमूना गाउँ’ कृतिको पाण्डुलिपिमाथि छलफल सम्पन्न भयो । सबै साहित्यकार/समीक्षकहरुलाई यथास्थानमा आसन ग्रहण गराएपछि प्रतिष्ठानबाट पुरस्कृत प्रतिभा ज्वाला ढकालले अतिथिहरुलाई खादा लगाइदिएर कार्यक्रम सुरु भएको थियो । यस कार्यक्रममा उपस्थित सबै साहित्यकार/समीक्षकहरुलाई साहित्यकार लक्ष्मी उप्रेतीले स्वागत गर्दै उपन्यास रचना गर्दाको अनुभव सुनाउनुभएको थियो ।
‘रमाको नमूना गाउँ’ (बालउपन्यास) कृतिको पाण्डुलिपिमाथि भएको आजको छलफल कार्यक्रममा वरिष्ठ साहित्यकारहरु गीताकेशरी, डा. गार्गी शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, प्रमोद प्रधान, डा. रामप्रसाद ज्ञवाली, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ मातृका पोखरेल, महेश पौड्याल, जलेश्वरी श्रेष्ठ, विन्दु सुवेदी, महेश क्षितिज, नारायण तिवारी, गोपीकृष्ण ढुङ्गाना, युवराज सापकोटा, चित्रकार योगेश खपाङ्गी, बालअधिकारकर्मी नवीनचन्द्र घिमिरे, किशोर प्रतिभा ज्वाला ढकाल र बालप्रतिभा प्राज्ज्वल जोशीले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम कविताराम वाङ्मय कोष र बुकआर्ट नेपालसँगको सहकार्यमा बालसाहित्य प्रतिष्ठान नेपाल (सिएलएफएन) ले आयोजना गरेको थियो । यस कार्यक्रम सिएलएफएन चिल्ड्रेन्स लिटरेचर डिस्कसन क्लबको प्रस्तुतिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बालसाहित्यमा यथार्थ हुनुपर्छ वा स्वैर कल्पना भन्ने विषयमा साहित्यकार/समीक्षकहरुबीच बहस भएको थियो । रमाको नमूना गाउँ कृतिको पाण्डुलिपिका राम्रा पक्षहरु र सुधार गर्नुपर्ने पक्षहरु बारे समीक्षकहरुले आआफ्नो विचार खुलेर प्रस्तुत गर्नुभएको थियो । यस किसिमका खुला बहस र छलफलले बालसाहित्य लेखनको अवस्थामा सुधार गर्न र बालसाहित्य लेखकहरुलाई अझ बढी व्यावसायिक बनाउन र लेखनमा अझ बढी जिम्मेवार हुन हौसला मिल्ने विश्वास प्रतिष्ठानले लिएको कुरा अध्यक्ष कार्तिकेय घिमिरेले बताउनुभएको छ । आज छलफल गरिएको पाण्डुलिपिका सर्जक लक्ष्मी उप्रेतीले पनि यस कार्यक्रमले आफूलाई लेखनमा थप उत्साह थपिएको धारणा व्यक्त गर्नुभएको छ ।

छलफल कार्यक्रममा कसले के भने ?

बालसाहित्यमा स्वैर कल्पना होइन यथार्थ प्रस्तुत गरिनु पर्छ । बालबालिकालाई विश्वासको आधार बनाएर मात्र पत्याउन सकिने कथावस्तुमा बालसाहित्य रचना गर्न सके राम्रो होला भन्ने ठान्दछु ।
- वरिष्ठ आख्यानकार गीताकेशरी

बालसाहित्यमा भाषालाई विशेष महत्व दिनुपर्छ । मिठासपूर्ण सरल भाषाशैलीमा लेखिनु राम्रो हुन्छ । कथावस्तु खजमजिएको भन्दा सरर बगेको भयो भने पढ्न मजा लाग्छ । साथै परिवेश अनुसारको जीवनशैली देखाउनु पर्छ । उदाहरण्का लागि तराईका बालबालिकाले मुरै खाजा बोकुन् अनि पहाडकाले मकै भटमास वा यस्तै अन्य घरमै बनाएको खाजा बोकुन् । साथै बालउपन्यास रचना गर्दा घटनाक्रमहरु चाँडचाँडो दौडाउने भन्दा पनि विस्तृत रुपले वर्णन गर्दै, संवाद थप्दै अघि बढ्दा राम्रो हुन्छ ।
- वरिष्ठ समीक्षक डा. शैलेन्दुप्रकाश नेपाल

बालसाहित्य लेखनमा बालबालिकालाई मनोरन्जन दिने एक मात्र उद्देश्य हुनुपर्छ । उनीहरुलाई उपदेश थोपर्ने पक्षमा म छैन । साथै बालउपन्यास रचना गर्दा अध्यायहरु विभाजन गरेर, हरेक अध्यायमा मूल कथासँग सम्बन्धित कथाहरुलाई मिहिन ढंगले गाँसेर रचना गर्न सकियो भने राम्रो हुन्छ । संवाद कम भयो र वर्णन मात्र बढी भयो भने पढ्न मजा आउँदैन । यसमा रचनाकार सचेत हुनुपर्छ ।
- वरिष्ठ समीक्षक प्रमोद प्रधान

बालसाहित्य लेखनमा बालबालिकालाई मनोरन्जन दिने नाममा स्वैर कल्पनामा मात्र उडाउनुपर्छ भन्ने कुरामा म सहमत छैन । उनीहरुका पनि कर्तव्य हुन्छन् । जिम्मेवारी हुन्छन् । एउटा बालकलाई कस्तो बनाउने भन्ने कुरामा लेखक सचेत हुनैपर्छ । मनोरन्जन दिने नाममा उनीहरुलाई परिवार, समाज र देशप्रति वफादार हुनबाट उसलाई विचलित गराउनु हुँदैन । सपनाकै माध्यमबाट भनिए पनि उनीहरुको चरित्र निर्माणका लागि उपयोगी खुराकहरु बालसाहित्यका माध्यमबाट आउनु पर्दछ भन्ने म ठान्दछु ।
- वरिष्ठ समीक्षक डा. रामप्रसाद ज्ञवाली

बालसाहित्य लेखनमा एउटा किताबमा एउटै शैली अपनाउनु राम्रो हुन्छ । जस्तो स्वैर कल्पनामा आधारित हो भने त्यो पुरै कथावस्तु फेन्टासीमै सकिएको हुनुपर्छ । स्वैर कल्पना र यथार्थ दुवैको प्रयोग एउटै किताबमा गर्नु राम्रो हुँदैन । साथै लेखकले नयाँ–नयाँ कथावस्तुको खोजी गरी पुनरावृत्तिको दोषबाट बच्नु जरुरी छ । लेखकको आफ्नो लेखनमा शैलीगत रुपमा पनि आफ्नोपन जरुरी छ ।
- चर्चित समीक्षक महेश पौड्याल

बालसाहित्य लेखनमा एउटा बालपात्रले कतिसम्म परिवर्तन गर्न सकेको देखाउने भन्ने कुरामा लेखक सजग हुनुपर्छ कि जस्तो लाग्छ । साथै नयाँ किसिमका पात्र, परिवेश र विषयवस्तुको खोजी गरी लेख्न सके राम्रो होला कि भन्ने मलाई लाग्दछ ।
- वरिष्ठ कथाकार उपन्यास लेखक जलेश्वरी श्रेष्ठ

बालसाहित्य लेखनमा स्वैर कल्पनामा पनि शक्ति छ । मैले छोराहरु हुर्काउने क्रममा पढेका फेन्टासी बुकहरु अझै रमाइला लाग्छन् । हो, जीवनमा अघि बढ्दै जानेक्रममा तथ्यपुस्तक पनि दिनुपर्छ तर उनीहरुको कल्पनाशीलता बढाउन काल्पनिक उडन्ते कथाहरु पनि प्रशस्त पढ्न दिइनुपर्छ जस्तो मलाई लाग्दछ ।
- वरिष्ठ लेखक विन्दु सुवेदी

बालसाहित्य लेखन गम्भीर लेखनमा यसमा फुर्सदमा लाग्ने भन्ने मानसिकतालाई लेखकहरुले त्याग्नुपर्छ । अहिले बालसाहित्यमा आएको बाढीमाथि पनि विचार गरिनुपर्छ । हामीले सधैं स्तरीय बालसाहित्यलाई प्राथमिकता दिनुपर्छ ।
- प्राज्ञ मातृका पोखरेल, प्रमुख, आख्यान विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान

बालसाहित्य लेखनको परीक्षण बालबालिका माझमै हुँदोरहेछ । मेरा नातिनीहरुले एउटै किताबमा स्वैर कल्पना र यथार्थ मिसाएकोमा प्रश्न गरे । वास्तवमा आफ्नै परिवेश अनुकूलको बालसाहित्य सिर्जना गर्न सके राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
- प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रमुख, बालसाहित्य विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान

बालसाहित्यमा बालबालिकाले ठूलठूला कार्य सम्पन्न गर्न सकेको देखाइनुलाई अतिशयोक्ति मान्नु हुँदैन । ठूलो सपना देख्नु राम्रो कुरा हो । सपना पूरा गर्न पात्रहरु इमान्दार छन् र मिहिनेत गरिरहेका छन् भने सपना अवश्य पूरा हुन्छ । बालसाहित्यले आपसी भाइचारा र सहकार्यको संस्कारलाई मलजल गर्नुपर्छ ।
- बालअधिकारकर्मी नवीनचन्द्र घिमिरे

बालउपन्यास लेखनमा जीवनको लामो खण्डको चित्रण आउनु जरुरी छ । किनकि कथा गमलाको फूल हो भने उपन्यास बगैँचा हो । बालसाहित्य लेखकमा विधागत सचेतता हुनु जरुरी छ ।
- युवा समीक्षक महेश क्षितिज

बालसाहित्यमा आफ्नो माटो अनुकूलको कथा पनि हुनुपर्छ । सबै विदेशीको नक्कल गर्नुपर्छ र मनोरन्जन मात्र दिनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन ।
– वरिष्ठ कथाकार नारायण तिवारी

बालसाहित्यमा सपना मात्र होइन यथार्थका कुराहरु पनि गरिनु पर्छ । परीका कथा धेरै लेखियो अब अरु पात्रका कथा पनि लेखिनुपर्छ ।
– चित्रकार योगेश खपाङ्गी

मलाई बालसाहित्यमा फेन्टासी मनपर्छ ।
– किशोर प्रतिभा ज्वाला ढकाल

मलाई रमाको नयाँ गाउँ कथामा आमाले पोखरीमा हामफाल्न आँटेको मन परेन अनि नानीपरीले बचाएको मन पर्यो ।
– प्राज्जवल जोशी, कक्षा ४ मा अध्ययनरत बालक

यस किसिमको छलफल र अन्तरक्रियाले लेखनलाई परिष्कृत बनाउन र नयाँ नयाँ विचारहरु सुन्ने एवम् बुझ्ने मौका मिल्दोरहेछ । आज मेरो कृतिको पाण्डुलिपिमाथि भएको छलफल कार्यक्रमले मलाई धेरै उर्जा प्राप्त भएको छ । धेरै कोणबाट सुझाव आएका छन् । यीमध्ये मलाई उपयोगी लागेका सुझावहरु ग्रहण गरी आफ्नो बालपुस्तकलाई पुर्नलेखन गर्ने विचार गरेकी छु ।
– वरिष्ठ लेखिका लक्ष्मी उप्रेती

बालसाहित्य लेखनका विषयमा हुने यस किसिमका खुला बहसहरुले लेखकहरुमा थप उर्जा प्राप्त हुने रहेछ । यस्ता कार्यक्रमले लेखनप्रतिको जिम्मेवारीबोध अझ बढी महसुस हुने रहेछ । त्यसैले यस्ता गोण्ठीहरुलाई समय समयमा आयोजना गरिरहने कुरामा हामी प्रयत्नशील रहने छौं । यस अवसरमा म कविताराम वाङ्मय कोष, बुकआर्ट नेपाल र सिएलएफएन चिल्ड्रेन्स लिटरेचर डिस्कसन क्लबका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
- कार्तिकेय घिमिरे, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपाल ।

Segment: 
Language: