बालबालिका, विज्ञापन र मिडिया शिक्षाको सवाल

nepali-junior-james

मिडिया अर्थात् आम संचार माध्यमहरु (रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरु) बाट प्रसारित र प्रकाशित विज्ञापनले सबै भन्दा बढी कसलाई प्रभावित गर्छ ?
यो प्रश्न तपाईंलाई कसैले सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?

तपाईंको उत्तर फरफारक आउन सक्छ,
    तर मनोविद्हरु भन्छन्– बालबालिकालाई बढी असर गर्छ । उनीहरु सिकाइको प्रारम्भिक चरणबाट गुज्रिरहेको हुनाले विज्ञापनका हरेक कुरा उनीहरुलाई नयाँ लाग्छ र त्यसको आकर्षक हाउभाउ र प्रस्तुतिबाट उनीहरु तुरुन्तै प्रभिावित भइ हाल्छन् । यस सम्वन्धमा मिडियाको अनुसन्धानमा लागेकाहरु भन्छन् – बालबलिकाले विज्ञापन हेर्ने र त्यसको नक्कल गरेर दुर्घटना निम्त्याउने र आफै दुर्घटनामा पर्ने रोगले अहिल विश्व नै ग्रस्त छ । द्घन्द सिनेमाको भूतले यतिसम्म बाल मष्तिष्कलाई अठ्याउने गरेको छ कि हरेक वर्ष जसो बालयुवाहरुले हिरोको भूमिकाको नक्कल गर्दै अन्धाधुन्ध गोली चलाएर आफ्ना सामान्य मनमुटाव भएका साथीहरु र गुरुहरुलाई मार्ने गरेका छन् । यो क्रम चलिरहेको छ । यस्तो घटनाको खबर मिडियामा आइरहेका छन् । अझ कतिपय अलि साना घटना त सम्वन्धित कलेज र महाविद्यालयहरुले आफ्नो संस्थाको व्यापार खतम हुने डरले बाहिर आउन नदिएर भित्रभित्रै लुकाउने गरेका पनि छन् ।
   हो, यस घटनाचित्रले स्पष्ट के संकेत गर्दछ भने बालबालिकाहरु मिडियाबाट सबै भन्दा बढी प्रभावित हुने वर्गमा पर्छन् ।
मूलतः ४ देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई पढाइरहेका गुरुआमाहरु भन्छन् – बाल सिकाइमा टेलिभिजनको महत्व ठूलो छ । अहिले सूचना प्रविधिको युगमा मिडियाको व्यवस्थित उपयोग बालबालिकाको हितमा छ । किनकि उनीहरुलाई मिडियाबाट टाढा राखेर समाजमा प्रतिस्पर्धामा उत्रन नसक्ने लङ्गडो बनाउनु पनि हुन्न ।
   वास्तवमा मनोविद, गुरु, गुरुआमा र मिडिया विशेषज्ञहरु सिधै मिडियालाई बाल अहितकारी भन्ने पक्षमा देखिदैनन् । तर उनीहरु मिडियामा हेरेका कुराहरु माथि बालबालिकाहरुलाई सही गलत के हो भनेर विश्लेषण गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार राख्छन् । साथै उनीहरु के कुरामा पनि जोड दिन्छन् भने कुनै पनि बालबालिकालाई उनीहरुको उमेर अनुकुलका टेलिभिजन कार्यक्रमहरु र अन्य मिडियाका सामग्रीहरु हेर्न, पढ्न र लगअन गर्न प्रेरित गर्नु राम्रो हो । यसका लागि शिक्षक र अभिभावकहरुले राम्रो भूमिका खेल्न सक्छन् ।
बालबालिकाहरुलाई सानै देखि ठूला–ठूला एक्सनका सिनेमाहरु हेर्न प्रेरित गर्ने र उनीहरु दङ्ग परे भन्दैमा बढीमा बढी टेलिभिजनमा झुम्मिन दिने प्रवृति गलत हो । यसले शारिरीक र मानसिक दुबै रुपमा बालबालिकाहरु पीडित हुन्छन् । एकातिर शारिरीक विकासमा बाधा हुन्छ भने अर्कोतिर उनीहरु अपराध मनोवृतितिर मोडिन सक्छन् ।
   त्यसैले मिडिया र बालबालिका वारे आचारसंहिता र नीति नियम बनाउने विज्ञहरु भन्छन् – मिडियाको कु्न कार्यक्रम, स्तम्भ वा कुन वेब पत्रिका वा सिनेमाहरु आफ्ना बालबालिकाहरुको लागि सिर्जनात्मक र उपयोगी छ भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ । त्यस्तै सामग्री उत्पादन गर्ने मिडिया हाउसले पनि उत्पादित सामग्रीको लक्षित समूह वारे जानकारी गराउँनुपर्छ । हरेक टिभी सो होस् वा सिनेमाको सिडीमा स्पष्ट साथ यी कुरा उल्लेख गरिनुपर्छ । साथै अभिभावकहरुलाई नै लक्षित गरी केही सन्देश उल्लेख गनुपर्छ भन्ने ती विज्ञहरुको ठहर रहेको पाइन्छ । साथै बालबालिकाहरुलाई पनि मिडियाको प्रवृति, व्यापार गर्ने काइदा र विज्ञापनको विश्वसनीयताका पक्षहरुवारेको छलफल र अन्तरक्रियामा सहभागी गराई मिडिया शिक्षा दिनु जरुरी छ भन्ने ठान्छन् उनीहरु ।
   वास्तवमा मिडिया शिक्षा कसरी दिने ? के मिडिया शिक्षा भनेको मिडियाप्रति बालबालिका वा किशोरहरुलाई नकारात्मक हुन प्रेरित गर्ने शिक्षा हो त ? भन्ने जस्ता प्रश्नहरु अहिले उठिरहेका छन् ।
यस सम्वन्धमा हाम्रो देशमा एउटा ठोस धारणा बन्नसकेको अवस्था अहिले देखिन्न । यहाँ एकथरी मान्छेहरु अनावश्यक रुपमा लोभ्याउने, अश्लिल र हिंसाजन्य कुराहरु हेर्न र पढ्नबाट बालबालिकाहरुलाई रोक्नुपर्छ भन्ने मत राख्छन् । अर्काथरी मान्छेहरु समयसिमा निर्धारण गरेर बालबालिकाहरु सुतिसकेपछि अर्थात् लेट आवर रातिको समयमा मात्र त्यस्ता सामग्रीको प्रसारण हुनुपर्छ भन्ने मत राख्छन् । तात्कालीन माओवादी लडाईंको कालमा रगतको आहालमा डुबेका लासहरु टेलिभिजनहरुले प्रसारण गर्दा यो मुद्दा चर्केर उठेको थियो ।
   तर यी दुवै मतलाई अस्वीकार गर्दै मिडिया शिक्षाको कुरा गर्नेहरुको भने फरक मत रहेको पाइन्छ । उनीहरु भन्छन् – समाजमा घट्ने हरेक घट्नाहरुवारे सूचना प्राप्त गर्न पाउनु बालबालिकाहरुको पनि सूचनाको हक हो । उनीहरुले सूचना पाउनुपर्छ यो उनीहरुको अधिकार हो । तर उनीहरुसँग बसेर छलफल, अन्तरक्रिया र विचार आदान–प्रदान गरी हामी बयस्कहरुले उनीहरुलाई मिडियामा प्रसारित, प्रकाशित सामग्री र विज्ञापनहरु प्रति आलोचनात्मक दृष्टिकोण बनाउन सघाउनुपर्छ । उनीहरुलाई मिडियाको विषयवस्तुका वारेमा सचेत र सजक गराउँनु पर्छ । अर्थात् हर्लिक्स खाएर जाँचमा फस्ट हुन सकिने हो कि होइन ? कम्प्लान खाएर हाइट बढ्ने हो कि होइन ? चाउचाउले दिमाख कति तेजिलो बनाउने हो ? यस्तै आदि–इत्यादि खालका टेलिभिजनलगायतका मिडियामा आउने विज्ञापनहरुवारे अभिभावकहरु र गुरुहरुले आफ्ना बालबालिकाहरुसँग खुलेर छलफल र अन्तरक्रिया गर्नुपर्छ भन्छन् विद्घानहरु । साथै मिडियाले किन विज्ञापन प्रसारण गर्छ ? विज्ञापन बनाउँनु प्रचार गर्नुको उद्देश्य के हुन्छ ? भन्नेजस्ता तमाम सवालमा पनि अन्तरक्रिया हुनुपर्छ । 
   हो, वास्तवमा मिडिया शिक्षा भनेको यसबाट निस्कने निचोडहरु नै हुन् । जसले एकातिर मिडियाको सूचनाको विश्वसनियतातर्फ बालबालिकाहरुलाई आकर्षित गरेर उनीहरुलाई सूचना ग्रहण गर्न प्रेरित गर्दछ भने अर्को तर्फ मिडियाले पैसाको खेतीका लागि चमचमाएर प्रकाशन र प्रसारण गरेका विज्ञापनको वारेमा पनि स्पष्ट धारणा बनाउन पनि सहयोग मिल्दछ ।
तर यहाँनिर बालअधिकारवादीहरुको स्पष्ट अवधारणा र एकमत के रहेको पाइन्छ भने बालबालिकाहरुलाई यसो गर, त्यसो नगर भनेर गुरुकुल शैलीमा बन्देज लगाउने होइन । उनीहरुलाई छलफल, अन्तरक्रिया र ठोस तथ्यहरुका आधारमा तर्क प्रस्तुत गरी उनीहरुको जिज्ञासालाईसमेत समाधान हुने गरी समाधान गरिदिएर मिडिया शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । यसो गर्न सकियो भने एकातिर यसले बाल व्यक्तित्वमा निखार ल्याउन मद्घत गर्दछ भने अर्कोतिर मिडियाको विज्ञापनलगायतका कुराहरुको नकारात्मक असरहरु न्यूनिकरण गर्न सघाउ पनि मिल्दछ ।
हो, आज हामी बाँचिरहेको युग मिडियाको युग हो । यस संसारका सबै मानिसहरु अहिले मिडियाको अत्याधुनिक विकासको मज्जा लिदै यगको उपयोगमा लठ्ठ परेर रमाइरहेका छन् । तर यही मिडिया यसको सही र समुचित उपयोग गर्न नजान्दा कत्तिका लागि अभिशाप पनि भएको छ । यसमा सबै भन्दा बढी बालबालिका र किशोरकिशोरीहरु पर्दछन् । त्यसैले यो मिडियाको युगमा मिडिया प्रति बालबालिकाहरुलाई आलोचनात्मक हुन हामीले प्रेरित गर्नुपर्छ । उनीहरुलाई मिडियाका साधनमा प्रसारित र प्रकाशित सामग्रीहरु जस्तैः विज्ञापन, सिनेमा, सनसनीपूर्ण समाचारहरु आदि प्रति चनाखो हुन र त्यसलाई आलोचनात्मक ढङ्गले हेर्न प्रेरित गरिनुपर्छ ।
   हो, एउटा सिनेमा वा विज्ञापनमा मानिस उडेको देखाइन्छ भने वास्तविक जीवनमा यत्तिकै मानिस उड्न सक्दैन यसले हावा देखायो वा रमाइलोका लागि देखायो भन्नेखालका आलोचनात्मक वा विश्लेषणात्मक खालका धारणाहरु बनाउँन आफ्ना बालबालिकाहरुलाई प्रेरित गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र बालबलिकामा पर्ने विज्ञापनको असर र समग्र मिडियाकै बालबालिकाहरुको सृजनात्मक विकासका लागि बाधक हुनेखालका असरहरुलाई न्यूनिकरण गर्दै लैजान र सकारात्मक असरहरुलाई बढाउँदै लैजान सहयोग मिल्दछ । त्यसैले अब बालबालिकासँग सरोकार राख्नेहरु सबै मिडिया शिक्षालाई व्यापक बनाउँन लाग्नुपर्छ भन्ने कुरामा शायदै कसैको दुई मत होला ।

Segment: 
Language: