साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत लेखक मुक्ति उपाध्याय बराल

mukti-baral-ketaketionline

वरिष्ठ साहित्यकार एवं समालोचक मुक्ति उपाध्याय बराल उत्कृष्ट बालसाहित्य लेखनका लागि साहित्य अकादमी पुरस्कारबाट भारतको केन्द्रीय सरकारबाट पुरस्कृत लेखक हुनुहुन्छ । उहाँको बालविज्ञान उपन्यास ‘मालती’ लाई यस वर्षको (सन् २०१५) साहित्य अकादमी पुरस्कार (नेपाली भाषाको बालसाहित्य विधाका लागि) प्रदान गरिएको छ ।

साहित्यकार बराल पिता टिका राम उपाध्याय बराल र माता पद्मा देवी बरालका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म वि. सं. २००८ फागुन २७ गते गुवाहाटी, असममा भएको हो । उहाँले विज्ञान विषयमा स्नातक, नेपाली विषयमा स्नात्तकोत्तर र शिक्षा विषयमा स्नातकसम्मको अध्ययन पूरा गर्नु भएको छ । धेरै चलचित्रहरुमा अभिनय गरि सक्नुभएका बराल गीतकार र सङ्गीतकारका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँका अनन्त यात्रा, अन्तप्रेरणा र घर गरी तिनवटा नाटक सङ्ग्रह, हिमाली र मालती गरी दुईवटा बालविज्ञान उपन्यास र झ्याउरे पार्टीले गर्नु गर्यो निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । उहाँले बस्कोनियन (१९७०), साहित्य सौरभ    (१९९७), कथा सौरभ (भाग १ देखि ६ सम्म १९८८), आजको साहित्य (अंक ५, २०००), साउती भाग १ देखि १० सम्म), सम्भाmउनी बिसाउनि (नगेन्द्रका निबन्ध) आदि धेरै कृतिहरुको सम्पादन गर्नु भएको छ । उहाँका ६ वटा गीति एल्बम बजारमा उपलब्ध छन् । नाटक लेखन र निर्देशनका क्षेत्रमा पनि सक्रिय बरालले सन् १९७१ देखि हालसम्म १९ वटा नाटक लेखन र निर्देशन गरि सक्नु भएको छ । सन् १९९३ देखि हालसम्म उहाँले २९ वटा चलचित्रमा अभिनय पनि गरि सक्नु भएको छ ।

    लेखक बरालले भारतीय गणनाट्य संघद्वारा श्रेष्ठ नाटककार तथा दोस्रो नाटक मञ्चन पुरस्कार, १९९२, सिलगढी उत्सव, सिलगढीद्वारा श्रेष्ठ नाटककार पुरस्कार, १९९४, नागरिक अभिनन्दन, शास्त्री नगर, १९९८, नेसनल बुक ट्रष्ट भारत र दार्जिलिङ जिल्ला नाट्य उत्सवद्वारा नाटक ‘रहर’ का सम्मान, माझी दाइ चलचित्रका लागि सम्मान, २००० दमक, उत्तरबङ्ग गण नाट्य संघद्वारा सम्मान, २००८, च्यानल एस प्रोडक्सन, गान्तोकद्वारा सम्मान, २००९ र २०११, अभि जमान स्मृति ट्रष्ट कुबेतद्वारा सन् २०१० को स्पन्दन पुरस्कार प्रदान आदि थुप्रै पुरस्कार र सम्मानहरु प्राप्त गर्नु भएको छ ।

  बालबालिकालाई समयानुकुल वैज्ञानिक सोचले भरिएको साहित्य पढ्ने अवसर दिएर उनीहरुको सोचलाई परिपक्व बनाउनु पर्छ भन्ने विचार राख्नु हुने लेखक बरालले पूवोत्तर भारतमा बालसाहित्यको विकास र प्रवर्धनका लागि नेपाली बालसाहित्य प्रतिष्ठान, पूर्वोत्तर, भारत संस्थामा संयोजकको रुपमा सक्रिय रही कार्य गर्दै आउनु भएको छ । भारतमा नेपाली भाषामा लेख्ने लेखकहरुलाई विश्वभरि चिनाउने यो संस्थाको मुख्य उद्देश्य रहेको कुरा लेखक बराल बताउनु हुन्छ ।

प्रस्तुति : कार्तिकेय (प्रकाशनको तयारीमा रहेको : बालसाहित्य अकादमी पुरस्कार प्राप्त लेखकहरुको जीवनी संग्रहबाट साभार गरिएको ।)

Directory: 
Language: