किशोर साहित्य पाण्डुलिपि पुरस्कारका लागि पाण्डुलिपि आव्हान

वर्ष वि.सं. २०७४ को पुरस्कारका लागि केटाकेटी मिडियाले आगामी २०७४ असोज मसान्तसम्म पाण्डुलिपि पठाउन लेखकहरुलाई आव्हान गरेको छ । यो पुरस्कार किशोर साहित्यको उत्कृष्ट पाण्डुलिपिका लागि प्रदान गरिन्छ । 
किशोर साहित्यको ट्डकारो आवश्यकता र यस क्षेत्रमा रहेको शून्यताको स्थितिलाई गति प्रदान गर्ने कार्यमा सानै भए पनि सकारात्मक पहल होस् भन्ने सदिच्छाका साथ वि.सं. २०६९ मा कथाकार तथा उपन्यासकार जलेश्वरी  श्रेष्ठको पहलमा दुई लाखको अक्षयकोष जुटाएर यस पुरस्कारको स्थापना गरिएको हो । पुरस्कार बालसाहित्य प्रतिष्ठान नेपालको संयोजन तथा केटाकेटी मिडिया र जलरिका साहित्य प्रतिष्ठानको पहलमा वि. सं. २०६९ बाट वितरण गर्न सुरु गरिएको हो । किशोरकिशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा प्रेरणदायी भूमिका निर्वाह गरी उनीहरुलाई साहित्यिक मिठास प्रदान गर्न सफल उत्कृष्ट कृतिको पाण्डुलिपिलाई हरेक वर्ष नगद रु. ११ हजार १ सय ११ नगद र ताम्रपत्र प्रदान गरिँदै आएको छ । 

जलरिका साहित्य प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठका अनुसार पाण्डुलिपि पो. ब. नं. २५८५९ काठमाडौँ, नेपालको ठेगानामा वा इमेल childacademy43@gmail.com मा पठाउन सकिने छ । हालसम्म यो पुरस्कार पाउने लेखकहरुमा लक्ष्मी उप्रेती (वि. सं. २०६९), अञ्जना राजवंशी (२०७०), महेश पौड्याल (२०७१) , गंगा पौडेल (२०७२) र यस पुरस्कारबाट २०७३ मा पुरस्कृत राज सरगम लिखित उपन्यास 'छाउघर' यस वर्ष मदन पुरस्कार गुठीबाट छानिएका १० उत्कृष्ट कृतिको सूचीमा दोस्रो नम्बरमा पर्न सफल भएको छ ।

Segment: 
Language: