‘जुरेली र मयूर’ बालकृतिका लेखक यशोदा अधिकारीसँग ३ प्रश्न

yashoda-adhikari-ketaketionline

केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा भर्खरै प्रकाशित बालकृति ‘जुरेली र मयूर’ का लेखक एवम् पत्रकार यशोदा अधिकारीसँग कुराकानी गरिएको छ ।
बालबालिकालाई आफ्नो बारेमा छोटकरीमा केही भनिदिनुस् न !
प्यारा भाइबहिनीमा मेरो धेरै धेरै माया अनि नमस्कार । म तपाईंहरुको दिदी यशोदा अधिकारी । म विगत १६ वर्षदेखि पत्रकारिता गरिरहेको छु । भाइबहिनीहरुको बालशुलभताले मलाई लेख्न प्रेरणा मिल्छ । संसारका सबैभन्दा सुन्दर चीजमध्ये बालबालिका पनि हुन्  । मेरो पनि तपार्इंजस्तै सानी छोरी छिन् । उनको  चञ्चलता र बालापनले मलाई बालकथा कविता लेख्न हौसला मिल्छ । मैले यस अगाडि पनि तपाईंहरुका लागि क ख गीत बाल कविता संग्रह प्रकाशन गरेको थिएँ । त्यो तपाईंहरुले धेरै नै मन पराइदिनुभयो । त्यसकैै प्रेरणाले फेरि जुरेली र मयूर बाल कथा संग्रह लिएर तपाईंको साथमा आएको छु । आशा छ प्यारा भाइबहिनीहरुले मन पराइदिनुहुनेछ ।
प्रश्न १. ‘जुरेली र मयूर’  कृतिमा कस्ता बालकथाहरु रहेका छन् ?
जुरेली र मयूर बालकृतिमा सातवटा बालकथा छन् । यसमा रहेका कथाहरुमा जुरेली र मयूर, बाँदरको हवाइजहाज यात्रा, राममाया, हजुरआमाको गहना, ड्राइभरको फुर्ती, अजंगको दरबार र बोबोको विहे शीर्षकका  कथा  छन् । कथा पढेर बालबालिकाहरु रमाउनेछन् भन्ने विश्वास छ ।
२. तपाईं बालसाहित्य किन लेख्नुहुन्छ ? बालसाहित्य लेखनको उद्देश्य के हो ?
 मनमा लागेका रहर पूरा गर्न लेख्छु । बालबालिकाको आनीबानी अनि उनीहरुको गतिविधि असाध्यै प्रिय लाग्छन् । त्यस्ता बालबलिकाका लागि केही शिक्षाका लागि केही मनोरञ्जनका लागि अनि केही ज्ञानका लागि लेख्न मन लाग्छ । लेखनको उद्देश्य भनेकै बालबालिकालाई प्रभावित पार्नु हो । उनीहरुलाई कति प्रभावित बनाउन सकेँ । कति ज्ञान र मनोरञ्जन दिन सकेँ पक्कै पनि प्यारा प्यारा भाइबहीनीले भन्नु नै हुनेछ ।
३. आफ्नो बाल्यकालमा बिर्सन नसकेको कुनै रोचक घटना सम्झनुभएको छ भने हामीलाई भनिदिनुस् न !
म कक्षा चारमा पढ्थेँ । त्यतिखेर चार कक्षामा पुगेपछि मात्रै अंग्रेजी पढ्नुपथ्र्यो । अंग्रेजी शिक्षकले कक्षामा आएर बोर्डमा एबिसी लेखिदिए । एकैछिन पढेपछि फटाफट सोध्न थाल्नुभयो । मलाई आएन । सरले हातमा लठ्ठीले कुट्नुभयो । सरले कुट्दा मेरो हातमा लगाएका चुराहरु झर्यामझुरुम फुटे । मलाई सरले कुटेकोभन्दा चुरा फुटेकामा दुःख लागेको थियो । म रुँदै  कक्षाबाट बाहिर निस्केँ ।  आमालाई भनिदिन्छु भनेर रुँदै घरतिर भागेँ । म भागेपछि सर पनि दौडेर आउनुभयो र मलाई बोकेर लानुभयो । मैले रिसको झोकमा सरको हातमा बेस्कन टोकिदिएँ ।  म यो घटना कहिल्यै बिर्सन्न ।  अहिले पनि सरलाई भेट्दा त्यही याद आउँछ ।
६ वर्षको थिएँ । मेरो भाइ चार वर्षका थियो । एकदिन मेरी आमाले भाइलाई स्कुल भर्ना गर्न लिएर जानुभयो । भाइसँगै म पनि गएको थिएँ । त्यतिखेर हाम्रो गाउँतिर छोरीलाई पढाउने चलन थिएन । आमाले भाइलाई भर्ना गरिदिनुभयो तर मलाई भर्ना गरिदिनु भएन । म पढ्न नपाउने भएर बेस्कन रोएको थिएँ ।

Opinion: 
Language: