साहित्यकार/पत्रकार दामोदर न्यौपानेसँग ३ प्रश्न

damodar-neupane-ketaketionline

केटाकेटी अनलाइन पत्रिकाको यस पटकको ३ प्रश्नमा साहित्यकार/पत्रकार दामोदर न्यौपानेसँग कुराकानी गरिएको   छ ।

बालबालिकालाई आफ्नो बारेमा छोटकरीमा केही भनिदिनुस् न,

म सिन्धुपाल्चोक ठोकर्पामा जन्मिएको हुँ । मेरो प्रारम्भिक शिक्षा र बाल्यकाल उतै बितेको हो । मेरो उच्च शिक्षाचाहिं काठमाडौंमा भयो । म पेशाले पत्रकार हुँ । डेढ दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत छु । पत्रकारिता सँगस“गै पुस्तक पनि लेख्छु । मेरो पुस्तक लेखनको यात्रा ‘एम्बुसमा ६ वर्ष’ बाट शुरु भएको हो । चार वर्ष पहिला लेखेको हुँ मैंले त्यो किताब । यो सहित ४ वटा पुस्तक बजारमा आएका छन् मेरा । गत वर्ष मैंले ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ पुस्तक लेखें । यो दोस्रो पुस्तक हो मेरो । यो पुस्तक बालबालिकालाई केन्द्रमा राखेर लेखिएको छ । यसमा नेपाली बालबालिकाको अवस्था चित्रण गरिएको छ । यसमा शिक्षा, सिकाइमा गहिरिँदै गएको खाडल देखाइएको छ । राम्रो आर्थिक अवस्था हुनेहरु राम्रो स्कुलमा पढ्ने र कमजोर आर्थिक अवस्था हुने सामुदायिक स्कुलमा पढ्नु पर्ने अवस्था यसमा केलाइएको छ । सामुदायिक स्कुलको अवस्था खस्कदै गएको तथ्य यसमा देखाइएको छ । शहरका सामुदायिक स्कुल श्रमिक पढ्ने स्कुल र गाउँका सामुदायिक स्कुल गरिब पढ्ने स्कुलमा परिणत हुँदै गएको तितो यथार्थ यसमा देखाइएको छ । बालबालिकाको समग्र विकासको लागि के गर्न सकिन्छ भन्ने चिन्तन पनि छ यो पुस्तकमा ।
तेस्रो पुस्तक ‘ट्यालेन्ट शो’ हो । ‘ट्यालेन्ट शो’ बालचित्रकथा  हो । यसमा शिक्षकले विद्यार्थीलाई गर्ने विभेदले कमजोर विद्यार्थीमा कस्तो मनोवैज्ञानिक असर पर्छ भनेर चित्रण गरिएको छ ।
मैले कठिन समयमा पत्रकारिता शुरु गरेको हुँ । त्यतिबेला हाम्रो देशमा माओवादीले संचालन गरेको युद्धले देशलाई गाँजेको थियो । लेख्न अप्ठेरो थियो । लेख्दा राज्यबाट पनि विद्रोही पक्षबाट पनि धम्की आउथ्यो । ज्यानको खतरा थियो । ज्यान जोखिममै राखेर भएपनि मैले लेख्न छाडिनँ । डटेर कलम चलाएकाले मेरो मूल्यांकन पनि भयो । मैंले राष्ट्रिय पत्रकारिता पुरस्कार र साहसी संवाददाता सम्मान पनि पाएँ । त्यसबाहेक थुप्रै सम्मान पुरस्कार पाएको छु । आफ्नो पेशामा निरन्तर खटेको भएरै मैले सम्मान पुरस्कार पाएको हुँ । 

प्रश्न १.  तपाईं किन लेख्नुहुन्छ ?

म बहस चलाउन लेख्छु । आवाजविहीनको आवाज बन्नको लागि लेख्छु । आवाजविहीनहरुको पक्षमा जनमत बनोस् भनेर लेख्छु । समाज राम्रोसग अगाडि बढाउन राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्छ भन्ने मान्यता राख्दछु म । राम्रो काम गर्नेलाई दण्ड र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्ने वातावरण कलमले जति अरुले बनाउन सक्दैन भन्ने मलाई लाग्छ । यही मान्यताले लेख्छु । मेरो पत्रकारिता यही मान्यताले निर्देशित छ । मेरो पुस्तक लेखन पनि यही मान्यतामै टेकेर अघि बढेको छ ।

प्रश्न २. पछिल्लो पटक तपाईंको कुन पुस्तक प्रकाशित भएको छ ? त्यो तपाईंको कृति बालबालिकाले किन पढ्नुपर्छ भन्ने लाग्दछ ?

मैले पछिल्लो पटक ‘स्वर्णिम समय’ लेखेको छु । यो सार्वजनिक भएको दुई साता मात्रै भएको छ । यो हाम्रो समाजमा विभिन्न तह र तप्कामा रहेर हाम्रो समाजका लागि केही महत्वपूर्ण काम गरिरहनु भएका विभिन्न ५१ जनाको बाल्यकाल र बालापन समेटिएको पुस्तक हो । यो पुस्तकले त्यो बेलाको समाज र यो बेलाको समाज बुझ्न सहयोग गर्छ । यसमा त्यो बेलाको शिक्षा, सिकाइ र समाज कस्तो थियो भनेर देखाएको छ । त्यो बेलाको समाज र यो बेलाको समाज तुलना गर्न मिल्ने पुस्तक शायद आएका छैनन् । बाल्यकाल र बालापनका विषय समेटिएका पुस्तक त झन् बजारमा छदै छैनन् । त्यही हुनाले यो नयाँ शैलीको पुस्तक हो । त्यही भएर पनि यो किताब बालबालिकाले पढ्नुपर्छ । यसमा त्यो बेलाको समय, शिक्षा, सिकाइ, आर्थिक अवस्था, सामाजिक अवस्था, राजनैतिक अवस्था, भौगोलिक अवस्थाको चित्र पाइन्छ । त्यति मात्रै होइन, हिमाल, पहाड, तराईको जीवनशैली पनि बुझ्न पाइन्छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका पात्र समेटिएका छन् यसमा । त्यहाँको अवस्था प्रष्ट पारिएको छ पुस्तकमा । लैंगिक, भौगोलिक, पेशा, जाति, भूगोल, शारीरिक अवस्था आदिका विषयमा पनि समावेशी पुस्तक हो यो । लैंगिक आधारमा महिलाका विषय पनि जोडदार रुपमा उठाइएका छन् । त्यतिबेला महिलालाई शिक्षा लिन कति कठिन थियो भनेर देखाइएको छ । अपाङ्गका समस्या पनि छन् यसमा । यी सबै पात्रको बाल्यकाल अत्यन्त कष्टपूर्ण तरिकाले बितेको थियो । अप्ठेरो अवस्था पार गरेर आएकाहरु सफल भएका छन् । तुलनात्मक रुपमा त्यो बेलाको भन्दा अहिलेको बालबालिकालाई निकै सुविधा छ । अप्ठेरो अवस्था पार गरेका त सफल भए भने अहिले सजिलो अवस्था रहेको बेला हामीले के ग¥यौं ? तुलना गर्न सिकाउँछ यो पुस्तकले । संघर्षका कथा पढ्दा ए मैले पनि केही गर्न सक्ने रहेछु भनेर उर्जा दिन्छ । समग्रमा प्रेरणीय– प्रेरणा दिन सफल कथाको संग्रह हो यो पुस्तक । प्रेरणीय पुस्तकले केही गर्न प्रेरणा दिन्छ । त्यही भएर बालबालिकाले यो पुस्तक पढ्नुपर्छ ।


प्रश्न ३. बालबालिकाले किन पुस्तक पढ्नुपर्छ जस्तो लाग्छ ? तपाईं किशोरहरुका लागि कुन दुई पुस्तक सिफारिस गर्न चाहनुहुन्छ ? 


यो अत्यन्त महत्वपूर्ण सवाल हो । हामीले पुस्तक लेखेकै पाठकले पढ्नुहोस् भनेर हो । हाम्रो देशमा पठन संस्कृति छ“दै छैन । यसले हामीलाई चिन्तित बनाएको छ । हामीले पुस्तक मात्रै लेखेका छैनौं कि पठन संस्कृति बढाउनु पर्छ भनेर प्रयास पनि गरिरहेका छौं । पठन संस्कृति बढाउन मेची–महाकाली दौडिएका पनि छौं ।


अब किन पढ्ने ? पठन संस्कृति बढाउन किन आवश्यक छ  भन्ने विषयमा केही कुरा भन्न चाहन्छु ।
वास्तवमा पढ्नु आवश्यक छ किनभने पढाइले मान्छेको चेतना स्तर बढाइदिन्छ । कोर्सका बाहेकका पुस्तक पढ्नाले बालबालिकाको ज्ञानको क्षितिज फराकिलो बनाइदिन्छ । पढ्ने विद्यार्थीको चेतनाको स्तर औसत विद्यार्थीको भन्दा माथि हुन्छ । किताबमा सूचना हुन्छन् । सूचना भनेको ज्ञानको स्रोत हो । ज्ञान भनेको शक्ति हो । यसले आन्तरिक शक्ति बढाउँछ । आन्तरिक शक्तिले आत्मविश्वास बढाउँछ । आत्मविश्वासको बलले असल र सफल मान्छे बन्न सकिन्छ ।
पुस्तकले कल्पनाशक्ति बढाउँछ । कल्पनाले हो सिर्जनशीलता बढाउने । सिर्जनशीलताले हो आविष्कार गर्ने । त्यही कारण पढ्नुपर्छ । पढ्ने वातावरण त्यसै बन्दैन । पढ्ने वातावरण बन्न पठन संस्कृति हुनुपर्छ । जहाँ पठन संस्कृति छ, त्यहाँ  पढ्ने वातावरण सिर्जना हुन्छ । चाहे घरमा होस् या स्कुलमा । बालबालिकामा पठन संस्कृति बढाउन पुस्तक पढ्नुपर्छ भन्ने चेतना घरमा हुनुपर्छ, अभिभावकमा हुनुपर्छ । विद्यालयमा हुनुपर्छ, शिक्षकमा हुनुपर्छ । अनि मात्र बालबालिकालाई पुस्तक पढ्न प्रेरित गर्ने वातावरण बन्छ ।
कस्तो किताब पढ्न दिने भनेर चाहिं होसियारी अपनाउनु पर्छ । किताब सूचनामूलक, ज्ञानवद्र्धक, मनोरन्जन दिने खालको    हुनुपर्छ । प्रगतिका रहस्य देखाइदिने, प्रेरणा दिने जीवनी जस्ता पुस्तक दिनुपर्छ । यसले उनीहरुको बौद्धिक क्षमता विकास गराउँछ । बौद्धिक क्षमता विकास भएपछि जीवनमा आइपर्ने चुनौती कसरी सामना गर्ने भनेर पनि मानसिक रुपमा तयार हुन्छ । चुनौती सामना गर्न तयार हुनु भनेको आत्मबल बलियो हुनु हो । जवाहरलाल नेहरुले भनेका छन्, जुन पुस्तकले तिमीलाई सबैभन्दा बढी सोच्न विवश बनाउ“छ त्यो नै तिम्रा लागि उपयोगी हुन्छन् । लङगफोर्डले भनेका छन्— पुस्तकप्रेमी मान्छे सधैं धनी हुन्छ । आदिकवि भानुभक्त आर्चायले भनेका छन्, ‘पुस्तकको पूजा गर्नेले अश्वमेघ यज्ञ गरिराख्नु पर्दैन ।’ भोल्तेयरले भनेका छन्— पुस्तकले संसारलाई शासन गर्छ । अथवा कम्तीमा ती राष्ट्र विश्व मानचित्रमा रहिरहन्छन्, जोसँग लिखित भाषा छ ।’ महात्मा गान्धीले भनेका छन्, ‘पुस्तकको मूल्य एक बहुमूल्य रत्नभन्दा पनि अधिक हुन्छ । किनकि रत्नले बाहिरी चमकदमक बढाउ“छ । जबकि पुस्तकले अन्तःकरण अर्थात् भित्री मन उज्ज्वल बनाउँछ ।’
यी महापुरुषहरुको भनाइले पनि पुस्तकको महत्व बुझाउँछ । संसारका सफल र असल व्यक्तिको जीवनी पढ्यौ भने थाहा हुन्छ— उनीहरु किताब पढेरै असल भएका हुन् । असल भएरै सफल भएका हुन् । सफल भएरै उनीहरुको जीवन प्रेरणीय प्रेरणा दिन लायक बनेको हो ।
धर्मग्रन्थ, नैतिक ग्रन्थ, सेल्फ हेल्प जस्ता पुस्तकले सकारात्मक सोच बढाउन मद्धत गर्छन् । छोटकरीमा भन्दा पुस्तकले मष्तिष्कमा उर्जा भरिदिन्छन् । उर्जाले हो लक्ष्यमा पुग्ने । लक्ष्यमा पुग्ने उर्जा दिन्छ पुस्तकले । त्यही भएर पुस्तक पढ्ने गर्नुपर्छ ।
दुईवटा मात्रै पुस्तक सिफारिस गर्नुस् भन्ने प्रश्न अत्यन्त जटिल हो । दुईटा छान्नु पर्दा एउटा ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ छान्छु । किनभने यसमा वर्तमान समाजमा वालबालिकाले भोग्नु परेको अवस्था चित्रण गरिएको छ । नेपाली समाजको अध्ययन गरेर लेखिएको पुस्तक भएकाले यो पढ्न सिफारिस गर्छु । अर्काेचाहिं सत्यमोहन जोशीले लेख्नुभएको ‘नेपाली कलाको रुपरेखा– प्राचीन र मध्यकालीन नेपाली कला’ पुस्तक पढ्न सिफारिस गर्छु । किनभने यसले हाम्रा कला, संस्कृति र प्राचीन समय बुझ्न सहयोग गर्छ । आजको समाज मात्रै होइन, हाम्रा पुराना संस्कृति, परम्परा, इतिहास बुझ्न पनि बालबालिकालाई प्रेरित गर्नुपर्छ । पुरानो समाज बुझ्न यो पुस्तकले सहयोग पुग्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा एक शताब्दी टेकेका शताब्दी पुरुष सत्यमोहन जोशीले ९९ वर्षको उमेरमा लेख्नुभएको पुस्तक हो यो । त्यो उमेरमा पनि सक्रिय रहिरहने उहाँको जीवनशैली आफैंमा प्रेरणाको स्रोत हो । यस कारण यो पुस्तक हामीले पढ्नुपर्छ ।

Opinion: 
Language: