नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल सम्पन्न

Abin-Shrestha-ketaketionline

काठमाडौं, मंसिर १ गते, शुक्रवार ।
केटाकेटी अनलाइन पत्रिकाको आयोजना तथा बुकआर्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । बालसाहित्यका वरिष्ठ चित्रांकनकर्ता अविन श्रेष्ठसँग ‘मेरो दृष्टिमा वर्तमान बालसाहित्य’ विषयक विशेष प्रस्तुति तथा छलफल भएको यस कार्यक्रममा वरिष्ठ चित्रकार श्रेष्ठले नेपाली बालसाहित्य लेखन र चित्रांकनको वर्तमान अवस्थाबारे आफ्ना महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले आफ्नो प्रस्तुतिमा बालसाहित्य लेखनमा एउटै ढाँचाको लेखन दोहोरिरहेको, चित्रांकनमा पनि नयाँपन आउन नसकेको, लेखकहरुले विविध विषयमा कलम चलाउन नसकिरहेको तथा चित्रांकनमा पनि विशेष कार्य हुन नसकिरहेकोले यस क्षेत्रको विकासका लागि अझ बढी मिहिनेत गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
विचार व्यक्त गर्नेक्रममा वरिष्ठ चित्रकार श्रेष्ठले चित्रकारलाई स्वतन्त्र ढंगले उसमा विकसित भएको शैली अनुसार काम गर्न दिए मात्र गुणस्तरीय कामको अपेक्षा गर्न सकिने धारणा राख्नु भएको थियो । साथै, उहाँले बालसाहित्य लेखनमा ‘एनजिओ र आइएनजिओ माग’ को पक्ष हावि हुँदा लेखकहरुको सिर्जनशीलता मर्दै गएको हो कि जस्तो आफूलाई महसुस भइरहेको धारणा राख्नु भएको थियो । उहाँको तर्क थियो– ‘एनजिओ र आइएनजिओले खोजेका जस्ता किताब लेख्ने होडमा नेपाली बालसाहित्य फास्टफुड बन्दै गएको हो कि ! लेखकहरुले अहिले उनीहरुकै डिमान्डका किताबमा जोड दिँदा मौलिक नेपाली समाजका कथाहरुको कमी भइरहेको मैले महसुस गरेको छु ।’
त्यस्तै चित्रकार श्रेष्ठले लेखकहरुले प्रकाशकले वा आइएनजिओले यस्तो किताब छापिदिन्छन् भन्ने आशाबाट प्रेरित भएर लेख्दा त्यसले नेपाली बालसाहित्यमा सबै माझ परिचित पात्र जन्माउन नसकिएको हो कि भन्ने धारणा राख्नु भएको थियो । उहाँको तर्क थियो, जबसम्म चित्रकार र लेखकले सिर्जनामा डुबेर कसैको डिमान्ड नसोची मिहिनेतका साथ काम गर्छन् तब मात्र सबैलाई आकर्षित गर्ने काम गर्न सक्छन् । होइन भने उही पुरानै ढर्राको काममा नेपाली बालसाहित्य अल्मलिरहने छ ।
उक्त अवसरमा आफ्नो प्रस्तुतिमा चित्रकार श्रेष्ठले बाल किताब प्रकाशन गर्दा विविध आकारमा प्रकाशन गरिनु पर्ने, 'पुस्तक उपहार दिऔं' नारालाई सार्थक बनाउने हो भने पनि गिफ्ट दिन लायकका हार्ड बुकहरु, सिरिज बुकहरु प्रकाशन हुनुपर्ने तर्क गर्नु भएको थियो । उहाँले प्रस्तुतिका क्रममा प्रोजेक्टरबाट अडियो, भिडियो र फोटोहरु प्रदर्शन गरी विश्वमा बालसाहित्यका क्षेत्रमा भइरहेका नयाँ नयाँ प्रयोग र गतिविधिहरुबारे प्रकाश पार्नु भएको थियो । साथै उहाँले विश्वमा बालसाहित्य किताबहरुमा के कस्तमा विविध माध्यमबाट चित्रकला प्रस्तुत भइरहेको छ भन्ने विषयमा नमूना प्रस्तुत गर्दै सहभागीलाई स्पष्ट पार्नु भएको थियो । साथै, कलाकारलाई पनि यी विविध शैलीमा काम गर्न प्रेरित गर्नु भएको थियो ।
छलफल कार्यक्रममा सहभागी हुँदै लेखक इन्द्रकुमार श्रेष्ठ सरितले प्रकाशकहरुले लेखकका कृतिहरु प्रकाशन गर्न अत्यन्त ढिलाइ हुने गरेको र मुख्य धारका प्रकाशकहरुको पनि पटकपटक कुरा फेर्ने प्रवृत्तिबाट लेखक पीडित भएको गुनासो गर्नु भएको थियो । उहाँले भन्नुभयो, बजारले कस्तो बालसाहित्य चाहिरहेको छ ? यस कुरामा प्रकाशकहरुले हामी लेखकहरुलाई स्पष्ट गर्नु पर्यो नि !
कार्यक्रममा केटाकेटी अनलाइनका सम्पादक कार्तिकेय, मेनेजर सफल शर्मा, लेखकहरु लक्ष्मी उप्रेती, गंगा कर्माचार्य पौडेल, उर्मिला पन्त पाण्डेय, रश्मी रिमाल, महेश क्षितिज, केशव लम्साल, चित्रकारहरु संगी श्रेष्ठ, देवेन्द्र थुम्केली, सोनाम तामाङ, देव महर्जन, लगायतको उपस्थिति रहेको  थियो । 

Segment: 
Language: