मेरो कथाको एलियन विमोचित

alian-book-launching

ललितपुर, मंसिर २ गते, शनिवार ।

आजबाट नेपाली बालसाहित्यको भण्डारमा अर्को एउटा किताब थपिएको छ, त्यो हो ‘मेरो कथाको एलियन’ नामक बालचित्रकथाकृति । बालसाहित्य लेखक अनुराधाले लेख्नुभएको र चित्रकार सुमन महर्जनले चित्रांकन गर्नुभएको यो च्याप्टर बुक आज आयोजित एक समारोहबीच किताबका लेखक अनुराधा, चित्रकार सुमन महर्जन र वरिष्ठ बालसाहित्य लेखक शान्तदास मानन्धरले संयुक्त रुपमा विमोचन गर्नुभयो । काठमाडौं पब्लिकेसनबाट प्रकाशित यस किताबलाई चर्चित उपन्यासकार नयनराज पाण्डेले सम्पादन गर्नुभएको हो ।
विमोचन समारोहमा बोल्दै वरिष्ठ लेखक शान्तदासले बालसाहित्यमा कल्पनाशीलताको ठूलो महत्व हुने र बालबालिकालाई सपना देख्न र कल्पना गर्न प्रेरित गर्नु असल बालसाहित्यको धर्म भएकाले नयाँ नौलो लोकको कल्पना गरिएको यो किताब पठनीय रहेको धारणा व्यक्त गर्नुभयो । साथै उक्त समारोहमा पुस्तकको चित्रांकन पक्षबारे बोल्दै वरिष्ठ कलाकार के.के. कर्माचार्यले चित्रकार सुमन महर्जनको काम उत्कृष्ट रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, वास्तवमा यो किताबमा चित्रले कथालाई उत्कृष्ट बनाएको छ । चित्र पक्ष एकदमै सुन्दर छ ।
उक्त किताब सम्पादन गर्दाको अनुभव व्यक्त गर्दै सम्पादक नयनराज पाण्डेले बालसाहित्य लेख्न गाह्रो रहेको धारणा व्यक्त गर्दै आफू सधैँ सिक्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, यो किताबको सम्पादन पनि मेरो बालसाहित्य लेखनको यात्राको एउटा महत्वपूर्ण सिकाइ हो । म पठन संस्कृतिको विकासमा समर्पित बालसाहित्य लेखकहरुप्रति सधैं कृतज्ञ रहि रहनेछु ।
समारोहमा बोल्दै बालसाहित्यमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने लेखक अनुराधा र चित्रकार सुमन महर्जनलाई वक्ताहरुले उत्कृष्ट कार्यका लागि बधाई दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखक र चित्रकारद्वयले अग्रजबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै भविष्यमा कमी कमजोरीलाई सुधार गर्दै जाने विचार व्यक्त गर्नुभएको थियो । उक्त समारोहको संचालन बालसाहित्य लेखक कविता सापकोटाले गर्नु भएको थियो ।

Segment: 
Language: