नौ वर्षीय बालकको ‘डग बुक’ विमोचित

dog-book-launching

काठमाडौं, चैत १६ गते शुक्रवार
मानवीय मूल्य मान्यतालाई जागृत गर्ने उत्कृष्ट शिक्षाको पहिलो रोजाई बृहस्पति विद्यासदन स्कुल, नक्साल, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालक नयन घिमिरे लिखित ‘डग बुक’ आज विद्यालयमा आयोजित एक विशेष समारोहबीच विमोचित भएको  छ ।
        वरिष्ठ बालसाहित्य लेखक गोपाल पराजुली, बृहस्पति विद्यासदन स्कुलका प्रमुख सल्लाहकार मुरारीनिधि तिवारी, सोही विद्यालयका प्रिन्सिपल सुमन थिङ लामा र एकेडेमिक कोअर्डिनेटर कुमार थापाद्घारा संयुक्त रुपमा विमोचित उक्त कृतिमा विभिन्न ३४ किसिमका कुकुरहरुको तस्बिरसहित संक्षिप्त परिचय समावेश भएको छ । यो किताब पूर्णतया रंगीन साजसज्जामा प्रकाशित गरिएको छ । किताबमा पाठकले विभिन्न जातका कुकुरहरुसम्बन्धी रोचक जानकारीहरु पढ्न पाउनेछन् ।
सानै उमेरदेखि कुकुरसम्बन्धी विभिन्न जानकारी लिन उत्सुक रहने बालक नयनले यो कृति तयार गर्दा आफूलाई निकै रमाइलो लागेको बताउनुभयो । उहाँले आफ्नो मामा डा. सरोज गौतमको हौसलाले यो किताब लेख्न सफल भएको कुरा पनि बताउनुभएको थियो ।
         कार्यक्रममा बोल्दै प्रिन्सिपल सुमन थिङ लामाले सानो बालकको किताब प्रकाशन हुनु आफू र आफ्नो विद्यालय परिवारका लागि गौरव भएको विचार राख्नुभएको थियो । साथै एकेडेमिक कोअर्डिनेटर कुमार थापाले बालप्रतिभा नयनमा राम्रो वक्ता बन्न सक्ने संभावना पनि आफूले देखेको धारणा राख्दै बृहस्पती स्कुल सधैं आफ्नो पहिचानका राम्रा कुराहरुलाई आत्मसात् गर्दै २१ औं शताब्दीका बालबालिकाका लागि उपर्युक्त शिक्षा दिनमा कटिबद्घ रहेको विचार व्यक्त गर्नुभएको थियो । समारोहमा सानो लेखक नयन घिमिरेकी माता एवम् एनटीभीकी पत्रकार सुभद्रा गौतमले आफ्नो बालकको सानो किताब निस्किएकोमा अरु आमाजस्तै आफू पनि खुसी भएको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ बालसाहित्यकार गोपाल पराजुलीले निजी विद्यालयले अंग्रेजी र नेपाली दुवै भाषालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आजका बालकहरु अर्थात् विद्यार्थीहरु जान्ने मात्र भएर हुँदैन उनीहरु असल पनि हुनुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । महेश पौड्याल सम्पादित यस किताबलाई बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । यस कार्यक्रमको संयोजन बृहस्पती स्कुलकी मिडिया कोअर्डिनेटर डोल्मा लामा शाहले गर्नुभएको थियो ।
         सानैदेखि कथा सुन्न र पढ्न असाध्यै रुचि राख्ने नयन घिमिरेले नेपाली र विदेशी लेखकका गरी एक हजारभन्दा बढी बालसाहित्य कृतिहरुको अध्ययन गरिसकेका छन् । उनी हरेक दिन नयाँ किताब पढ्न पाए हुन्थ्यो भनेर कुरिरहेका हुन्छन् । उनका मन पर्ने लेखकहरु रोल डाल, एनिड ब्लाइटन, हान्स क्रिस्चियन एन्डरसन, कनकमणि दीक्षित आदि हुन् । उनको मन पर्ने चित्रकार अविन श्रेष्ठ हुन् ।

 
 

Segment: 
Language: