आज किशोरीका कुरा गरौँ । - सिर्जना शर्मा

kishori-article-by-srijana

किशोरावस्था शारीरिक विकासको एउटा विशेष र संवेदनशील चरण हो । किशोरकिशोरीलाई स्वास्थ्य तथा व्यवहारसम्बन्धी सञ्चार कार्यक्रमहरुको विशेष सहयोग आवश्क हुन्छ । तर, अधिकांश किशोरकिशारीहरुसँग किशोरावस्थावारे सही र पूर्ण जानकारी हुँदैन । किशोरकिशारीहरुलाई किशोरावस्था र प्रजनन् स्वास्थ्यवारे सही जानकारी हासिल गर्नबाट रोक्ने थुप्रै सामाजिक बाधा र अड्चनहरु हुन्छन् ।
    यी बाधालाई हटाउन बालसाहित्य वा किशोर साहित्यका माध्यमले हामीले उनीहरुलाई प्रेरणा र ज्ञान दिन सक्छौं । तसर्थ उनीहरुका लागि कलम चलाउने लेखकहरु र किशोरकिशारीहरुले समेत यो अवस्थावारे जानकारी राख्नु आवश्यक छ । तसर्थ यस पटकका लागि हामीले यो सामग्री नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रबाट प्रकाशित पुस्तिकाबाट साभार गरेका हौं । यो सामग्री लेखन सिर्जना शर्माले गर्नुभएको हो भने विशेषज्ञ सल्लाहकारहरु बद्रीबहादुर खड्का, निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, सागर दाहाल, वरिष्ठ जनस्वस्थ्य प्रशासक, डा. आशिष केसी, स्वास्थ्य तथा पोषण कार्यक्रम सल्लाहकार, सेभ द चिल्ड्रेन, यू.एस.ए., प्राविधिक तथा विशेषज्ञ सल्लाहकारमा ब्राड केर्नर, सेभ द चिल्ड्रेन यू.एस.ए., सहयोगीमा परिवार स्वास्थ्य महाशाखा र चित्र तथा डिजाइन राजुबाबु शाक्य ‘शारब’ को रहेको छ । यो सामग्री टाइप गरी हाम्रा लागि सुहाउँदो बनाउनु हुने केटाकेटी मिडियाका डाइरेक्टर आयुसी सामरीप्रति हामी आभारी छौँ ।


किशोरावस्था भनेको के हो ?


हरेक व्यक्तिले जीवनमा शारीरिक विकासका विभिन्न चरणहरु पार गर्छन् । १० देखि १९ वर्ष उमेरसम्मको किशोरावस्थामा थुप्रै शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरु देखा पर्छन् । यी सबै परिवर्तनहरु किशोरावस्थाका विशेषताहरु हुन् । र, यी परिवर्तनहरु स्वाभाविक हुन् । यी परिवर्तनहरु सबै किशोरहरुलाई एउटै उमेरमा हुन्छ भन्ने छैन । कसैलाई अलि छिटो तथा कसैलाई अलि ढिलो अनुभव हुन सक्छ ।

किशोरावस्थाका केटीहरु अर्थात् किशोरीहरुमा निम्नलिखित शारीरिक परिवर्तनहरु देखा पर्छन् :


१. अग्लो हुन थाल्छन् । २. काखी र यौनाङ्ग वरपर रौंहरु उम्रिन्छन् । ३. स्तन बढ्न थाल्छ । ४. आवाज सुरिलो हुन्छ । ५. अनुहारमा चिल्लो पदार्थ आउन थाल्छ जसले गर्दा डण्डीफोर आउँछ । ६. बढी पसिना आउन थाल्छ, त्यसैले नुहाउनु पर्छ नत्र शरीर गन्हाउँछ । ७. महिना वारी (नछुने हुने) सुरु हुन्छ ।
यी शारीरिक परिवर्तनबाहेक उनीहरुले थुप्रै भावनात्मक परिवर्तनहरु पनि अनुभव गर्न थाल्नेछन् । जस्तै, कुनै दिन मन खुसी हुन्छ र अर्को दिन मन उदास हुन सक्छ । कुनै बेला उनीहरुलाई साथीहरुसँग बाहिरतिर डुल्न मन लाग्छ । कुनै बेला एकान्तमा एक्लै बस्न मन लाग्छ ।

यी शारीरिक तथा भावनात्मक परिवर्तनहरुका कारण किशोरहरुमा नयाँ इच्छाहरु पलाउँछन् । जस्तै,
१. अरुलाई मोहित पार्ने । २. अरुले आफ्नो भावना बुझिदिऊन् भन्ने ।
३. किशोरीहरुमाझ नै आफ्नो छुट्टै समूह बनाउने । ४. स्कुलमा सफल हुने तथा साथीहरुमाझ सबैभन्दा राम्रो हुने ५. विपरीत लिङ्गीप्रति आकर्षित हुने ।

किशोरीहरुका केही प्रश्न र उत्तरहरु :

१. अनुहारमा डण्डीफोर किन आउँछ ?

किशोरवस्था तब सुरु हुन्छ, जब शरीरमा छुट्टै रसायन पैदा हुन्छ । यसलाई ‘हर्मोन’ भनिनछ । यही हर्मोनले गर्दा छालामा तेल पैदा हुन्छ र अनुहारमा डण्डीफोर आउँछन् ।
२. विवाहपछि डण्डीफोरहरु हराएर जान्छन् हो ?

विवाहपछि डण्डीफोरहरु हराएर जान्छन् भन्ने भनाइ गलत हो । डण्डीफोरबाट छुटकारा पाउन दिनमा ४–६ पटक चिसो र सफा पानीले अनुहार धुनुपर्छ । औंलाले डण्डीफोर फुटाउनु हुँदैन । धेरै तेल हालको, तारेको खाना र चकलेट खानु हुँदैन । अनुहार सधैं सुख्खा र सफा राख्नुपर्छ । यसो गर्दा अनुहारमा डण्डीफोर कम भए पनि पूर्ण रुपले हराउने भने हुँदैन । डण्डीफोर किशोरावस्थाको सामान्य विशेषता हो ।
३. किशोरावस्थामा केटा र केटीहरु किन बढी जिज्ञासु हुन्छन् ?

शरीर र मनमा आएको परिवर्तनका कारण किशोरावस्थामा केटा र केटीहरु नयाँ–नयाँ कुरा सिक्न चाहन्छन् । तर, यो चाहनाले तिनीहरुलाई कहिलेकाहीँ लागूपदार्थको कुलत र असुरक्षित यौन–सम्पर्कजस्तो समस्यामा पनि पार्न सक्छ ।

४. साथीभाइको दबावबाट कसरी मुक्त र सुरक्षित रहने ?

आफ्नो समस्या अभिभावक र अनुभवी साथीलाई बताऊ । उनीहरुले तिमीलाई साथीभाइको अनुचित दबावबाट कसरी बच्ने भन्नेवारे राम्रो सुझाव दिन सक्छन् ।

५. महिनावारी (नछुने हुनु) भनेको के हो ?

नछुने हुनु भनेको किशोरी अर्थात् केटीको शरीर पूर्ण रुपमा विकसित भई भविष्यमा बच्चा जन्माउ तयार हुँदैछ भन्ने संकेत हो । केटीहरु नछुने हुन थालेपछि गर्भवती हुन शारीरिक रुपले सक्षम हुन्छन् । तर, यसको अर्थ सबै हिसाबले बच्चा जन्माउन र हुर्काउन तयार भइसकेको भन्ने होइन । नछुने भएको बेला तीनदेखि चार–पाँच दिनसम्म योनीबाट रगत बग्छ । यो क्रम हरेक महिना चल्छ । हरेक केटीको योनीबाट उति नै रगत बाहिर जान्छ भन्ने हुँदैन । धेरैजसो केटीहरु पहिलोपटक महिनावारी हुँदा आत्तिन्छन्, किनकि उनीहरुलाई यो के हो भन्ने थाहै हुँदैन । तर यसमा डराउनु पर्ने कारण छैन । यो हरेक केटीलाई हुन्छ ।  


किशोरीका कथा

१. सविनाको कथा


मेरो योनीबाट सेतो पदार्थ बग्न थालेको केही महिना भएको थियो । यो मलाई अनौठो लागिरहेको थियो । तर मलाई दुख्ने वा अप्ठ्यारो हुने वा ज्वरो आउने केही समस्या थिएन । त्यसैले मैले यसबारे कसैलाई केही भनेकी थिइनँ । एकदिन म दिदीसँग कोठामा बसिरहेकी थिएँ । दिदीले मेरो कट्टुमा रगत देख्नुभएछ र झस्कँदै भन्नुभयो, ‘सविना तिमी नछुनी भएछौ ।’ नछुने भएपछि केटाहरुसँग लसपस भएमा पेटमा बच्चा बस्छ भन्दै दिदीले मलाई सचेत पार्नुभयो । मैले दिदीको कुरा बुझिनँ । म छक्क परेँ । लसपस भनेको केटालाई छुनु हो अरे भने त कुनै केटालाई छोएँ भने अब मेरो पेटमा बच्चा बस्छ भनेर म खुब डराएँ । स्कुलमा त्यति धेरै केटा थिएँ । केही दिन त मेरो मेरो सबैबाट भागाभाग भयो ।
पछि मैले यो कुरा आएर दिदीलाई भनें । सुरुमा त दिदी मज्जाले हाँस्नुभयो । फेरि उहाँले सम्झाउँदै भन्नुभयो, ‘केटालाई छुदैमा केटीहरुको पेटमा बच्चा बस्ने होइन । महिनावारी भएपछि केटीहरुले कुनै केटासँग यौन सम्पर्क राख्दामात्रै पेटमा बच्चा बस्छ ।’
पहिलेको कुरा सम्झँदा लाग्छ, हामीलाई नछुने हुनुअघि नै त्यसबारे जानकारी भए राम्रो हुने थियो । नछुने हुँदा डराउनु पनि जरुरी रहेन छ । सबै केटीहरु किशोरावस्थामा पुगेपछि नछुने हुँदा रहेछन् । दिदीले भनेका कुरा अहिले मैले राम्ररी बुझेँ । नछुने भएपछि के गर्नुपर्छ भन्नेवारे म तपाईंलाई अर्को अंकमा भन्ने छु है ।
आज म तपाईंलाई मेरो साथी आशाको कथा उसकै शब्दमा सुनाउँछु नि है ! ऊ आफ्नो कथा यसरी भन्छे :

यस्तो सधैं किन हुन्छ ? 

नमस्ते म आशा हुँ ।
अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर–मिसले पनि मलाई एकदमै माया   गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु पनि सबै मिलनसार छन् । तर मलाई सधैं मेरो विद्यालयको गेटमा नपुगुन्जेलसम्म दिक्क लाग्छ । डर पनि लाग्छ । विद्यालय पुगेपछि भने म दङ्ग हुन्छु । खुसी हुन्छु ।
म विद्यालय जाने बेलामा किन दिक्क हुन्छु ? किन डर लाग्छ मलाई ? तपाईंलाई जान्न मन लाग्यो होइन ?
ल सुन्नुस्, आज म तपाईंलाई सत्य कुरा भन्छु ः
म सधैं हतारहतार गर्दै ठीक नौ बजे विद्यालय जाने बाटोमा हिँड्न थाल्छु । ठ्याक्कै पच्चीस मिनेट हिँडेपछि म घरबाट विद्यालय पुग्छु । म विद्यालय जाने बाटोमा रुखहरु छन् । बाँसघारीको बाटो पनि पर्छ । ओरालो बाटो पनि छ । त्यहाँनिर सानो जङ्गलजस्तै साना–साना रुख र बुट्यानहरु पनि छन् । जहिले म त्यो बाटो भएर जाँदा कपाल ठाडो पारेका र कपाल खुइल्याएका केटाहरु बसिरहेका हुन्छन् । उनीहरु कोही चुरोट तानिरहेका हुन्छन् र कोही बिहानै जाडोमा पनि पु्रmटी खाइरहेका हुन्छन् । उनीहरुले सधैं बाटोमा म आएको देख्नासाथ मेरो बाटो छेक्छन् र ओहो ! यो फुच्ची त क्या च्वाँक छे भनेर नानाथरी भन्छन् । उनीहरुका राता आँखा देखेर मलाई एकदमै डर लाग्छ । म उनीहरुलाई केही नभनी हतार–हतार डरले काम्दै दौड्दै विद्यालयतिर कुलेलम ठोक्ने गर्छु ।
यसो गर्दा सधैं म विद्यालय पुग्दा असिनपसिन हुने गर्छु । मेरो मुटु धेरै बेरसम्म चाँडो–चाँडो ढुकढुक गर्छ । बल्लतल्ल साथीहरुसँग रमाउँदारमाउँदै म यो कुरा बिर्सिने कोसिस गर्छु । विद्यालय छुट्टी भएर दिउँसो फर्कंदा पनि मलाई त्यही टेन्सन हुन्छ । चार पाँच दिन भइसक्यो । होइन, मैले के गर्ने होला अब ? मेरो त टाउको दुख्न थालिसक्यो । मैले यो कुरा मेरो बुवालाई कसरी भन्ने हो ? ममी त मलाई छोडेर म पाँच वर्षकी हुँदा नै यो संसारबाट बिदा भइसक्नुभयो । बुवा सधैं काममा व्यस्त हुनुहुन्छ । मेरो घरमा सब थोक छन् । टीभी, मोबाइल, ल्यापटप, एमपीथ्री, गेम, फिलिम अनि के–के के–के सबथोक छन् । मलाई खाना बनाएर दिने बूढी धाईआमा पनि छिन् । उनले मेरो कुरा बुझ्छिन्जस्तो मलाई लाग्दैन । खै किन हो मेरो मन अहिले झन् छटपटाएको छ । एक मनले त बाबालाई भनेर होस्टलमै बसूँ कि जस्तो पनि लाग्छ । फेरि बाबा घरमा एक्लै पर्नुहुन्छ । यो कुरा पनि बाबालाई भन्ने आँट गर्न म सक्दिनँ ।
आज पनि सधैंजस्तै अलि हडबडाउँदै अलि डराउँदै त्यहीं बाटो भएर विद्यालयतर्फ जाँदै थिएँ । आज अरु दिनको भन्दा अझ बढी सात जना केटाहरु गितार झ्याङ्झ्याङ् पारेर बेसुरमा गाइरहेका थिए । म अलि हतारमा फटाफट त्यो बाटो पार गर्न खोज्दै थिएँ । अचानक हिजो अस्तिदेखि दुःख दिने झ्याप्ले केटाले मेरो हात च्याप्प समात्यो । मैले उसको हात झट्कार्दै फुत्काएर कराउँदै, होइन सधैं यहाँ यस्तो किन हुन्छ ? को हो तपाईं ? मेरो हात किन समात्नुभएको भनेर कराएँ ।
सधैं चुप लाग्ने म आज बोलेको देखेर उनीहरु सबैले मुखामुख गर्दै अचम्म मानेर मलाई क्वारक्वारती हेर्न थाले । त्यसपछि अन्त कतै नहेरी खै छोड्नुस् मेरो बाटो भनेर फटाफट म विद्यालयतिर दौडिएँ । विद्यालयको गेटमा पुगेपछि बल्ल मैले लामो सास फेरें । मेरो जीउ थर्र काम्यो । आँखाभरि आँसु भरियो । खै किन हो किन आज मलाई बेस्सरी ग्वाँ–ग्वाँ रून मन लाग्यो । तर छेउछाउमा सबै साथीभाइ र बहिनीहरु भएकाले मैले आँसु देखाउन पनि सकिनँ । म हतार–हतार आफ्नो बेन्चमा ब्याग राखेर बाथरूमभित्र छिरें र धारो ठूलो पारेर खोलें । त्यसपछि म त्यही ग्वाँ–ग्वाँ गरी ठूलो स्वरले रोएँ । थाहा छैन म आज किन यति जोडले रोएँ । दस मिनेटसम्म रोएको रोयै गरें । बाहिर बाथरूम प्रयोग गर्न हतारिएका साथीहरुले भित्र को हो भनेर ढोका ढकढक गर्न थालेपछि बल्ल म हतार–हतार मुख धोएर बाहिर निस्किएँ । 
आज किन हो किन मलाई पढ्नै मन लागेन । कक्षामा मेरो मन एकोहोरिएको थियो । दिउँसो घर कसरी जाने भन्ने चिन्ताले मलाई सताएको थियो । ठीक त्यति बेला मिसले ल आशा भन त फेवाताल कहाँ पर्छ भनेर सोध्दा त म झसङ्ग भएँ । झन् उत्तर दिन नसकेर मिसले ‘स्टुपिड गर्ल’ भन्नु भएपछि त झन् म अकस्मात् नै रून थालेछु । त्यसपछि बल्ल मिसले रूँदारूँदा सुन्निएका मेरा आँखा देख्नुभएछ । अनि उहाँले मलाई आफूसँगै शिक्षककोठामा लगेर सबै कुरा सोध्नुभयो  । मिसको मायालु सोधाइ मलाई मेरी आमाले सोधेजस्तै लाग्यो । मैले सबै कुरा उहाँलाई भनें । त्यसपछि मिसले यो सबै कुरा हेड सरलाई भन्नुभयो । अनि हेड सर, मिस र मसँगै नजिकैको प्रहरी चौकीमा गयौं । प्रहरी निरीक्षक दाइलाई मैले आँट गरेर सबै कुरा भनें ।
यसरी आज एक बजे नै ती सबै फटाहाहरुलाई समातेर थुनेको खबर सुनाउँदै मिसले मलाई खाजा खुवाउनुभयो । मेरो ओठभरि हाँसो भरियो । मैले कक्षामा कराउँदै भनें— आहा, आज घर रमाएर जान पाइने भयो । सबै साथीहरुले अचम्म मानेर मलाई हेरिरहेका थिए । तर मेरो मन भने खुसीले नाचिरहेको थियो

Opinion: 
Language: