डा. ऋषिराम शर्मासँग केटाकेटी अनलाइनको ३ प्रश्न

dr. rishiram sharma-2075

डा. ऋषिराम शर्मा वि.सं. २०१७ जेष्ठमा मुसिकोट न.पा. ५ आपचौर, गुल्मी, प्रदेश नं. ५ मा जन्मनुभएको हो । पिता पं. दुर्गादत्त अर्याल र माता टोपला अर्यालका सुपुत्र शर्माले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस ताहाचलमा नेपाली विषय पढाउनु हुन्छ । उहाँले लेखन तथा सम्पादन गर्नुभएका कृतिहरु आधुनिक नेपाली निबन्धमाला, माध्यमिक नेपाली निबन्धमाला, वर्णहरूको कथा र व्यथा (बालकथा), रतन्धो फुर्के   (२०६५, बालकथा), किताबको कुराकानी (२०६५, बालकथा), सुगाको जन्मदिन (२०६२, बालकथा), नेपाली रस परिचय (२०७०), नेपाली अलङ्कार विमर्श (२०७०), नेपाली वक्रोक्ति परिचय (२०७१),
गणितमानका दस छोरीहरू (२०७२, बालकथा), भैरव अर्यालका निवन्धमा वर्णवक्रता (२०७३), कमिलाको सहर भ्रमण (२०७४, बालकथा), बालसाहित्य समालोचना (२०७५) र पूर्वीय साहित्यशास्त्रीय प्रायोगिक नेपाली समालोचना (२०७३) आदि हुन् ।
      रुकुम, डोल्पा, हुम्ला र काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरुमा लामो समय अध्यापन अनुभव बटुल्नुभएका शर्मा बालसाहित्य लेखन र समालोचनाका क्षेत्रमा क्रियाशील सर्जक हुनुहुन्छ । नेपाली बालसाहित्यका क्षेत्रमा गम्भीर समालोचना नभइरहेको वर्तमान अवस्थामा यस क्षेत्रमा काम गर्ने उत्साहका साथ अग्रसर हुनुभएका विद्घान् सहप्राध्यापक डा. ऋषिराम शर्मासँग केटाकेटी अनलाइनको ३ प्रश्न’ स्तम्भका लागि सम्पादक कार्तिकेयले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 


१.    तपाईको भर्खरै प्रकाशित कृति ‘बालसाहित्य समालोचना’ बारे केही कुरा भनिदिनुस् न ।

–    यो ‘बालसाहित्य समालोचना’ बालसाहित्य, बालवाङ्मय र बालअधिकारका क्षेत्रमा समर्पित केही पाका पुराना र केही नयाँ अनुहार मिलाई दशजना बालसाहित्य स्रष्टाका कृतिहरूको अध्ययन गरी तयार पारिएको प्रयोगिक समालोचना हो । वास्तवमा यो एक परियोजना कार्य जस्तै हो । मैले यसबारे पुस्तकको भूमिकामा उल्लेख गरेको छु । यो समालोचना हेर्दा बालसाहित्यका केही अरू मूर्धन्य स्रष्टा छुट्नु तर कृतिको नाम ‘बालसाहित्य समालोचना’ रहनुले शीर्षकको व्यापकता अनुरूप विषयको सङ्कुचन भएको हो कि भन्ने भान पर्न सक्छ, तर परियोजना कार्यमा जुन–जुन विषय र व्यक्तिलाई समेट्ने भनिएको हुन्छ ती व्यक्तिमात्र समेटिने हुँदा यस्तो भएको हो । यति हुँदाहुँदै पनि बालबालिकालाई भनेर लेखिएका कृतिहरूको प्रायोगिक समालोचना नै नभएको अवस्थामा यसले अवश्य पनि बालसाहित्यलाई समालोचनाको मार्गतर्पm समेत लैजाने प्रस्थानविन्दुको काम गर्ने छ भन्ने मलाई लाग्दछ ।
    यो ‘बालसाहित्य समालोचना’ बालसाहित्य स्रष्टाले आफ्ना कृतिमा प्रयोग गरेका विषयवस्तु, प्रवृत्ति, कथ्य, सिकाइ, सीप, मान्यता, दृष्टिकोण आदिका केन्द्रीयतालाई आधार बनाइ गरिएको समालोचना हो । यसमा बालबालिकाका लागि मनोरञ्जन, सूचना, समानुभूति, अधिकारप्रतिको सचेतता, श्रमप्रतिको श्रद्धा र सम्मान, लोकतान्त्रिक संस्कृति, अन्धविश्वास र कुरीतिप्रतिको विरोध, प्रेम (देश, पशुपंक्षी, प्रकृति, चराचुरुङ्गी, खोलानाला, पर्यावरण) जस्ता विविध विषयहरू बालसाहित्यकारले आफ्ना कृतिमा जे–जसरी प्रस्तुत गरेका छन् तिनको विश्लेषण गरिएको छ । साथै बालसाहित्यकारले बालसाहित्यबारे व्यक्त गरेका कथनका केन्द्रीयताका मान्यता निरूपण गर्दै स्रष्टाका बालसाहित्यगत मान्यता र उनीहरूका बालसाहित्यमा पाइने प्रवृत्तिको विश्लेषण गरिएको छ, यसका लागि स्रष्टाका कृतिमा केन्द्रित भई त्यहाँबाट साक्ष्यहरू प्रस्तुत गर्दै बालकृतिको वस्तुपरक प्रायोगिक समालोचना गरिएको छ र स्रष्टाका साहित्यिक कृतिका शक्ति र सीमाको समेत चर्चा गरिएको छ । नेपालीमा बालसाहित्य लेखनका तुलनाका समालोचना त्यति भएको पाइँदैन, यसले अवश्य पनि त्यसतर्पmको गोरेटो देखाउने मेरो विश्वास छ ।


२.    नेपाली बालसाहित्यमा प्राज्ञिक समालोचना गर्ने परिपाटी विकास हुन सकेको छैन । यो पद्धतिको विकास गर्न तपाईका भावी योजनाहरू के छन् ?

–    नेपाली बालसाहित्यमा प्राज्ञिक समालोचना गर्ने परिपाटी त्यति सारो देखिन्न । वयस्क र प्रौढ समालोचनाका तत्वलाई आधार बनाई यदाकदा समालोचना भएको पाइन्छ तर बालसाहित्यको समालोचनाको बेग्लै मापदण्ड बनाउनु जरुरी देखिन्छ । मैले बालसाहित्य समालोचना गर्ने सैद्धान्तिक आधार तथा विश्लेषण गर्ने ढाँचाका पद्धति निर्माण गर्ने कार्य हुनु जरुरी देखेको छु र अब म त्यसतर्पm प्रवृत्त हुने सोचमा छु ।


३.    कुशल समालोचनाको परिपाटीले पनि नेपाली बालसाहित्यको स्तर उकास्न मद्घत गर्न सक्छ भन्ने कुरामा तपाईको के विचार रहेको छ । कसरी काम गर्न सकियो भने यो सम्भव होला ?

–    बालसाहित्यको स्तर उकास्न कुशल समालोचना भन्दा पनि बालसाहित्य लेखकका लागि कुशल प्रशिक्षण र कृति प्रकाशन पूर्व कुशल सम्पादनको आवश्यकता हुन्छ भन्ने मेरो धारणा छ । अहिले बालबालिकाका लागि लेख्नेहरूको बाढी नै आएको छ । राम्रा सामग्रीहरू पनि मनग्य छन् तर तिनले बजारीकरण र उपभोक्तावादको सकस खेप्नु परेको देखिन्छ । बालबालिकाका लागि ठीक लाग्छ होला भनेर अनुमानका भरमा लेखिएको र बालबालिकामा लेखकले आफ्ना विचार र नीति लाद्ने गरी लेखिएका बालसाहित्यको लेखन प्रचुर छ । वास्तवमा बालबालिकाका लागि साहित्य लेखनका यी तीन गुण आवश्यक हुन्छन् : (१) बालसाहित्य लेखकमा आफ्नो बालककालका स्मृति ताजा हुनुपर्छ । (२) बालबालिकाको सामान्य जीवनलाई नै कल्पनाको विषय बनाउनु पर्छ । (३) वर्तमान पिढीका बालकका सोच, चिन्तन र कल्पनालाई च्याप्प समात्न सक्नुपर्छ ।
    खलील जिव्रानले भनेका यी कुरा बालसाहित्य लेखकका लागि निकै स्मरण योग्य छन् : (क) बालबालिकालाई प्यार देऊ विचार नदेऊ, किनकि तिनीहरूको आफ्नै विचार हुन्छ । (ख) बच्चालाई शारीरिक सुरक्षाका लागि घरभित्र राख तर उनको उन्मुक्त आत्मालाई कैदी नबनाऊ, किनकि उनीहरूको आत्मा भोलिको प्रासाद (महल) मा निवास गर्दछ जहाँ तिमी सपनामा पनि पुग्न सक्दैनौ । (ग) आफू बालबालिका जस्तो बन्ने प्रयत्न गर, तर बालिबालिकालाई आफूजस्तो बनाउने प्रयत्न नगर ।
    बालसाहित्यका नाममा बालबालिकामा आफ्ना विचार थोपर्ने, बालबालिकाका स्वतन्त्र, स्वच्छन्द र उन्मुक्त विचार तथा भावहरूलाई कुण्ठित बनाउने र बालबालिकालाई बालबालिका जस्तै हुन नदिने र आफूजस्तै बनाउने प्रवृत्तिको साहित्य रचना बालबालिकाका लागि पठन अभिरुचिका दृष्टिले त्यति पथ्य हुँदैन । तसर्थ कुशल समालोचकले यसबारे केही सुझाव दिन सक्छन् । बालसाहित्यको लेखन, सम्पादन, समालोचना, अध्ययन र अनुसन्धानका लागि विभिन्न परियोजनाहरू संचालन गरी बालसाहित्यको स्तर उकास्न सहयोग पुग्न सक्ने कुरामा म विश्वस्त छु ।

Opinion: 
Language: