नानी बाबु Children's Poem by क्षेत्रप्रताप अधिकारी

chetra-pratap-adhikari-ketaketionline-2018

घामजस्ता बाबुहरू

जूनजस्ता नानी

अँधेरीमा बत्ती बन

पँधेरीमा पानी ।


आज राम्रो पढ बाबा

भोलि राम्रो हुन्छ

तिमी राम्रो भयौ भने

देशै राम्रो हुन्छ ।


नेपाल अझै ठूलो हुन्छ

तिमी बढेपछि

हिमाल अझै अग्लो हुन्छ

तिमी चढेपछि ।


स्वर्गभन्दा ठूलो हुन्छ

आफ्नो मातृभूमि

बुझिराख सम्झिराख

आजैदेखि तिमी ।


बुद्धजस्तै शुद्ध तिमी

युद्ध नगर्नू है !

तर देशको रक्षा गर्न

पछि नपर्नू है !

यो बालकविता बुकआर्ट नेपालबाट प्रकाशित कार्तिकेय सम्पादित 'नानी बाबु र अरु कविताहरु' कृृतिबाट साभार गरिएको हो । यस कृतिमा सोनाम तामाङको उत्कृष्ट चित्राङ्कन रहेको छ ।

Literature: 
Language: