नेपाली र भारतीय बालसाहित्य प्रतिष्ठानका अध्यक्षबिच भेटघाट

nilima-sinha-with-kartikeya-hotel-radisson-2018-dec-01

नेपालको बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन) का अध्यक्ष कार्तिकेय र भारतको एसोसियसन अफ राइटर्स एण्ड इलुस्टेटर्स फर चिल्ड्रेन, नयाँ दिल्ली, भारत (इण्डियन सेक्सन अफ आइबीबीवाई) का अध्यक्ष श्रीमती निलिमा सिन्हाबिच सौहार्द भेटघाट भएको छ । यी दुवै बालबालिकाका लागि स्तरीय पठन सामग्री उत्पादन र पठन संस्कृतिको विकासका लागि सक्रिय गैरसरकारी सामाजिक संस्थाबिच आगामी दिनमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटका अवसरमा सीएलएफएनका अध्यक्ष कार्तिकेयले सीएलएफएनबाट प्रकाशित ६ थरी ब्रेल बालपुस्तकहरु र अंग्रेजी भाषामा प्रकाशित बालकथा संग्रहहरु र रंगीन बालचित्रकथाकृतिहरु एडब्लुआइसीलाई उपहार प्रदान गर्नुभएको थियो ।
उक्त भेटघाटका अवसरमा वरिष्ठ बालसाहित्य लेखिका निलिमा सिन्हाले आफ्नो बालसाहित्य लेखन यात्राको बारेमा बताउनु भएको थियो । उक्त छलफलको केही अंश समेटिएको भिडियो केटाकेटी अनलाइनको फेसबुक र ट्विटर पेजमा पनि हेर्न सकिने छ । उक्त भिडियो कुराकानीमा आदरणीय लेखिका सिन्हाले आफूले बालसाहित्य लेखनको शुरुवात विश्वप्रसिद्व लेखिका एनिड ब्लाइटनबाट प्रभावित भएर गरेको कुरा बताउनु भएको थियो । लेखनमा उत्साह बढ्दै गएपछि स्थानीय पात्र र परिवेशमा किशोरका लागि उत्साहप्रद साहसी र तिलस्मी कथाहरु लेखनमा रुचि बढ्दै गएको कुरा पनि उहाँले बताउनु भएको थियो । साथै, उहाँले आफ्नो लेखन व्यक्तित्वको विकासका लागि नेसनल बुक ट्रस्ट अफ इण्डियाको पुरस्कारले पनि हौसला प्रदान गरेको बताउनु भयो ।
भेटघाटका अवसरमा नेपाल र भारतका बालचित्रपुस्तक तथा ती पुस्तकमा रहेका चित्रहरुको प्रदर्शनी नेपालको काठमाडौँमा तथा भारतको नयाँ दिल्लीमा गर्ने सम्बन्धमा ग्रहकार्य सुरु गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । साथै, बालसाहित्य लेखक र चित्रकारको क्षमता अभिवृद्विका लागि दुवै संस्था मिलेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि गम्भिर छलफल भएको छ ।
उक्त छलफलपछि एडब्लुआइसीले तयार गरेका स्तरीय बालपुस्तकहरुको नेपाली संस्करण प्रकाशनका लागि सीएलएफएनसँग सहकार्य गरिने र एडब्लुआइसीमा आबद्व लेखक तथा चित्रकारहरुको पुरस्कृत र प्रसंशीत बाल तथा किशोर साहित्य पुस्तकहरुको नेपाली संस्करण प्रकाशनका लागि दुवै संस्थाले मिलेर काम गर्न सकिने सहमति भएको थियो ।
वरिष्ठ भारतीय लेखिका निलिमा सिन्हा लिखित बालपुस्तकको नेपाली भाषा संस्करण र ब्रेली बुक प्रकाशन गरिने कुरा पनि नेपाली बालसाहित्य प्रतिष्ठानले जनाएको छ ।
साथै उक्त अवसरमा नेपाली लेखकका स्तरीय बालरचना भारतमा प्रकाशन गर्न पनि सहकार्य गरिने बारे छलफल भएको थियो ।

Segment: 
Language: