महिमा बालउपन्यासको पाण्डुलिपिमाथि छलफल कार्यक्रम सम्पन्न

author-sushila-deoja-march-11-2019

काठमाडौँ, फागुन २७/विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत् वरिष्ठ लेखक श्री सुशीला देउजा लिखित बालउपन्यास ‘महिमा’ को पाण्डुलिपिमाथि छलफल कार्यक्रम सम्पन्न भयो । विद्या संस्कार स्कुल, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा १० जना बालबालिकाहरुले उक्त कृतिमाथि लिखित समीक्षा प्रस्तुत गर्नु भएको थियो ।  समीक्षकहरुमा कक्षा ७ बाट रेसिका अधिकारी, श्रीशैल बराल, निशान्त चौधरी, प्रसिद्वि पौडेल र स्वस्तिका कार्की तथा कक्षा ६ बाट साध्बी महत, प्रसुना पोखरेल, युनिसा यादव, उत्कृष्टा उप्रेती, सुनबी पोखरेल र सिल्भिया श्रेष्ठ रहनु भएको थियो ।
प्रज्ञा फाउन्डेसनका अध्यक्ष एसएलसी बोर्ड टपर आनन्द आदित्यको सभापतित्व र महिमा कृतिका लेखक सुशीला देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय, उक्त स्कुलका निर्देशक समितिका सदस्य प्रविन अधिकारी, कोअर्डिनेटर प्रद्युम्न पौडेल, नेपाली विभाग प्रमुख भवानी खड्का र शिक्षिकाद्वय गोमा अधिकारी र तारा भट्टराईले उक्त कृतिमाथि आआफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा समीक्षा प्रस्तुत गर्ने विद्यार्थीमध्येबाट कक्षा ७ की विद्यार्थी रेसिका अधिकारीले पनि उत्कृष्ट समीक्षकका रुपमा मञ्चमा आसन ग्रहण गर्नु भएको थियो । उहाँले उक्त कृतिमाथि उत्कृष्ट समीक्षा प्रस्तुत गर्दै उक्त कृति लेखनमा वरिष्ठ बालसाहित्य लेखक सुशीला देउजाले उपन्यासमा स्वाभिक घटनाक्रमबाट बालबालिकामा कौतूहलता जगाउन सक्नुभएकोले यो उपन्यास पढ्दा मजा लागेको बताउनु भयो । कृति पढ्दै जाँदा महिमाले बुबाले भेट्छे कि भेट्दिन ? भन्ने प्रश्नले अन्त्यसम्म पढ्न मन लाग्ने रहेको छ । यो कुरा मलाई रमाइलो लाग्यो ।
त्यस्तै अर्का कक्षा ६ का समीक्षक युनिसा यादवले कथाको सुरुवात नै महिमाले चिच्याएर हुने भएकाले आम्मै के भयो ? महिमा किन चिच्याई ? भन्ने प्रश्न दिमाखमा आइहाल्ने रहेछ भन्नुभयो ।
यसरी कार्यक्रममा सहभागी सबै समीक्षक बालबालिाहरुले लिखित समीक्षा प्रस्तुत गर्नेक्रममा महिमा उपन्यासमा कथा बग्दै जाँदा कथा उत्कर्षमा पुगेपछि आफूहरु भावुक बनेको र आँखाबाट आँसु खस्न लागेको स्मरण सुनाउनु भएको थियो । साथै कथावस्तु अगाडि बढ्दै जाँदा प्रयोग भएका अंग्रेजी शब्दहरु आफूहरुलाई टची लागेको उहाँहरुको धारणा थियो । कतिपय ठाउँमा महिमाले बोलेका संवादहरु पनि मार्मिक रहेका छन् ।
उक्त अवसरमा बोल्दै प्रज्ञा फाउन्डेसनका अध्यक्ष एसएलसी बोर्ड टपर आनन्द आदित्यले यस्ता कार्यक्रमहरु हरेक विद्यालयमा धेरैभन्दा धेरै हुनुपर्ने र यसले नेपाली भाषाको विकासका लागि बालबालिकालाई एकदमै धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले बालबालिकाले विश्वभरि छरिएर रहेका सफलताका कथाहरु बढीभन्दा बढी पढेर त्यसबाट हौसला लिन सक्नेछन् भन्नुभयो । महिमा पनि एउटी बालिकाको सफलताको कथा रहेछ, यो पनि बालबालिकाका लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु ।
समारोहमा बोल्दै बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले बालबालिका माझमा नै आएर जुन उमेरका बालबालिकाका लागि कृति तयार गरिएको हो, त्यही उमेर समूहका बालबालिका माझमा छलफल गर्नु अत्यन्त उपयोगी हुने रहेछ भन्ने धारणा व्यक्त गर्नुभयो । साथै कार्तिकेयले बालबालिकाहरु असल न्यायधिश हुनुहुन्छ । उहाँहरुले आज प्रस्तुत गर्नु भएको समीक्षाबाट आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको र ती कुरा अब आफ्नो लेखनमा पनि लागू गर्ने धारणा व्यक्त गर्नुभयो ।
आफ्नो धन्यवाद मन्तव्यका क्रममा नेपाली विभाग प्रमुख भवानी खड्काले बालकृति प्रकाशन हुनुअगाडि यसरी छलफल गर्ने कार्य अझ बढी हुनुपर्ने विचार व्यक्त गर्दै महिमा उपन्यास आफूलाई पनि अत्यन्त मन परेको कुरा बताउनु भयो ।
बालसाहित्य छलफल समूह, बालसाहित्य प्रतिष्ठान नेपाल र विद्या संस्कार स्कुलको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा स्कुलका तर्फबाट लेखकद्वय सुशीला देउजा र कार्तिकेयलाई सरस्वतीको मूर्ति उपहार प्रदान गरी खादा ओढाएर सम्मान गरिएको थियो । साथै उक्त अवसरमा सुशीला देउजा लिखित एउटै कृतिमा चार भाषा समावेश गरिएको दुर्गा देवी बालसाहित्य पुरस्कार २०७४ बाट पुरस्कृत कृति 'बाघ र बाबा' र डायरी तथा कलम पनि समीक्षक बालप्रतिभाहरुलाई उपहार प्रदान गरिएको थियो ।
कार्यक्रमसम्न्धी थप तस्बिरहरु हाम्रो फेसबुक पेजमा हेर्नुहोला । Children's Literature-Foundation Nepal

Segment: 
Language: