टिकु (बालकथा) रश्मी खागी TIKU Children's Story by Rasmi Khagi

tiku-story-by-rasmi-khagi

जिउभरि टिकटिके बुट्टा भएको एउटा छाउरो थियो उसलाई आमाले माया गरेर टिकु भनेर बोलाउनु हुन्थ्यो टिकु चुप लागेर बस्न सक्दैनथ्यो

एकदिन टिकुकी आमा घरमा हुनुहुन्थेन टिकु एक्लै थियो उसले एउटा बिरालोलाई देख्यो बिरालो मस्तसँग घाममा सुतिरहेको थियो

टिकु पनि बिरालो जस्तै मस्तसँग घाममा सुत्न खोज्यो तर निदाउनै सकेन त्यसपछि उसले ढाडेलाई जिस्काउने विचार गर्यो । अनि बिरालाको जस्तै आवाज निकाल्यो, म्याउँ म्याउँ गर्यो ।

बिरालो जुरुक्क उठ्यो उसले म्याउँ  गर्दै कसले बोलाएको होला भनी यताउति हेर्यो । तर आफू छेउमा अरु कुनै बिरालो देखेन अनि फेरि सुत्यो

टिकुलाई भने बिरालोलाई झुक्याउन पाएकोमा निक्कै मज्जा लाग्यो

फेरि म्याउँ म्याउँ  गरी करायो त्यसपछि बिरालो उठेर आफ्नो साथी खोज्न थाल्यो तर टिकुबाहेक उसको नजिक त्यहाँ अरु कोही देखेन

टिकु बिरालोकै अगाडि म्याउँ म्याउँ गरी करायो बल्ल बिरालाले टिकुले आफूलाई जिस्काएको चाल पायो अनि बेस्सरी रिसायो उसले ङ्यार्र ङुर्र गर्दै टिकुलाई  खाउलाजस्तै गर्यो । टिकुले पनि उसले जस्तै ङ्यार्र ङुर्र आवाज निकाल्यो

त्यसपछि ढाडेले रिसाउँदै भन्यो, टिकु मलाई जिस्काएको मन पर्दैन भरे रुनुपर्ला जा बाहिर खेल्

टिकुले भन्यो, आऊ हामीसँगै खेलौँ

बच्चाहरुसँग खेल्दिनँ

दिक्क मान्दै ढाडे भान्सातिर खानेकुरा खोज्न गयो

त्यसपछि टिकुले आँगनको छेउमा रहेको अम्बाको बोटमा एउटा काग देख्यो उसले काँ काँ गरी करायो कागले पनि आफूलाई कसले बोलाएछ भनी काँ काँ कराउँदै यताउति गर्यो । तर घरअगाडि कुनै काग थिएन घरको छानामा पनि थिएन त्यो आवाज  कहाँबाट आयो कागले थाहा पाउन सकेन अर्को काग कहीं नदेखेपछि काग दिक्क मान्दै त्यहाँबाट उडेर गयो

कागलाई पनि झुक्याउन पाएकोमा टिकुलाई एकदमै रमाइलो लाग्यो अरुलाई पनि जिस्काउने विचार गर्दै गाउँ डुल्न गयो

केही अगाडि बाटोमा उसले गाई घाँस चरिरहेको देख्यो उसले गाईको नजिकै गएर बाँ बाँ गरी करायो

गाईले आफ्नो बाच्छाले बोलाएको होला भन्ने ठान्यो उसले पुच्छर हल्लाउँदै बाँ बाँ भनेर जवाफ दियो तर त्यहाँ कुनै बाच्छा थिएन गाई घाँस चर्न छोडेर बाच्छा भएको ठाउँमा गयो बाच्छा स्कुलको चौरमा आफ्नै सुरमा घाँस खाइरहेको थियो टिकुले फेरि बाँ बाँ करायो गाई बाच्छा दुवै छक्क परे

टिकुलाई झन् मज्जा लाग्यो अनि हा हा हा हास्दै अगाडि बढ्यो

अलिकति अगाडि एउटा खोला थियो खोलाको माथि पुल थियो टिकु पुलको बीचमा पुग्यो उसले हाँसको बथान पानीमा पौडिरहेको देख्यो

उसले हाँसलाई पनि जिस्कायो, क्याक्, क्याक क्याक, क्याक पौडिरहेका हाँसहरु फरक्क फर्केर पुलमा को रै भनेर हेर्न थाले तर त्यहाँ कुनै हाँस थिएन टिकु मात्र थियो हाँसहरु पनि जिल्ल परे

खोला पारी जंगल थियो टिकु यसभन्दा अघि कहिल्यै पनि जंगल गएको थिएन जंगलभित्र गयो त्यहाँ उसले ठुलो आवाजमा हात्ती कराएको सुन्यो उसले पनि हात्तीले जस्तै गर्जन खोज्यो तर उसको आवाज हात्तीले सुनेन

जंगलमा उसले स्याल कराएको सुन्यो पनि स्यालले जस्तै हुइयाँ, हुइयाँ गर्दै कराउन थाल्यो

 लौ फसाद स्यालहरु नजिकै रहेछन् तिनीहरुले टिकु कराएको सुने तिनीहरुले आफ्नो ठाउँमा को नयाँ स्याल पसेछ लखेट्नु पर्यो भनी सल्लाह गरे एउटा, दुईटा, तीनवटा गर्दै धेरै धेरैवटा स्यालहरु टिकु नजिक पुगे आफ्नो जस्तै आवाज निकालेर कराउने कुकुरलाई देखेर स्यालहरु फेरि हुइयाँ हुइयाँ गर्दै कराए एउटा स्याल टिकुको ठिक अगाडि आइपुग्यो स्यालको नाइके थियो उसले टिकुलाई रिसाउँदै भन्यो, तँ नै होइनस् हाम्रो आवाज निकालेर हामीलाई जिस्काउने, लौ अब हाम्रो पेटभित्र पुगेर कराउलास्

स्यालको कुरा सुनेर टिकु डरले थुरथुर भयो आत्तियो त्यहाँबाट सुइँकुच्चा ठोक्यो स्यालहरुले पनि उसलाई लखेटे टिकु भएभरको तागतले भाग्यो पछाडि नहेरिकन रुँदै कराउँदै कुद्यो खोलानेर पुगेर आमा, बाबा, काका भन्दै जोड जोडले भुक्न थाल्यो गाउँका अरु कुकुरहरु उसको आवाज सुनेर हतारहतार आए कुकुरहरुको समूह देखेर स्यालहरु डराए अनि उनीहरु जंगलतिरै फर्के

टिकु अहिले सम्म नि डरले थुरथुर कामिरहेको थियो उसलाई आमाले माया गर्नुभयो अनि बल्ल रमाउँदै आमाको दूध खान थाल्यो

Literature: 
Language: