ऐंसेलु टिप्न जाँदा Children's Story by Rasmi Khagi

story-of-bear

एकदिन सानी निलु आमासँग ऐंसेलु टिप्न ऐंसेलुखर्क गइन् ।
सानी निलुले सानो टिनको बाल्टी समातेकी थिइन् अनि आमाले चाहिँ ठूलो टिनको बाल्टी समातेकी थिइन् । “हामी ऐंसेलु लगेर मीठो अचार बनाउने अनि वर्खामा खान पाइन्छ । आ..हा...” जिब्रो पड्काउँदै आमाले भनिन् । सानी निलुले पनि जिब्रो पड्काइन् । उसको आवाज भने सानो आयो ।

आमाले भनिन्, “ऐंसेलुको झाङमा काँडा हुन्छ होस गर है ।”

सानी निलुले तीनवटा ऐंसेलु टिपिन् र आफ्नो सानो बाल्टीमा खसालिन्.... खुप्लिङ, खुप्ल्याङ, खुप्लुङ !

उनले अरु तीनटा ऐंसेलु टिपिन् अनि खाइन् । त्यसपछि उनले अरु ऐंसेलु टिपिन् र एउटा मात्रै बाल्टीमा खसालिन् — खुप्लुङ ! बाँकी चाहिँ आफैले खाइन् । अनि उनले बाल्टीमा भएको चारैवटा ऐंसेलु खाइन् !

उनकी आमा झाडीबाट ऐंसेलु टिप्दै बाल्टीमा राख्दै विस्तारै अघि अघि जाँदै थिइन् । सानी निलु देखे जति सबै ऐंसेलु टिप्दै खाँदै गर्दा निकै पछि परिन् ।

सानी निलु दौडेर आमाकहाँ पुगिन् । अनि एउटा ऐंसेलु आमाको बाल्टीमा खसालिन् । खुप्लिङ आवाज नै आएन किनभने बाल्टीको पिँध ऐंसेलुले भरिसकेको थियो । उनले एक मुठी ऐंसेलु टिपिन् अनि आमाको बाल्टीमा खसालिन् । तैपनि खुप्लिङ आवाज नै आएन ।
आमाले टिप्न छोडेर भन्नुभयो, “हेर निलु, तिमी उतातिर गएर आफ्नो बाल्टीमा भर । आमालाई काम गर्न देऊ हस् ?”

उनकी आमा फेरि टिप्नतिर लागिन् । तर सानी निलुलाई भने उभिँदा हिँड्दा थकाइ लागिसकेको थियो । उनी ऐंसेलुको एउटा ठूलो झाङनेर बसिन् र बसी बसी ऐंसेलु टिप्दै खान थालिन् ।

ऐंसेलुखर्कको अर्कोतिर पहाडमा सानो भालु आफ्नी आमासँग ऐंसेलु खान आयो । आमाले भनिन्, “सानु, टन्न ऐंसेलु खाएर मोटो घाटो हुनुपर्छ । बर्खामा आनन्दले घरमै बस्नुपर्छ ।”

सानो भालु ऐंसेलु खाँदै हिँडिरहेकी आफ्नी आमाको पछि पछि लाग्यो । ऊ पनि ऐंसेलु खान घरिघरि रोकिँदै जाँदै गरिरहेको थियो । यस्तैमा आमा निकै टाढा पुगिसक्नुभएछ । सानो भालु खुरुरु दौडँदै आमाकहाँ गयो ।

हिँड्दा दौडँदा थाकेर सानो भालुले एउटा बोटको हाँगा तलसम्म तान्यो । भुईंमा थचक्क बसेर उसले ऐंसेलु टिप्दै खान थाल्यो ।

ऐंसेलुखर्कको अर्कोपट्टि सानी निलु आफू बसेको ठाउँबाट भ्याउन्जेलका ऐंसेलु टिपेर खाइन् । अनि ऊ आमा खोज्न थालिन् ।


उनले एउटा ठूलो ढुंगानेरबाट आएको आवाज सुनिन् । उनले सोचिन्, “मेरी आमा हिँडिरहेकी जस्तो छ ।”

तर होइन, त्यो त आमा काग र उसको बच्चाहरु पो रहेछन् । ऐंसेलु खाएर उनीहरु उडे, “काँ काँ काँ” गर्दै । अनि उनले झाडीतिरबाट स¥याक सुरुक गरेको आएको आवाज सुनिन् । “अँ यो चैं पक्का आमा नै होलिन्, त्यतै जानुप¥यो ।” सानी निलुले सोचिन् ।

लौ आमा होइन भालुकी आमा पो रहिछन् । उनी खोस्रिँदै ऐंसेलु खाँदै बर्खामा आनन्दले घरमै बस्ने भनेर सोचिरहेकी थिइन् । सानी निलु झाडीमा खोस्रिँदै उनको ठीक पछाडि पुगिन् ।

यतिखेरसम्म सानो भालुले बसी बसी हाँगा तानेर भ्याउन्जेलसम्म ऐंसेलु खाइसकेको थियो । अनि ऊ उठेर आमा भएठाउँमा पुग्न हतारियो । यता उता खोज्दा पनि आमा कहीं भेटिनन् । उसले एउटा रुखको तोडनेर केही आवाज सुन्यो । “आमा होलिन्”, उसले सोच्यो ।

अहँ, त्यो त काठफोर चरा रहेछ । ऊ ऐंसेलु खाएर उडिगयो । त्यसपछि सानो भालुले खस्याक खुसुक गरेको आवाज सुन्यो । “अब चैं पक्का आमा होलिन्, म त्यतातिर जान्छु”, उसले सोच्यो ।

तर त्यहाँ त सानी निलुकी आमा पो थिइन् ! उनी हिँडिरहेकी थिइन्, ऐंसेलु टिपिरहेकी थिइन् अनि बर्खामा खानलाई अचार बनाउने भनेर सोचिरहेकी थिइन् । सानो भालु दौडँदै उनको पछाडि पुग्यो ।
सानो भालु र सानी निलुकी आमा र सानी निलु र सानो भालुको आमा सबै ऐंसेलुखर्कको डाँडामा ऐंसेलुका झाङमाझ एक–आपसमा मिसिन पुगे ।
सानो भालुकी आमाले सानी निलु झाङनेर हिँडिरहेको सुनिन् र सानो भालु होला भन्ठानिन् । उनले भनिन् – “सानु, (ग्रमग्रम चपाउँदै) पेटमा अटाउन सकेजति खाऊ (घुटुक्क निल्दै) ।” सानी निलुले केही पनि भनिनन् । उनले तीनटा ऐंसेलु टिपिन् र बाल्टीमा खसालिन्, खुप्लिङ, खुप्ल्याङ, खुप्लुङ !
सानो भालुकी आमाले केको खुप्लुङ आवाज आयो भन्ने हेर्न फरक्क पछाडि फर्किन् । “ख्वाक्क”, मुखभरिको ऐंसेलु खसाल्दै उनले जोडले खोकिन् । यो त मेरो बच्चा होइन ! खै त सानो भालु ? सानी निलुलाई नियालेर हेरेपछि उनी पछाडि सरिन् । त्यसपछि फरक्क फर्केर छिटो छिटो हिँड्दै सानो भालु खोज्न लागिन् ।
सानी निलुकी आमाले आफ्नो पछाडि सानो भालु हिँडिरहेको सुनेर सानी निलु होला भन्ठानिन् । उनी ऐंसेलु टिप्नमा र अचार बनाउने सोच्नमै ठिक्क थिइन् ।

सानो भालु विस्तारै बस्यो र हातले उनको बाल्टी समाएर त्यसमा चिहायो । आम्मै ! कति धेरै ऐंसेलु ! हुन त उसले अलिकति चाख्न मात्रै खोजेको थियो, तर ऐंसेलुहरु सँगसँगै टाँस्सिएको हुँदा उसको मुठीको ऐंसेलु मुखभरि नै भयो । “हेर निलु”, आमाले पछाडि नफर्किकनै भनिन्, “तिमी आफ्नै ऐंसेलु टिप्न जाऊ । अचार बनाउन आमालाई यो सबै चाहिन्छ के ।” सानो भालुले अर्को एक मुुठी ऐंसेलु मुखमा हाल्यो र झन्डै बाल्टी नै घोप्ट्याएको !
सानी निलुकी आमाले फरक्क फर्केर हेरिन् । “लौ न नि । तिमी त सानी निलु होइनौ । लौ न कहाँ होलिन् मेरी बच्ची ?”
सानो भालु भने ग्रम ग्रम चपाउँदै, निल्दै आफ्नो ओंठ चाट्दै बसिरहेको थियो ।
सानी निलुकी आमा विस्तारै पछाडि हटिन् । अनि उनी पछाडि फर्केर सानी निलुलाई खोज्न छिटोछिटो पाइला चाल्न थालिन् ।
उनी त्यति टाढा पुगेकी थिइनन्, जब उनले खुप्लिङ, खुप्ल्याङ, खुप्लुङ ! आवाज सुनिन् ।
त्यो के को आवाज हो भनेर उनले थाहा पाइहालिन् ।
सानो भालुकी आमाले सानो भालुलाई धेरै बेर खोजिरहन परेन जब उनले
ऐंसेलुको झाङमाझ खुरुरु कोही दौडेको आवाज सुनिन्, कहीँ रोकिँदै, चपाउँदै निल्दै गरेको आवाज के को होला भनेर उनले तुरुन्तै थाहा पाइन् ।
सानो भालु र उनकी आमा ऐंसेलुखर्कको एकापट्टि ओरालै ओरालो घरतिर लागे । उनीहरुले पेटभरि बर्खाको लागि पनि पुग्ने गरी टन्न ऐंसेलु खाएका थिए ।
अनि सानी निलु र उनकी आमा ऐंसेलुखर्कको अर्कोपट्टि ओरालै ओरालो घरतिर लागे । उनीहरुले बर्खाको लागि अचार बनाउन भनेर दुई बाल्टी भरि भरि ऐंसेलु टिपेका थिए ।
(रोबर्ट म्याक्लोस्कीको ब्लुबेरीज फर साल (Blueberries for Sal) मा आधारित भावानुवाद : रश्मी खागी)

Literature: 
Language: