अन्तर्राष्ट्रिय बालपुस्तक दिवस

clfnnepal.blogspot.com-book-donation-2019

हामी हरेक वर्ष अप्रिल २ तारिखका दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस मनाउने गर्दछौँ । आज हामी यही दिवसका बारेमा केही जानकारी लिएर आएका छौँ ।
अन्तर्राष्ट्रिय बालपुस्तक दिवस प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन मनाउने गरिन्छ । यो दिवसलाई बालबालिकाका लागि पुस्तकको अन्तर्राष्ट्रिय बोर्ड अर्थात् आइबिबिवाई जसको स्थापना स्थापना सन् १९६७ मा भएको थियो । यस संस्थाको आयोजनामा यो दिवस मनाउने गरिन्छ । यो दिवस विश्वप्रसिद्व परीकथा लेखक हान्स क्रिश्चियन एन्डरसनको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइन्छ । यो दिवस मनाउनुको विशेष उद्देश्य भनेको संसारभर रहेका बालबालिकालाई धेरैभन्दा धेरै पुस्तक रमाइलो मानेर पढ्न प्रोत्साहन गर्नु र पुस्तकप्रति उनीहरुमा मोह जगाउनु हो । अन्तर्राष्ट्रिय बाल पुस्तक दिवसका अवसरमा लेखन प्रतियोगिताको आयोजना गर्ने, उत्कृष्ट पुस्तक र पुरस्कारको घोषणा गर्नुका साथै बाल साहित्यकारहरुलाई आमन्त्रण गरेर विभिन्न कार्यक्रमहरूको आयोजना पनि गर्ने गरिन्छ । हरेक वर्ष बालबालिकाका लागि पुस्तकको अन्तर्राष्ट्रिय बोर्ड आइबिबिवाईका फरकफरक राष्ट्रिय शाखाहरुले अन्तर्राष्ट्रिय बाल पुस्तक दिवस आइसिबिडिको आयोजना गर्ने अवसर प्राप्त गर्दछन् । कार्यक्रम आयोजकले कुनै एउटा विषयको छनौट गरी आयोजक राष्ट्रकै एक प्रमुख लेखकलाई आमन्त्रण गरेर विशेष गरी विश्वभरि रहेका बालबालिकालाई पुस्तकका विषयमा कुनै राम्रो सन्देश लेख्न लगाउछन् । यस्तै कुनै एक सुप्रसिद्ध विश्लेषक वा वर्णनकर्तालाई आकर्षक पोस्टर तयार पार्न पनि लगाइन्छ । यी विविध सामग्रीहरु फरक–फरक तरिकाबाट प्रयोग गरिन्छ । जसको एउटै मात्र उद्देश्य भनेको बालबालिकालाई पुस्तक पढ्न प्रेरित गर्नु वा प्रोत्साहन गर्नु नै हुने गर्दछ ।  अधिकांश आइबिबिवाईका शाखाहरुले आम सञ्चार वा विभिन्न विद्यालय तथा सार्वजनिक पुस्तकालयमा विभिन्न गतिविधिहरुको आयोजना गरेर अन्तर्राष्ट्रिय बाल पुस्तक दिवस र यसको महत्वलाई प्रश्रय दिइरहेका छन् । पहिलेदेखि हालसम्म अन्तर्राष्ट्रिय बालपुस्तक दिवस आइसिबिडि का सम्पूर्ण पोस्टरहरु बालबालिकाका लागि पुस्तकको अन्तर्राष्ट्रिय बोर्ड अर्थात् आइबिबिवाईको सचिवालयमा सुरक्षित राखिएको छ । आइबिबिवाई लिथुआनिया अन्तर्राष्ट्रिय बालपुस्तक दिवस २०१९ को आयोजक हो ।
नेपालमा आइबिबिवाईको प्रतिनिधि संस्था नेपाल बालसाहित्य समाज हो । यस संस्थाले यस वर्ष पनि बालपुस्तक दिवसका दिन बालसाहित्यबारे चर्चा र बालसाहित्यकारलाई सम्मानको कार्यक्रम आयोजना गरेको थियो । यस्तै बालसाहित्य प्रतिष्ठान नेपालले पनि यस वर्ष भक्तपुरको चाँगुनारायण क्षेत्रका बालबालिकाहरुलाई बालपुस्तक वितरण गरी यो दिवस मनायो । यही दिवसका अवसरमा प्रतिष्ठानले नेपाल भाषाका लोककथा नेपालीमा अनुवाद र पुनर्कथन गरी उत्कृष्ट योगदान गर्ने अग्रज लेखिका रेवती राजभण्डारीलाई चन्द्रनाथ उत्कृष्ट लोककथाकार सम्मान, २०७५ बाट पुरस्कृत गरेको छ । यो पुरस्कार उहाँले प्रतिष्ठानका अध्यक्ष कार्तिकेयलाई कथा सुनाउनु भएर तयार गरिएको नेपाल भाषाका रमाइला लोककथाहरु कृतिका लागि उहाँलाई प्रदान गरिएको हो । उक्त कृति प्रकाशनको तयारीमा रहेको प्रतिष्ठानबाट जानकारी प्राप्त भएको छ ।

Literature: 
Segment: 
Language: