आमालाई नदेख्दा Children's Poem by कविता पराजुली

kabita-parajuli-2019

स्कूलबाट घरमा आएँ
देखिन आमा
दुःख लाग्यो साह्रै मलाई
खान मन लागेन

रित्तो लाग्छ यो घर
आमा तिमी नहुँदा
हाँसी हाँसी खुवाउँथ्यौँ
हामीलाई खाना

मीठा मीठा गीत गाई
खेलिदिन्थ्यौ पनि
स्कूलको पाठ पनि
सिकाइदिन्थ्यौ तिमी

रात पर्न लाग्यो
कहाँ गयौ आमा
आई देऊ तिमी छिटो
मलाई माया गर्न ।

(प्रस्तुत कविता दृष्टिविहीन बालबालिकाहरुले गाउनुभएको छ । संगीत संयोजन दृष्टिविहीन वरिष्ठ संगीतकार रमेश सुवेदीको रहेको छ ।)

कवि परिचय
कविता पराजुली सक्रिय साहित्यकार हुनुहुन्छ ।
उहाँको ‘कविताका कविता’ कविता सङ्ग्रह, ‘निदरी’ र ‘हजुरआमा’ बालकविता सङ्ग्रह गरी तीन कृतिहरु प्रकाशित छन् । बालसाहित्यतर्फ यो उहाँको दोस्रो कृति हो ।
नेपाली साहित्यमा उहाँका निबन्ध र कथाहरु फुटकर रुपमा प्रकाशित छन् । पन्त स्मृति प्रतिष्ठानका आजीवन सदस्य कविता नारी लेखकहरुको संगठन गुञ्जन र बालसाहित्य प्रतिष्ठान नेपालमा पनि संलग्न हुनुहुन्छ ।


वरिष्ठ लेखकको विचार
साहित्य लेखनमा रमाउन पुगेकी कविता २०७४ मा नातिनीको जन्मपछि शिशुसँगको स्नेह बन्धनले उनको हृदय मातृत्व भावले छचल्कियो र उनी बालसाहित्य लेखनतिर आकर्षित भइन् । फलस्वरुप उनका दुई बालकृतिहरु निदरी र हजुरआमा सिर्जना हुन पुगे । निदरी बच्चालाई गीतको प्रभावले सुताउने गीति लयको कविता हो भने हजुर आमा अनुशासन, ज्ञान, स्नेह र देशभक्तिको भावनालाई बाल्यकालदेखि नै अङ्कुरित पार्दै लैजानको लागि लेखिएको उद्देश्यमूलक बालकविता हो ।
                                                                                                                                                              - गीता केशरी

Literature: 
Language: